बिशेष

प्रधानमन्त्रीको अमेरिका भ्रमणको टोली तयार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २९ गते २०:२८
प्रधानमन्त्रीको अमेरिका भ्रमणको टोली तयार (भिडियो रिपोर्टसहित)

२९ भदौ २०८० काठमाडौं । प्रधानमन्त्रीको विदेश भ्रमण सधैँ खर्चिलो हुने गर्दछ । भ्रमण दलको सदस्यको संख्या बढ्दा हरेक पटकको विदेश यात्रामा हुने खर्च पनि अत्यधिक हुने गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि अमेरिका जाँदै हुनुहुन्छ ।

यसअघि उहाँको भ्रमण सदस्य २४ जना थिए । तर सामाजिक सञ्जालदेखि सदनमा चर्को आलोचना भएपछि अन्ततस् प्रधानमन्त्रीको भ्रमण १२ जना सदस्यको हुनेछ । अन्य पदाधिकारी भने अमेरिकाबाटै प्रधानमन्त्रीसँग जोडिनेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार अमेरिका जानुअघि प्रतिनिधसभाको बैठकमा भ्रमणको एजेन्डा जानकारी गराउनुभयो । अमेरिका हुँदै चीन जानुको कारण खुलाउँदै गर्दा प्रधानमन्त्रीले भ्रमण दलको संख्या कम बनाएको उद्घोष गर्नुभयो ।

यसअघि प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालबाट २६ जनाको नाम तय भइसकेको थियो । नेपालबाट जाने बाहेक २० जनाभन्दा बढी अमेरिकास्थित नेपाली दूतावास र संयुक्त राष्ट्रसंघकालागि नेपाली स्थायी प्रतिनिधिको टोली सहभागी हुँदै थिए ।

विशिष्ट बाहेक पनि प्रधानमन्त्रीरमन्त्रीका पिएसओ लगायत कर्मचारी पनि अमेरिकको यात्रामा जाने तय थियो। उपादेयता कम तर खर्च भने १ करोड ८२ लाख निक्लिएपछि सामाजिक सञ्जालदेखि सांसदले असन्तुष्टि जनाए । विरोध बढ्दै गएपछि बल्ल प्रधानमन्त्रीसँग बढीमा १२ जना मात्रै जाने भएका हुन् । विरोध आउँदा कुनै प्रतिक्रिया नदिनु भएका प्रधानमन्त्रीले संख्या घटाएपछि शुक्रबार सदनमा यसबारे जानकारी गराउनुभएको थियो ।

को को जाँदैछन् अमेरिका ?
परराष्ट्रमन्त्री एनपी साउद
परराष्ट्रमन्त्रीका स्वकीय सचिव दीपकराज जैशी
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल
प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहाल
राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी
मुख्य सचिव वैकुण्ठ अर्याल
परराष्ट्र सचिव भरतराज पौड्याल
दुई जना सुरक्षाकर्मी
फोटोग्राफर प्रदीपराज वन्त
चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेल र थप एक प्रोटोकल अधिकृत

बाँकी अन्य सदस्य भने अमेरिकाबाटै जोडिनेछन् । जसमा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीलगायत सरकारी मिडिया रहनेछन् । प्रधानमन्त्री प्रचण्डको टोली अमेरिकामा ५ दिन रहनेछ । एक जना बराबर १ लाख ४८ हजार रुपैयाँ राज्यको ढुकुटीबाट खर्च हुनेछ । जसमध्ये पाँच जनाको मात्रै खर्च राष्ट्रसंघले बेहोर्नेछ ।

पाँच दिने भ्रमणमा प्रधानमन्त्रीले ९ वटा कार्यक्रममा भाग लिनुहुनेछ ।

प्रधानमन्त्रीले भाग लिने कार्यक्रम
–दिगो विकासका लक्ष्य (एसडीजी) सम्मेलन
–हाई लेभल डायलग अन फाइनान्सिङ फर डेभलपमेन्ट
–क्लाइमेट एम्बिसन समिट
–हाईलेभल मिटिङ अन पेन्डामिक प्रिभेन्सन, प्रिपेयर्डनेस एण्ड रेस्पोन्स
–प्रिपराटोरी मिनिस्टर्ल मिटिङ फर द समिट अफ द फ्यूचर
–हाईलेभल मिटिङ अल युनिभर्सल हेल्थ कभरेल
–हाईलेभल मिटिङ अल द फाइट अगेन्स ट्युभक्र्युलोसिस
–अतिकम विकसित राष्ट्रहरुको नेपालले अध्यक्षता गर्ने कार्यक्रम
–संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन

सरकारले खर्च कटौती र संख्या घटाएर भ्रमणको यात्रा तय गर्नुलाई सुखद मानिन्छ । तर यसले अन्य भ्रमणमा पनि निरन्तरता पाउँछ वा पाउँदैन त्यो भने समयले बताउला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्