चिकित्सक कुटिएको विरोधमा हेटौंडाका अस्पताल बन्द

२९ भदौ २०८० मकवानपुर । ड्यूटीमै चिकित्सक कुटिएको विरोधमा स्वास्थ्यकर्मीले आन्दोलन गरेपछि मकवानपुर हेटौंडाका निजी तथा सरकारी अस्पतालका सेवा प्रभावित भएका छन् ।
हेटौंडाका सरकारी तथा निजी अस्पताल, मेडिकल तथा क्लिनिकले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा आजदेखि ठप्प भएका हुन् । हेटौंडा उपमहानगरपालिका(१ स्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीलाई कुटपिट गर्नेलाई कारबाही माग गर्दै हेटौंडा अस्पतालका ७८ स्वास्थ्यकर्मीले राजीनामा दिएका छन् ।
उनीहरुले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर रामचन्द्र सापकोटालाई सामूहिक राजीनामा बुझाएका हुन् । चिकित्सकमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाही नगरेको, बिरामी डाक्टरहरुको उपचारमा सरकारी पक्षले कुनै जिम्मेवारी नलिएको तथा चिकित्सकविरुद्ध प्रशासन मौन बसेको उनीहरुको गुनासो छ ।
दोषीलाई कारबाहीको दायरामा नल्याएकाले आजदेखि आकस्मिकबाहेक अस्पतालका सबै सेवा बन्द गर्दै आन्दोलन थालिएको छ । डेंगु संक्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा(१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितको समूहले बुधबार अस्पतालभित्रै प्रवेश गरेर दुईजना चिकित्सकलाई कुटपिट गरेका थिए ।
कुटपिट गरेको आरोपमा प्रहरीले मृतककी श्रीमती रमा, छोरा रोहित, छोरी रमिता र भतिज अनुप प्रधानलाई पक्राउ गरिसकेको छ । नेपाल चिकित्सक संघले रोहित र अनुप प्रधानविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी दिएको छ ।
प्रतिक्रिया