बिशेष

ब्रेक शुका रुपमा ३०२ किलो सुन तस्करी भएको सीआइबीको निष्कर्ष

हिमालय टिभी
२०८० भदौ २७ गते १३:०३
ब्रेक शुका रुपमा ३०२ किलो सुन तस्करी भएको सीआइबीको निष्कर्ष

२७ भदौ २०८० काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सुन तस्करीका लागि ७ कम्पनी खडा गरेर चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

सीआईबीले आज पत्रकार सम्मेलन गरि चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष सार्वजनिक गरेको हो । अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी रहेको सीआइबीले जनाएको छ ।

६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउनुअघि पत्रकार सम्मेलन गरेको हो । सीआईबी प्रमुख किरण बज्राचार्यले ५० जनालाई प्रतिवादी बनाएको जानकारी दिनुभयो ।

साउन २ गते बरामद भएको ब्रेक सुमा ६० किलो बढी सुन भेटिएको थियो । गोदामहरुमा छापा मार्दा अरु पनि यसरी समान ल्याएको देखिएको सीआइबीले जनाएको छ । त्यसमा अनुसन्धान गरेको सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

सीआईबीले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ । तस्करले सुन तस्करीका लागि नेपाली नागरिकहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलेका थिए । त्यसमध्ये एउटा कम्पनीबाट सामान आयात भएर भन्सारबाट पास भएको थिएन । अरु कम्पनीले भने विद्युतीय उपकरणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको छ । त्यस्ता समानमा सुन ल्याएको सीआईबीको आशंका छ ।

ब्रेक शु ल्याएको रेडी ट्रेडले मात्र साउन २ मा सिनामंगलबाट बरामद भएको ६० सहित ३६२ किलोभन्दा बढी सुन ल्याएको सीआईबीको निष्कर्ष छ । अरु कम्पनीबाट ल्याइएको इलेक्ट्रिक सामानमा पनि सुन आएको देखिएको भन्दै सीआईबी प्रमुख बज्राचार्यले अहिले ब्रेक प्याडको मात्र अनुसन्धान गरिएको र अरु सुनको अनुसधान गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

तस्करीमा अन्तर्राष्ट्रिय गिरोह संलग्न भएको सीआईबीको निष्कर्ष छ । यो अन्तर्राष्ट्रिय अपराध भएको भन्दै यसमा ताइवान, हङकङ र मकाउमा बस्ने चिनियाँ नागरिक, भारत र नेपाली नागरिकको संलग्नता देखिएको सीआइबीको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्