संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगरिएको प्रधानमन्त्रीको दाबी (भिडियो रिपोर्टसहित)
२२ भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा सम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगरिएको बताउनु भएको छ ।
२० औं निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत् राखिएको बताउनु भएको हो ।
उहाँले राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरुप नै निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक अन्तरसम्बन्ध कायम गर्दै संघीयतालाई संस्थागत गर्न संघीय निजामति सेवा ऐन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामति सेवा ऐन छिटै नै संसदबाट पारित भइ कार्यान्वयनमा जाने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
यसैबीच सरकारले निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गरे पनि यसवर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भने छनोट भएनन् । निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६१ साल भदौ २२ गतेदेखि औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया