बिशेष

अभियन्ता भनिनेबाटै कांग्रेस सह-महामन्त्रीमाथि खुकुरी प्रहार, समाजमा अराजकता फैलिँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २० गते २०:४१
अभियन्ता भनिनेबाटै कांग्रेस सह-महामन्त्रीमाथि खुकुरी प्रहार, समाजमा अराजकता फैलिँदै (भिडियो रिपोर्टसहित)

२० भदौ २०८० काठमाडौं । पछिल्लो समय अभियन्ताका नाममा अराजकता देखाउनेको संख्या बढेको छ । आफूलाई सामाजिक अभियन्ता भन्ने वा कुनै राजनीतिक मुद्दा बोक्ने अनि समाज भाँड्ने काममा यस्ता व्यक्तिहरु सक्रिय हुन थालेका छन् । समाज विभाजन गर्ने र मानिसको ज्यूज्यानसमेत जोखिममा पार्ने गरी भइरहेका यस्ता गतिविधि नियन्त्रणमा राज्य चनाखो बन्नुपर्ने देखिएको छ ।

आफूलाई अभियन्ता बताउने नुवाकोटका श्याबहादुर सापकोटाले बुधबार दिन दहाडै काठमाडौंमा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरे । उनले खुकुरी प्रहार गर्नुको कारण आफूलाई अभियन्ताका रुपमा प्रचार गराउनु भएको प्रारम्भिक अनुमान छ । विगतमा अभियन्ताका नाममा अरु केही पात्रले देखाएको अराजकताबाट प्रभावित भएर उनले अर्को नयाँ श्रृंखला सुरु गरेको मात्र देखिन्छ ।

२०७७ जेठ २ गते यस्तै एउटा अराजक समूहले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गरेको थियो । घटनामा उत्तम कार्कीसहित ५ जना संलग्न थिए, ती सबै कथित अभियन्ता नै थिए ।

हाल राप्रपाका सांसद रहेका कथित अभियन्ता ज्ञानबहादुर शाहीले २०७६ को भदौमा नेपालगंजबाट काठमाडौं आउँदै गर्दा एमाले सचिव योगेश भट्टराईमाथि जहाजमै दुर्व्यवहार गरे । उनै ज्ञानबहादुरले विभिन्न ठाउँमा सञ्चारकर्मीमाथि दुर्व्यवहार गर्ने र धम्की दिने काम गरे, त्यो क्रम अहिले पनि जारी छ ।

ज्वाला संग्रौला नामकी एक महिलाले अभियन्ताकै नाममा पटकपटक विभिन्न व्यक्तिमाथि दुर्व्यवहार गर्ने र प्रहरीमाथिसमेत गम्भीर आरोप लगाउने काम गरिन्, हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा संलग्न छिन् । डिल्लीराम खनाल नामका व्यक्तिले नायिका करिष्मा मानन्धरको व्यक्तिगत जीवनमाथि लाञ्छना लगाए । उनी नेताहरुलाई गाली गर्ने र तथानाम गाली गर्ने गरेका कारण कुख्यात थिए ।

पुण्य गौतम, हेमराज थापा, शर्मिला वाइबालगायत आफूलाई अभियन्ता बताउने विभिन्न व्यक्तिहरु कहिले आफै लड्ने, कहिले सरकारी कर्मचारीमाथि दुर्व्यवहार गर्ने र कहिले सञ्चारकर्मीमाथि हातपात गर्ने कारणले चर्चामा आउने गरेका छन् । यी सबैखाले कथित अभियन्ता विदेशमा रहेका नेपालीलाई प्रभावमा पारेर पैसा उठाउने र स्वदेशमा अराजकताका व्यापार गर्ने काम गरिरहेका छन् ।

संयोगवश कोशी प्रदेशमासमेत यही तहको अराजकता फैलिइरहेको छ । त्यहाँ पहिचानका नाममा सुरु भएको आन्दोलन कुनै समय एमालेका नेता केन्द्रित आक्रमणमा केन्द्रित थियो । कोशी प्रदेशको नाम फेर्ने आन्दोलनको आवरणमा गोरु बधको पक्षधरता लिँदै एक समूहले सोमबार विज्ञप्ति जारी गरेर एमाले अध्यक्ष केपी शर्मा ओली र क्षितिज थेबेले माफी नामागेमा जे पनि हुन सक्ने धम्की दियो ।

काठमाडौंमा नेतामाथि खुकुरी प्रहार हुने र कोशी प्रदेशमा चाँहि नेतामाथि जे पनि हुन सक्ने भन्ने धम्की दिने समूह नाममा फरक भए पनि यिनको सामाजिक चेत अराजकताको शैली समान छन् । यी घटना–परिघटनाले कानूनी राज्यको खिल्ली उडाएको मात्रै छैन, समाज अशान्त हुँदै गएको र व्यक्तिको ज्यूधन जोखिममा पर्दै गएको प्रष्ट संकेत देखाएको छ ।

संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा राज्यले बन्देज लगाउन मिल्दैन । बोल्नेहरु लोकतन्त्रको भरपूर उपभोग गर्न सक्छन् । तर संविधानले नै सुरक्षित गरेको कसैको बाँच्न पाउने अधिकारलाई कुष्ठित गरी खुलेआम ज्यान मार्ने उद्योग चलाउने, अराजक अभिव्यक्ति दिएर समाजको शान्ति भाँड्ने काम गरिरहेका र गर्न खोजिरहेकालाई कुनै पनि राजनीतिक प्रभावबिना कडा कारबाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ ।

पछिल्लो समय धर्म र जातिका नाममा थप संवेदनशील टिप्पणी गर्दै हिँड्नेलाई संविधान, संस्कृति वा परम्पराका नाममा नजरअन्दाज गर्दै जाने हो भने मुलुकमा दिन दहाडै हत्या आतंक फैलिन सक्ने जोखिम बढेको छ । जायज माग भए तत्काल सनुवाइ गर्ने र आतंकवादी गतिविधि हो भने नियन्त्रण गर्ने कार्यमा राज्य गम्भीर बन्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्