बिशेष

प्रचण्डले एकलौटी गर्न खोजेको भन्दै कांग्रेसका शीर्ष नेता असन्तुष्ट, कांग्रेस फसाउने रणनीतिमा प्रधानमन्त्री ! (भिडियो रिपोेर्टसहित)

हिमालय टिभी
२०८० भदौ २० गते ७:३९
प्रचण्डले एकलौटी गर्न खोजेको भन्दै कांग्रेसका शीर्ष नेता असन्तुष्ट, कांग्रेस फसाउने रणनीतिमा प्रधानमन्त्री ! (भिडियो रिपोेर्टसहित)

२० भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकलौटी गर्न खोजेको भन्दै प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका शीर्ष नेता असन्तुष्ट छन् ।

पछिल्ला प्रकरणमा माओवादीलाई जोगाउने, कांग्रेस फसाउने रणनीतिमा प्रधानमन्त्री रहेको भन्दै सत्ता गठबन्धनबाटै आलोचना भइरहँदा प्रचण्ड भने आफू पाँचै वर्ष प्रधानमन्त्री हुनेमा ढुक्क हुनुहुन्छ । यो बीचमा भएका विभिन्न राजनीतिक भेटघाट र नेताहरुको दौडाहले वर्तमान गठबन्धन भने लामो समय नरहने निश्चित छ ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकारलाई साथ दिएर नहुने भन्दै लोकतन्त्रको रक्षाका लागि कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताउनुभयो ।

कोइरालाको यो भाषण सकिएको तीन घण्टापछि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा विविध छलफल गरेको सार्वजनिक भयो । ओलीसँगको छलफल आसन्न अमेरिका र चीन भ्रमणका एजेण्डामा भनिए पनि परिस्थिति बदलिने संकेत देखिन्छ ।

महासचिव शंकर पोखरेल नेतृत्वको एमाले नेताको टोली यतिबेला चीनमा उच्चस्तरीय भेटघाटमा छ । र काठमाडौंमा अध्यक्ष ओलीसँग कांग्रेसका नेताहरु छलफलमा । सत्ता गठबन्धनमा बढ्दो असमझदारी र प्रधानमन्त्री प्रचण्डका केही निर्णयका कारण कांग्रेस बिच्कँदा नयाँ समिकरणको सम्भावना बढ्दो छ । तर सत्तारुढ माओवादी यसलाई सिधै अस्वीकार गर्छ ।

त्यसो त एमाले पनि अहिले सत्ता परिवर्तनका लागि हतारो गर्ने पक्षमा नरहेको दाबी गर्छ । भित्र(भित्र बनिरहेको नयाँ परिस्थितिलाई एमालेले केही पनि होइन भनेको छ ।

प्रचण्डको चीन भ्रमण अघि एमालेको उच्चस्तरीय भ्रमण हुनुले राजनीति अब थप ध्रुविकृत हुने देखिन्छ । वर्तमान गठबन्धन भत्काउने सर्तमा प्रमुख प्रतिपक्षी एमाले जस्तोसुकै कदम चाल्न तयार भएर बसेको छ । यस्तोमा अब बन्नसक्ने नयाँ समीकरण कस्तो हुन्छ त ?

सम्भावित समीकरण–१
पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा सक्रिय हुने चर्चा चलिरहेको छ । यसमा एमालेभन्दा बढी माओवादीको चासो छ । समाजवादी मोर्चाको सन्देशसभा अन्तर्गत सुर्खेतमा प्रचण्डले ओलीका कारण सकस भएको बताउनुभएको थियो । र अझै पनि प्रचण्डलाई एमालेसँगै आश र ओलीसँग त्रास छ । यस्तोमा चिनियाँ चासोसमेत मानिएको कम्युनिष्ट सहकार्यको मन्त्रले काम गर्न सक्छ । पोखरेलको भ्रमण पनि यसकै तयारी मानिएको छ । यस्तोमा राप्रपा र रास्वपालाई साथमा लिएर एमाले र माओवादीको नयाँ सरकार बन्न सक्ने देखिन्छ ।

नेकपा एमाले– ७६
माओवादी– ३२
रास्वपा–२१
राप्रपा( १४
नेकपा एकीकृत समाजवादी– १०
जम्मा संख्या– १५३

सम्भावित समीकरण–२
कांग्रेस नेता शेखर कोइरालाले मंगलबार भाषण गर्नुको केही संकेत छ । उहाँ पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवादमा हुनुहुन्छ । सभापति देउवासँग निकट हुँदै गरेका कोइराला नयाँ समीकरण बनाएर देउवालाई प्रधानमन्त्री बनाउने र पार्टीको भावी सभापतिमा मैदान खाली गराउने योजनामा हुनुहुन्छ । एमालेका दोस्रो तहका केही नेता पनि माओवादीलाई साइजमा ल्याउन कांग्रेससँग सहकार्यको जोड दिँदै छन् । पछिल्लो समय भारतले पनि यो गठबन्धनमा चासो राखेको बताइन्छ ।
नेपाली कांग्रेस– ८७
नेकपा एमाले– ७६
जम्मा संख्या– १६३

सम्भावित समीकरण–३
यदी माओवादीसँगको सहकार्य फलदायी नभए कम्युनिष्ट पृष्ठभुमि बाहेकका दलसँग सहकार्य गरेर देउवा नेतृत्वमा नयाँ सरकार बनाउने योजनामा कांग्रेसका केही नेता छन् । सभापति निकट नेताहरुले परिस्थिति त्यस्तो भइनसकेको बताए पनि भित्र भित्र मक्किएको सत्ता गठबन्धनको भविष्य संकटतर्फ उन्मुख भएको विश्लेषण पनि भएको छ । र यस्तोमा कांग्रेसले तीन ठूला कम्युनिष्ट बाहेकलाई मिलाएर नयाँ सरकार बनाउन सक्छ ।
नेपाली कांग्रेस– ८७
रास्वपा– २१
राप्रपा– १४
जसपा– १३
जनमत– ६
लोसपा– ४
नाउपा– ३
जम्मा संख्या– १४८

बहुदलपछिको राजनीतिक अवस्थालाई हेर्दा मिलिजुली सरकार बढीमा ११ महिना मात्रै चलेको देखिन्छ । र अहिले सरकारले थालेका केही प्रकरणका फाइलमा राजनीतिक लाभ र हानीलाई हेरिएको आशंका सत्ता गठबन्धनबाटै भइरहेको छ । अब सरकारको भविष्य नयाँ राजनीतिक चलखेलमा निर्भर देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्