बिशेष

६० किलो सुन प्रकरणमा सीआईबीले पूर्वउपराष्ट्रपतिका छोरा दिपेशसँग लियो बयान

हिमालय टिभी
२०८० भदौ १९ गते १५:१०
६० किलो सुन प्रकरणमा सीआईबीले पूर्वउपराष्ट्रपतिका छोरा दिपेशसँग लियो बयान

१९ भदौ २०८० काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग सोधपुछ गरेको छ ।

महाराजगञ्जस्थित ब्यूरोमा बोलाएर प्रहरीले पुनसँग सोधपुछ गरेको हो । सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिसँग उठवस देखिएपछि पुनलाई सीआईबीले अनुसन्धानको दायरामा तानेको हो ।

यही प्रकरणमा सीआईबीले विमानस्थल भन्सार कार्यालयका निवर्तमान प्रमुख अरुण पोखरेलसँग पनि सोधपुछ गरेको छ। हङकङबाट ६० किलो सुन तस्करी गरेर नेपाल ल्याइँदा बिदामा रहेका पोखरेल अहिले काममा फर्किएका छन्।

उनलाई बिदामा रहँदै अर्थ मन्त्रालयलले विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीबाट हटाएर तानेको थियो। सुन तस्करीको आरोपमा विमानस्थल भन्सारका केही कर्मचारी र भन्सार एजेन्ट पनि पक्राउ परेका छन्।

यसअघि विमानस्थल भन्सारका कर्मचारीको मिलेमतोमा भन्सारले पक्राउ गरेको भेपको ९ किलो सुन गायब भएको थियो। त्यतिबेला समेत विमानस्थल भन्सारको प्रमुख रहेका पोखरेलसँग सोधपुछ भएको हो। सुन तस्करीमा संलग्न रहेको आरोपमा ७ चिनियाँसहित २७ जना पक्राउ परेका छन्।

हिजो सीआईबीले रुपन्देहीका सुमन खरेललाई पक्राउ गरेको थियो। हङकङ र भारतमा पुगेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ। हङकङबाट ब्रेक शुमा ल्याएको करिव ६० किलो सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते बरामद गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्