कला/मनोरञ्जन

आमा अभिनेत्रीको जिम्मेवारी र दायित्व

२०७९ चैत २९ गते ७:०४
आमा अभिनेत्रीको जिम्मेवारी र दायित्व

काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन् । यद्यपि केही भने विवाह पश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा पुगेका छन् । ‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन् ।

विवाह र त्यसपछि बच्चाका लागि सहज हुँदैन सार्वजनिक व्यक्तित्वलाई । अभिनेत्री प्रियङ्का कार्कीले कोरोना महामारीअगाडि विवाह गर्नुभयो । लगत्तै लकडाउन भएपछि आफ्नो श्रीमान् आयुष्मान देशराज श्रेष्ठ जोशीसँग समयको उपयोगिताबारे सल्लाह गरेर बच्चाको योजना बनाउनुभयो । “योजना बनाउँदा पनि समय दिनुपर्ने हुन्छ । हामीले यो समय दिँदा सदुपयोगिता पनि हुन्छ भन्ने लागेर योजना बनायौँ । किनकि हामी हाम्रो सन्तानलाई समय अभाव नहोस् भन्ने चाहन्थ्यौँ”, अभिनेत्री कार्कीले भन्नुभयो ।

पूर्वमिस नेपाल माल्भिका सुब्बाले गर्भवती भएदेखि मनोवैज्ञानिक अवस्थादेखि मानसिक स्वास्थ्यसम्मको भोगाइलाई साट्नु भयो । “गर्भवतीको समयमा मैले बुझेँ अब म मात्र आत्मनिर्भर छैन । किनकि म अब हामी भइसकेको थिएँ । मैले गर्ने गतिविधि मेरो स्वास्थ्यसँगै मेरो बच्चासँग जोडिन्थ्यो”, उहाँले भन्नुभयो ।

नृत्य निर्देशक हुँदै चलचित्र निर्देशक बन्नुभएकी रेनशा बान्तवा राईले आमा बनेपछि पूर्ण महसुस गर्नुभयो । ‘आमा नायिका : जिम्मेवारी र करिअर’ विषयमा बोल्दै निर्देशक राईले भन्नुभयो, “आमा भएपछि दायित्व बढ्नु स्वाभाविक नै हो । यद्यपि हामी नै खुसी हुन सकेनौँ भने हामीले बच्चालाई खुसी राख्न सक्दैनौँ । काम गरिरहने हामी जस्ता महिलालाई काम र परिवारको दायित्व पाउँदा खुसी हुन्छौँ । हामीले बच्चासँग बसे मात्र असल आमा भइन्छ भन्ने सोच त्याग्नु पर्छ ।”

निर्देशक राईसँगै अभिनेत्री कार्की र पूर्वमिस नेपाल सुब्बाले गर्भवती भएपछि आमाको दायित्व पूरा गरिरहेको सन्दर्भसम्मको आफ्नो यात्राको विषयमा कुरा गर्नुभएको छ । बच्चा हुर्काउँदै गर्दा एउटी श्रीमतीले श्रीमान्, नातेदार, समाजबाट राख्ने अपेक्षाको विषयमा चर्चा भयो । अभिनेत्री कार्की बच्चा पाउने समयमा ९८ केजी हुनुहुन्थ्यो ।

चलचित्रको पर्दामा देखिने अभिनेत्रीले आफैँलाई त्यो रूपमा देख्दा स्वीकार्न सक्नुभएको थिएन । “म बच्चा पाएर अस्पतालबाट घर फर्किने बेलामा आफ्नो तौल मापन गरेकी छु । ९४ केजी हुँदा आफैँले विश्वास गर्न सकिरहेकी थिइन् । त्यसपछि बच्चा हेर्ने आउनेले दिने प्रतिक्रियाले पनि मलाई मानसिकरूपमा केही हदसम्म असर गरेको थियो । हाम्रो शारीरिक अवस्थालाई लिएर दिइने प्रतिक्रियाले असर पनि गर्छ”, अभिनेत्री कार्कीले भन्नुभयो ।

अभिनय वा विभिन्न कामको सिलसिलामा बाहिर जानु पर्दा सहज त हुँदैन । यद्यपि कामभन्दा पनि सामाजिकरूपमा आउने प्रतिक्रियाले बढी असर गरेको अनुभव उहाँको छ ।

पूर्वमिस नेपाल सुब्बाले पनि त्यस्ता प्रतिक्रियाले आमाको मनोबल घटाउने बताउनुभयो । “म एउटा डरलाग्दो अवस्थालाई पार गरेर काममा फर्किएकी थिएँ । किनकी हामीले घर पनि त चलाउनै प¥यो । त्यो अवस्थामा आफ्नै सहकर्मीमार्फत पनि बच्चालाई छाडेर कसरी काममा आउन सकेको जस्तो प्रतिक्रिया पाएकी छु । त्यस्ता कुराले सुरूआती समयमा असर गर्ने गरेको थियो”, उहाँले भन्नुभयो ।

निर्देशक राईले बच्चा हुर्काउने जिम्मेवारी आमा झैँ बुबाको पनि उत्तिकै रहेको बताउनुभयो । “कहिलेकाहीँ बुबाले बच्चाको कपडा बदलिरहेको छ । उसलाई फकाइरहेको छ र आफन्त आएका छन् भने आमालाई भाग्यमानी भन्छन् । बच्चा हुर्काउने दायित्व आमा झैँ बुबाको हो भन्ने किन बुझ्दैनन् ? हाम्रो यो अवस्था छ भने जहाँ महिला काम गर्दैनन् त्यहाँ के होला ? हामीले यससम्बन्धी सोचमा बदलाव ल्याउनु जरुरी छ”, उहाँको कथन थियो ।

पूर्वमिस नेपाल सुब्बालाई आमा बन्ने आवश्यकता महिलाभन्दा पनि बढी समाज र नातेदारले बनाएको दायरा जस्तो लाग्छ । उहाँ अध्ययनका क्रममा देखाइने पूर्ण परिवारको चित्रमा बुबा, आमा, छोरा र छोरीको चित्रसँग सहमत हुनुहुन्न । “सन्तान जन्मियो भन्दैमा विशेष हुने र पूर्ण हुने भनाइमा म सहमत छैन”, उहाँले भन्नुभयो । एकल आमाको रूपमा छोरालाई हुर्काइरहनु भएकी पूर्वमिस नेपाल सुब्बाले समाजमा बलियो बन्न सिकाइरहनुभएको छ ।

अभिनेत्री कार्की अहिले चलचित्रसँगै टेलिभिजन कार्यक्रममा व्यस्त हुनुहुन्छ । उहाँलाई आमा भएपछि काममा फर्किने प्रेरणा आफ्नै आमामार्फत प्राप्त भएको थियो । काम गर्ने सिलसिलामा महिला सहभागिता न्यून रहेको चर्चा पनि हुने गर्छ । उहाँले देखाउनकै लागि महिलालाई समूहमा सामेल गर्न नहुने बताउनुभयो ।

“मैले शृङ्खला निर्देशन गरेँ । महिला राख्दिम् न भनेर राखेर काम राम्रो हुँदैन । उहाँ त्योसम्बन्धी विज्ञ हो कि होइन ? काम गर्न सहज हुनुहुन्छ कि हँुदैन ? उहाँ कत्तिको सुरक्षित हुनुहुन्छ ? लगायतका तथ्यलाई सोच्नु पर्छ”, अभिनेत्री कार्कीले भन्नुभयो, “महिला कम छ भन्ने भन्दा पनि विज्ञ छन् भन्ने आवाज बन्नु जरुरी छ । त्यहाँ कोटा र दयाभावभन्दा पनि प्रतिभा नै चाहिन्छ ।”

निर्देशक राईले आफ्नो चलचित्रको नाम नै परिवर्तन गर्नुभयो । आइएम ट्वान्टी वानलाई ‘ज्याकी ः आइएम ट्वान्टी वान’ बनाएपछि पुरुष पात्रको नाममा शीर्षक किन बनाएको भन्ने प्रश्न पनि उदाए । “मेरो दोस्रो चलचित्रमा आइपुग्दा म बजारमार्फत पनि निर्देशित छु । बजारले चाहिरहेको चलचित्र बनाएर आफूलाई चिनाउनुसँगै प्रमाणित गर्नुपर्ने दायित्व छ । त्यसैले मैले पुरुष पात्रको ज्याकीलाई शीर्षक बनाउँदा महिला पात्रको रुबीलाई बनाउन सकिनँ”, निर्देशक राईले भन्नुभयो, “म स्थापित भएपछि वा मैले विश्वास पाएपछि म आफ्नो किसिमको चलचित्रमार्फत मेरो सोचलाई व्यक्त गर्न सक्छु । अहिले म बजारभन्दा बाहिर गए भने बाहिर नै हुन्छु ।”

निर्देशक राई जुम्ल्याहा सन्तान एक छोरा र एक छोरीकी आमा हुनुहुन्छ भने अभिनेत्री कार्कीले एक छोरीलाई जन्म दिनुभएको छ । पूर्वमिस नेपाल सुब्बाको सात वर्षीय छोरा छ । उहाँहरू तीनैजना आफ्नो क्षेत्रको काममा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *