कसरी बन्छ सरकारको बजेट ? (भिडियो रिपोर्टसहित)

१९ चैत २०७९ काठमाडौं । सामान्यतया बजेट भनेको आय र व्ययको दस्तावेज हो । यसले बर्षभरि आम्दानी कति गर्ने र खर्च कति गर्ने भन्ने हिसाब निकाल्ने काम गर्छ ।
प्रत्येक वर्ष निकाल्ने यो हिसाब सरकारले विधेयकका रुपमा संसदमा पेश गरेपछि संसदले कानून बनाएर पारित गर्छ । नयाँ संविधान २०७२ जारी भएपछि जेठ १५ गते बार्षिक बजेट सार्वजनिक गरिन्छ । आखिर अर्थमन्त्रालयले कसरी बनाउछ त बार्षिक बजेट ?
मुलुकको बार्षिक बजेट निर्माणको काम कात्तिकदेखि नै सुरु हुन्छ । करिब आठ महिनाको तयारीपछि बजेट तयार हुन्छ । कुन महिना के काम हुन्छ ?
कात्तिक
–कात्तिकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहेको स्रोत समितिले नयाँ बजेटको आकार र आवश्यक स्रोत निर्धारणको काम सुरु गर्छ ।
मंसिर
–मंसिरमा स्रोत समितिले बजेटको स्रोत र सीमा तोकेर मन्त्रालय र निकायहरुमा पठाउँछ । यही सीमाभित्र रहेर सम्बन्धित निकायले योजना र कार्यक्रम पेश गर्छन् ।
पुस
–पुसमा स्थानीय आवश्यकता र मागका आधारमा सरकारी कार्यालयहरुले लाइन मिनिस्ट्री बजेट इन्फर्मेशन सिस्टम (एलएमबीआइएस) मा रकम सहित आफ्ना कार्यक्रमहरु पेश गर्छन् ।
माघ
माघमा हरेक मन्त्रालयले मातहतका विभाग र कार्यालयहरुबाट प्राप्त कार्यक्रमको आवश्यकता र औचित्यबारे अध्ययन गरेर आवश्यकता अनुसार संशोधन गर्छन् । यसै महिना अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्छ ।
फागुन
फागुनमा संघीय सरकारबाट आउन सक्ने अनुदानको सीमा निर्धारण गरी प्रदेश र स्थानीय तहलाई पठाइन्छ । र यसै महिना सबै मन्त्रालयहरुको सहभागितामा बजेटबारे नीतिगत छलफल समेत हुन्छ ।
चैत
चैतदेखि बजेटको मस्यौदा लेखनको सुरु हुन्छ । बजेटको उद्धेश्य, प्राथमिकता र मुख्य कार्यक्रमबारे संघ र प्रदेश सदस्यहरुसँग छलफल गरिन्छ ।
यसै महिना एलएमबीआइएसमा आएका योजना र अर्थमन्त्रीको निर्देशन बमोजिम बजेटको मस्यौदा लेखन सुरु हुन्छ ।
बैशाख
वैशाख अन्तिम सातासम्म बजेट तर्जुमा कार्यतालिका अनुसार विभिन्न राजनीतिक दलका प्रतिनिधि, पूर्वअर्थमन्त्री, पूर्वगभर्नर, पूर्वअर्थसचिव, अर्थशास्त्री, निजी क्षेत्र तथा विज्ञबाट बजेटसम्बन्धी सुझाव संकलनको काम गरिन्छ । यसका लागि मन्त्रालयले समूहगत छलफल गर्नुका साथै अनलाईन मार्फत पनि सुझाव माग गर्छ ।
वैशाखमै वैदेशिक स्रोतअन्तर्गत प्राप्त हुने रकम यकिन गरी बजेटमा राख्ने काम पनि गरिन्छ । यो महिना बजेटको मस्यौदा तयार हुनछ ।
जेठ
यो बजेट निर्माणको सबैभन्दा चटारोको महिना हो ।
जेठ १० गतेसम्म खर्च अनुमानसहित वार्षिक व्यय अनुमानको मस्यौदा तयार पार्ने र शीर्षकगत खर्च अनुमानको रुजु गर्ने काम गरिन्छ ।
जेठ १२ गतेभित्र राष्ट्रपति र प्रधानमन्त्रीलाई बजेटको मस्यौदाबारे जानकारी गराइन्छ ।
जेठ १३ गते अर्थ मन्त्रालयले आर्थिक विधेयक, विनियोजन विधेयक र बजेट वक्तव्यलाई अन्तिम रुप दिन्छ ।
जेठ १४ गते आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयकबारे राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्लाई बिफ्रिङ गर्ने र छपाइ सकेर यसै दिन राति नै ब्रिफकेशमा बजेट प्याक गर्ने काम हुन्छ ।
बजेट भाषणअघि सरकारको अनुकुलतामा राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरिन्छ ।
जेठ १५ गते बजेटको सारांश सहित मन्त्रिपरिषद्मा पेश गरिन्छ । मन्त्रिपरिषद्बाट पास भएपछि सोही दिन अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिन्छ।
बजेट कार्यान्वयलाई प्रभावकारी बनाउन संविधानमै जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरे पनि कार्यान्वयनमा भने सुधार हुन सकेको छैन ।
प्रतिक्रिया