कुन्साङ्गलाई फकाउन मिरुनालाई सकस
काठमाडौं । अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक भएको छ।
द्रिप चाम्लिङ्गको शब्द रहेको गीतमा सन्तोष सुनारको संगीत रहेको छ। रचनाकार चाम्लिङ नेपालकै सफल स्कुल, कलेज युनाइटेड एकेडेमीका सञ्चालक हुन्। उनी नेपाली परिवेश र भूगोललाई समावेश गर्ने शब्द रचना गर्ने गर्दछन्।
‘मखमली’ ले पनि त्यस्तै भाव बोकेको छ। प्रकृति प्रेम र जीवनसँग जोडिएका शब्द आकर्षक छन् भने सन्तोषको संगीत र अस्मिताको स्वरले गीतमा प्राण भरेको छ।
भिडियोको कन्सेप्टमा केही फरक गर्ने कोशिस निर्देशक राजेश पुमा राईले गरेका छन्। दर्जनौँ गीत निर्देशन गरिसकेका राजेशले आकर्षक सेट लगाएर भिडियो खिचेका छन्।
मिरुना मगर र कुन्साङ्ग बोमजोन गीतको भिडियोमा फिचर रहेका छन् । भिडियोमा कुन्साङ्गको प्रेममा परेकी मिरुनालाई प्रस्तुत गरिएको छ।
मिरुना आफ्नो प्रेम व्यक्त गरेर कुन्साङ्गलाई फकाउने कोशिसमा रहेकी छन्। भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ।
प्रतिक्रिया