Main News

बुधबारसम्म सिट बाँडफाँटको टुंगो लाग्छः अध्यक्ष प्रचण्ड

हिमालय टिभी
२०७९ भदौ १३ गते १७:२७
बुधबारसम्म सिट बाँडफाँटको टुंगो लाग्छः अध्यक्ष प्रचण्ड

१३ भदौ २०७९ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गठबन्धनभित्रको सिट बाँडफाँट बुधबारसम्म टुंगो लगाउने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेश समितिको वैचारिक, राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तीन चरणमा सिटको भागबण्डा हुने दाबी गर्नुभयो ।

उहाँले १५ गतेसम्म सिट बाँडफाँट सक्ने र २० गते कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निस्कर्ष निकाल्ने २५ भदौसम्म आ–आफ्नो पार्टीले उठाउने उम्मेदवारको टुंगो लगाइसक्ने बताउनु भयो ।

अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनमा जस्तो टिकट वितरणमा अनौठा घटना नहुने दाबी गर्नुभयो । उहाँले माओवादी केन्द्रले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ६० सिट र प्रदेश सभा सदस्यमा १२० सिट दाबी गर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले गठबन्धन अब पनि रहने की नरहने भन्ने बारेमा अहिले वहस चलिरहेको भन्दै यही गठबन्धनमा आगामी निर्वाचन लड्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नेकपा एमालेप्रति लक्षित गर्दै प्रतिगमनकारी प्रवृत्ति परास्त नभएसम्म गठबन्धन रही रहने दाबी गर्नुभयो ।

उहाँले यही गठबन्धनको आधारमा प्रतिगमनलाई परास्त गर्ने अभियानलाई निरन्तर अघि बढाउने भन्दै तत्काल अर्को गठबन्धन बन्ने सम्भावना नरहेको जिकिर गर्नुभयो । उहाँले तत्कालीन नेकपा रहँदा आफूहरुविरुछ षड्यन्त्र भएपछि १९ पृष्ठ लामो दस्तावेजसहितको राजनीतिक बम नेकपा सचिवालयमा वर्षाएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नागरिकता विधेयकको गलत प्रचार गरेर नेकपा एमालेले चुनावी एजेण्डा बनाइरहेको आरोप लगाउनुभयो । उहाँले माओवादी केन्द्रले नै वैवाहिक अंगीकृतलाई ७ वर्षपछि मात्रै नागरिकता दिने प्रावधान ल्याएको उल्लेख गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा ६ महिनासम्म नागरिकता विधेयक संसदमा पेस नगरेको बताउनु भयो ।

उहाँले संसद विघटन गरेर तत्कालीन प्रधानमन्त्री ओलीले नागकिरता अध्यादेश ल्याएको र अहिलेको गठबन्धन सरकारले पनि सोही विधेयक ल्याएको बताउनुभयो । उहाँले नेकपा एमालेले अनैतिक तरिकाबाट अहिले वैवाहिक अंगीकृत भनेपछि राष्ट्रवादी भइने र निर्वाचनमा भोट प्राप्त गर्ने मनशायले नाकाबन्दीको बेला झैँ सोचिरहेको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले नागरिकताविहीन ७ लाख नेपालीहरुलाई नागरिकता प्रदान गर्न र वैवाहिक अंगीकृतको बारेमा राष्ट्रिय सहमति गरेर अघि बढ्ने सहमति अनुसार नै अहिले नागरिकता विधेयक ल्याएको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले सरकार राष्ट्रिय सहमति बनाएर वैवाहिक अंगीकृतको बारेमा पनि समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि काठमाडौं उपत्यकामा नयाँ उम्मेदवार ल्याउने तयारी गरेको बताउनुभयो ।

उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्थानीय निर्वाचन सेन्टिमेण्टले जितेको दाबी गर्दै माओवादी केन्द्रले पनि बालेन्द्रले भन्दा चर्को सेन्मिेण्टको उपाय खोजिरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *