समाज

बागलुङका ३० प्रतिशत नागरिक मात्र स्वास्थ्य बीमामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १३ गते १४:०९
बागलुङका ३० प्रतिशत नागरिक मात्र स्वास्थ्य बीमामा (भिडियो रिपोर्टसहित)

१३ साउन २०७९ बागलुङ । हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँच दिलाउन सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरुवात गर्यो । तर, बाग्लुङमा बीमा कार्यक्रमको प्रभावकारिता भने न्यून छ ।

हालसम्म जिल्लाका ३० प्रतिशत नागरिक मात्र स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । बीमामा सहभागी भएकाहरुलेसमेत सहज उपचार पाउन सकेका छैनन् ।

हरेक नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा जोड्ने योजना स्वरुप २०७२ साल चैत २५ गते स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको थियो। तर यो कार्यक्रममा बाग्लुङगका ३० प्रतिशत नागरिक मात्र जोडिएका छन् । जानकारी नपाउनु र अन्य झन्झटिला प्रक्रियाका कारण स्वास्थ्य बीमा कार्यक्रममा जोडिनेको संख्या अत्यन्त न्यून छ ।

बागलुङमा धौलागिरि अस्पताल, बुर्तिवाङ स्वास्थ्य केन्द्र, हरिचौर स्वास्थ्य केन्द्र र कुश्मिसेरा स्वास्थ्य केन्द्र मार्फत स्वास्थ्य बीमा अन्तर्गतको सेवा प्रवाह हुँदै आएको छ । भौगोलिक अवस्था असहज, पर्याप्त स्वास्थ्य केन्द्रको उपलब्धतामा कमी र जनचेतना अभावका कारण बीमा कार्यक्रममा जोडिनेको संख्या कम भएको विमा बोर्डको बुझाइ छ ।

स्वास्थ्य बीमा अन्तर्गतको औषधि छैन भन्दै क्लिनिकमा किन्न पठाउने गरेको गुनासो सेवाग्राहीको छ । तर, अस्पताल भने कहिलेकाँही औषधि अभाव हुनसक्ने र भएसम्म औषधि अस्पतालबाट नै उपलब्ध गराइएको दाबी गर्छ ।

बागलुङमा २०७३ सालको असार महिनाबाट स्वास्थ्य बीमा कार्यक्रम संचालन भएको थियो । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत रहेको बीमा कार्यक्रममा अघिल्लो आर्थिक वर्षसम्म ८० हजार चार सय ५४ जना सहभागी छन् ।

बागलुङभर २ लाख ६८ हजार ६ सय १३ जनसङख्या रहेको बाग्लुङमा आर्थिक वर्ष २०७७–७८ मा ६८ हजार आठ सय ७२ जनाले स्वास्थ्य बीमा गरेका थिए । तर, गत आर्थिक वर्षमा ११ हजार पाँच सय ८२ नयाँ विमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *