Main News

प्रचण्ड-माधवसँग एकता गर्न ओली लचक भएका हुन्? (भिडियो रिपोर्टसहित)

२०७९ साउन ४ गते २१:०९
प्रचण्ड-माधवसँग एकता गर्न ओली लचक भएका हुन्? (भिडियो रिपोर्टसहित)

४ साउन २०७९ काठमाडौं । तत्कालीन नेकपाका पाँच सचिवालय सदस्यको निरन्तरको एकता प्रयास केन्द्रीत छलफलले एमालेमा दबाब बढेको छ । बुधबार राजधानीमा आयोजित फरकफरक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पनि विचार मिल्नेसँग एकता हुनसक्ने संकेत गर्नुभएको छ ।

तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पाँच सचिवालय सदस्यहरु निरन्तर वाम एकताको प्रयासमा लागिरहँदा एमालेलाई एकताका लागि दबाब बढेको छ ।

नेकपाका अध्यक्ष प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम निरन्तर छलफलमा रहँदा एमालेले पनि आन्तरिक तयारी थालेको छ ।

बुधबार राजधानीमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले आफूहरु पनि शर्तसहित वाम एकताको पक्षमा रहेको संकेत गर्नु भएको छ । अध्यक्ष ओलीले वामपन्थी दाबी गर्नेहरुलाई एमालेमा आउन आह्वान गर्नु भएको छ ।

महासचिव पोखरेलले पनि नेकपा एमाले नै तत्कालीन नेकपाको निरन्तरता भएको दावी गर्नुभएको छ ।

सम्पादकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले नेकपा विभाजित भएपछि माओवादी अध्यक्ष प्रचण्डसँग माओवादीका केही नेता मात्रै भएको तथा नेकपा एकीकृत समाजवादीसँग पूर्वएमालेहरु मात्रै रहेको तर ओली नेतृत्वको एमालेमा नेकपाको सबै अनुहार देखिने दाबी गर्नुभयो । महासचिव पोखरेलले आगामी दिनमा विचार मिल्नेसँग एकता हुने दाबी समेत गर्नुभयो ।

तत्कालीन नेकपाका ५ सचिवालय सदस्यको दौडधुप चलिरहँदा एमालेका शीर्ष नेताबाट पनि घुमाउरो ढंगले वाम एकताको प्रसंग आउनुले राजनीतिमा नयाँ खिचडी पाक्दै गरेको त छैन भन्ने अनुमानलाई सहज बनाइदिएको छ ।

आगामी निर्वाचनमा जसरी पनि पहिलो शक्ति बन्ने रणनीतिमा रहेको एमाले र सत्ता गठबन्धनमा सम्मानजनक भूमिका नपाइने हो कि भन्ने चिन्तामा देखिएको माओवादी र एकीकृत समाजवादीबीचको आगामी सहकार्य भने नेताहरुका चाहनामा निर्भर रहने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *