सिक्टाको पूर्वी नहरमा पानी, किसानको चिन्ता बदलियो खुसीमा (भिडियो रिपोर्टसहित)

३ साउन २०७९ बाँके । सिक्टा सिंचाइ आयोजनाको नहरबाट बाँकेको फत्तेपुरमा पहिलोपल्ट सिंचाइ सुविधा पुगेको छ । निर्माण शुरु भएको १६ वर्षपछि सिक्टाको पूर्वी नहर हुँदै आफ्नो खेतसम्म पानी पुगेपछि किसान खुसी भएका छन् ।
लामो समयदेखिको खडेरीका कारण फत्तेपुर क्षेत्रका किसानले अझै रोपाईं गर्न सकेका छैनन् । केही स्थानमा रोपिसकेका धान पनि सुख्खाका कारण खेतमै मर्ने अवस्थामा पुग्दा किसान चिन्तित थिए ।
अहिले राप्ती नदीबाट सिक्टा सिंचाइ आयोजनाको नहरमार्फत आफ्नो खेतमा पानी पुगेपछि अहिले रोपाईं धमाधम शुरू भएको छ भने रोपिसकेको धानमा सिंचाइ गरिरहेका छन् ।
सिक्टाको नहरबाट यो वर्ष मात्रै बाँकेको फत्तेपुर क्षेत्रको करिब २ हजार हेक्टरमा थप सिंचाइ सुविधा विस्तार भएको छ ।
पूर्वी नहरबाट हालसम्म करिब ४ हजार हेक्टरमा सिंचाइ सुविधा पुगिसकेकोछ । २०७४ साउनमा शुरु भएको आयोजनाअन्तर्गतको पूर्वी नहर निर्माण ८६ प्रतिशत सम्पन्न भइसकेको छ ।
आगामी माघसम्म निर्माण सक्ने लक्ष्य छ । बाँकी ११ किलोमिटर क्षेत्र मूल नहर निर्माण र शाखा नहर निर्माण भएपछि थप ५ हजार हेक्टरमा सिंचाइ सुविधा पुग्नेछ ।
प्रतिक्रिया