Main News

भारत भ्रमण फलदायी : प्रचण्ड

२०७९ साउन १ गते २१:५१
भारत भ्रमण फलदायी : प्रचण्ड

१ साउन २०७९ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल भएको बताउनुभएको छ ।

तीनदिने भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले भारतीय पक्षसँग सौहाद्र्रपूर्ण वातावरणमा कुराकानी भएको बताउनुभयो ।

आफ्नो भ्रमणपछि दुई देशबीचको सम्बन्धमा सकारात्मक परिणाम आउने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भएको भेटघाटले नेपालले भोग्दै आएको समस्या समाधानमा सघाउ पुग्ने बताउनुभयो । “हिजोदेखि बाँकी रहेका विषय र वर्तमानका सम्भावनाका बारेमा राम्रो कुराकानी भयो”, उहाँले भन्नुभयो, “विदेशमन्त्री र विदेश सचिवसँगको छलफल पनि फलदायी रह्यो ।”

भारतमा रहँदा नेपाल–भारतबीच भएको १९५० सन्धि पुनरावलोकन, नेपाल–भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्ने, सीमा समस्या समाधान, डुबानसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान, व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा आफूले भारतीय राजनीतिक नेतृत्वसँग कुराकानी गरेको बताउनुभयो ।

“नेपालको विकासका सम्भावना, अवसर र चुनौतीका बारेमा खुलेर कुराकानी भयो”, उहाँले भन्नुभयो, “रुसबाट कच्चा तेल सस्तोमा आउँछ, तपाईंहरुले त्यसबाट नेपाललाई दिने ढङ्गबाट सोच्नुभयो भने नेपाली जनतालाई सहयोग हुन्छ भन्ने विषयलाई मैले कुरा राखेँ ।”

आफूले नेपालको विकासका लागि भारतीय पक्षसमक्ष राखेको विषय छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो । “म धेरै नै आशावादी र विश्वस्त भएर आएको छु, हामीले समस्याका रूपमा चित्रित गर्दै आएको विषय सकारात्मकरूपमा समाधान हुनेछन् ।”

नयाँ दिल्लीमा रहँदा अध्यक्ष दाहालले त्यहाँस्थित नेपाली समुुदायका प्रतिनिधिसँग अन्तरक्रिया गर्नुभएको थियो । उक्त अवसरमा नेपाली समुुदायका प्रतिनिधिले भारत सरकारले अखिल भारत नेपाली एकता समाजलाई लगाएको पोटा कानून खारेज गर्नुपर्ने, प्रवासी नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था गर्नुपर्ने र प्रवासी नेपालीहरुलाई सरकारले गर्ने विभेदपूर्ण व्यवहार सच्याउनुपर्ने लगायत विषय उठाउनुुभएको थियो ।

शनिबार उहाँले भारतीय विदेशमन्त्री एस जयशङ्करसँग भेट गरी दुुई देशबीचका दुईपक्षीय हितका विषयमा कुुराकानी गर्नुभएको थियो । अध्यक्ष दाहालले शनिबार नै फाउन्डेशन फर पब्लिक अवारनेस एन्ड पोलिसीको आयोजनामा नेपाल–भारत सम्बन्ध विषयमा आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

‘प्रधानमन्त्री मोदी व्यस्त भएर होला भेट भएन’
अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नभएको विषयमा अनभिज्ञता प्रकट गर्नुभयो । आफूहरूलाई मोदीसँग भेट हुन्छ भनिएको भए पनि पछि सम्भव भएन भन्ने कुरा आएको उहाँले बताउनुभयो । “लास्ट आवरमा के कारणले भेट सम्भव भएन भन्ने मलाई पनि तपाईंहरूलाई जस्तै थाहा छैन । भारतमा बाढी आएर ठूलो जनधनको क्षति भएर प्रधानमन्त्री काममा व्यस्त भएर हो कि”, उहाँले भन्नुभयो, “पार्टी अध्यक्षले निम्ता दिएकाले अध्यक्षले भेटिसकेपछि हुन्छ भनेर हो । कारण मलाई पनि थाहा छैन ।” अध्यक्ष दाहाल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार भारत भ्रमणमा जानुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *