Main News

ओली-प्रचण्ड चीनले जसरी मादल बजाउँछ त्यसरी नै नाच्न तयार छन् त? (भिडियो रिपोर्टसहित)

२०७९ असार २८ गते २१:२१
ओली-प्रचण्ड चीनले जसरी मादल बजाउँछ त्यसरी नै नाच्न तयार छन् त? (भिडियो रिपोर्टसहित)

२८ असार २०७९ काठमाडौं । यतिबेला चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओ चारदिने नेपाल भ्रमणमा हुनुहुन्छ । चाओले अहिले नेपालका कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूको घरदैलोमा देउसी खेलेर सके वाम एकता नत्र गठबन्धन नै गरेर भए पनि अघि बढ्न दबाब दिइरहेको बताइन्छ ।

नेपालका शीर्ष कम्युनिष्ट नेताहरूसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखले वाम गठबन्धन गरेर अघि बढ्न दबाब दिएको बुझिएको छ । चाओको सुझावकै कारण पछिल्ला केही दिनमा कम्युनिष्ट नेताहरू केही लचक बनेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको वाम एक ठाम हुनुपर्ने अभिव्यक्ति आयो, त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको पक्षमा चाओले सुझाएको बताउनुले पनि नेपालका कम्युनिष्टहरूलाई मिलाउन चीनको जोडबल रहेको बुझ्न सकिन्छ । कतै २०७४ मा जस्तै अप्रत्याशित रुपमा वाम दलहरू मिल्ने त होइनन् भनेर पनि लख काट्न थालिएको छ । तर, विदेशीले मिलाइदिने एकता कति समय टिक्ला त ?

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७४ मा चुनावी गठबन्धन र २०७५ मा पार्टी एकीकरण नै भयो । त्यतिबेला चीनको चाहना र प्रयासले दुई पार्टीबीच एकीकरण भएको बताइएको थियो । पछि विभिन्न कारणले नेकपा विभाजन भएपछि संघ र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा पुनः नेपालका वाम शक्तिलाई जोड्न चीनले प्रयास गरिरहेको छ । के साँच्चिकै नेपालका कम्युनिष्ट पार्टीहरू चीनले जसरी मादल बजाउँछ त्यसरी नै नाच्न तयार छन् त ?

नेपालका कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्नका लागि पनि सीपीसीका नेताहरू सक्रिय हुने गरेका छन् । साविक नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छीले पनि खुलेरै सक्रियता देखाएकी थिइन् ।

वाम गठबन्धनका लागि प्रचण्ड र माधव नेपाल सकारात्मक भएपनि एमाले अध्यक्ष केपी शर्मा ओली खुल्नुभएको छैन । यसैबीच हालै मात्र नक्कली बिहेका लागि सक्कली डिभोर्स नगर्ने बताएका ओलीले के प्रचण्ड र माधव नेपालसँग हात मिलाउनु होला त भन्ने प्रश्न उठेको छ ।

तर, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसँगको गोप्य मन्त्रणापछि उहाँको स्ट्याण्टमा पक्कै बदलाव आउनेछ । नेपालका दुई ठूला कम्युनिष्ट पार्टीबीच सम्भव भए एकता र नभए वाम गठबन्धन बनाएर जाने वातावरण बनाउनु चाओ भ्रमणको उद्देश्य रहेको बताइएको छ ।

एमाले र माओवादी केन्द्र एकता र विभाजनमा बाह्य शक्ति केन्द्रको प्रत्यक्ष प्रभाव रहेको विभिन्न घटनाक्रमले पुष्टि गर्दछ । त्यसैले चीनले फेरि कम्युनिष्ट मिलाउने रणनीति अंगीकार गरेको पारदर्शी काँचझैँ प्रष्ट छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *