समाज

लुम्बिनी र कर्णाली प्रदेशमा स्क्रब टाइफसका बिरामीको बढे (भिडियो रिपोर्टसहित)

२०७९ असार २५ गते १८:०१
लुम्बिनी र कर्णाली प्रदेशमा स्क्रब टाइफसका बिरामीको बढे (भिडियो रिपोर्टसहित)

२५ असार २०७९ नेपालगञ्ज । लुम्बिनी र कर्णाली प्रदेशका केही जिल्लामा स्क्रबटाइफसका बिरामीको संख्या बढ्दै गएको छ । तर, समयमै रोग पहिचान हुन नसक्दा बिरामी र तिनका आफन्त समस्यामा पर्ने गरेका छन् ।

नेपालगन्जको भेरी अस्पतालमा स्क्रब टाइफसको संक्रमित भर्ना हुने दर बढ्दो छ । ज्वरो आउने, शरीरका विभिन्न भाग दुख्ने समस्या देखिएपछि अस्पताल पुगेका व्यक्तिमा स्क्रब टाइफस भएको पुष्टि भएसँगै अस्पतालले भर्ना नै गरेर संक्रमितको उपचार गरिरहेको छ । तर समयमै स्क्रब टाइफसको पहिचान हुन नसक्दा बिरामी र बिरामीका आफन्तले सास्ती खेप्नु परेको छ ।

स्क्रब टाइफस रोग संक्रमण भुसुना, किर्ना, सुलसुले, उपियाँ वा सूक्ष्म किराको टोकाइबाट मानिसमा सर्ने गर्छ । संक्रमित सूक्ष्म कीराले मानिसलाई टोक्दा उनीहरुको र्‍यालमा हुने जीवाणु रगतमा फैलिएपछि संक्रमित व्यक्तिमा ज्वरो आउने, शरीर दुख्ने लगायतका समस्या हुने गरेको छ ।

त्यस्ता व्यक्तिलाई समयमै एन्टिबायाटिक औषधि दिएर उपचार गर्दा सहजै निको हुन्छ । तर समयमै रोगको पहिचान गर्न नसके मृत्यु हुने जोखिम भएको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे बताउनुहुन्छ ।

चिकित्सकहरुका अनुसार स्क्रब टाइफसको संंक्रमण देखिएकामध्ये १० देखि ३० प्रतिशतसम्मको मृत्यु हुने सम्भावना छ । तर स्थानीय स्वास्थ्य संस्थामा स्क्रब टाइफसको पहिचान हुन नसक्दा बर्दिया र सुर्खेतका नागरिक भेरी अस्पतालमा नै आइपुग्नु पर्ने बाध्यता छ । समयमै अस्पताल नआएकाहरुसँग रोग पहिचानको अभावमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *