समाज

घर नजिकै बबई सिंचाई आयोजना भए पनि किसानले अझै रोपाईं गर्न पाएनन् (भिडियो रिपोर्टसहित)

२०७९ असार २१ गते २०:२१
घर नजिकै बबई सिंचाई आयोजना भए पनि किसानले अझै रोपाईं गर्न पाएनन् (भिडियो रिपोर्टसहित)

२१ असार २०७९ बाँके । असार महिनाको यो समयमा किसान रोपाइ सकेर ढुक्कले बस्नु पर्ने हो । घर नजिकै बबई सिंचाई आयोजना भएका बाँकेका किसानले अझै रोपाईँ शुरु गर्न पाएका छैनन् । नहरमा पर्याप्त पानी नहुँदा किसानले रोपाईँ गर्न नपाएका हुन् ।

यो बबई सिँचाइ आयोजनाको नहर । २३ हजार ६ सय हेक्टरमा सिंचाइ सुविधा विस्तार गर्ने उद्देश्यले ११ अर्ब खर्च गरेर बबई सिंचाइ आयोजना निर्माण गरिएको हो ।

नहरले पूर्ण क्षमतामा काम गर्न ५७ घनमिटर प्रति सेकेन्ड पानी आवश्यक पर्छ । तर, पानी नपर्दा ९ घनमिटरप्रति सेकेन्ड मात्रै पानी बगिरहेको छ । नहरको आसपासमै खेती गर्दै आएका किसानले असारको चौँथो सातासम्म पनि सिंचाइ गर्न पाएका छैनन् ।

पानी कम हुने बबई नदीमा हेडवक्स निर्माण गरेर सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यले २०४५ सालदेखि बबई सिंचाइ आयोजना निर्माण शुरु भएको हो । तर नहरको छेवैमा रहेका खेतमा सिंचाइ गर्न पानी अभाव हुँदा किसानले रोपाईँ गर्न पाएका छैनन् । असार १५ गते वर्षात् भयो । पानी पाइन्छ भन्ने आशा किसानमा जाग्यो । तर, बाढीका कारण नहर नखोल्ने आयोजनाको निर्णयले किसानलाई निराश बनायो ।

बबई नदीमा पानी कम भई सुख्खायाममा सिंचाइ नहुने भएपछि भेरी बबई डाइभर्सन आयोजनामार्फत भेरी नदीबाट ४० घनमिटर प्रतिसेकेन्ड पानी बबई नदीमा खसाल्ने योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *