पोखराको फेवा फाँट– जहाँ ४१ वर्षपछि गहुँ फल्यो (भिडियो रिपोर्टसहित)

४ वैशाख २०७९ पोखरा । धानखेतीका लागि निकै प्रख्यात छ पोखराको फेवा फाँट । असारमा पोखरेली जेठोबुढो धान रोपेर मंसिरमा बाली उठाएपछि बाँकी समय बाँझै रहने जमिनमा अहिले गहुँका बाला झुलेका छन् । यो फाँटमा ४१ वर्षपछि गहुँ फलेको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १८ र २३ को सिमानामा रहेको चंखपुरस्थित फेवा फाँट धानखेतीका लागि कहलिएको ठाउँ हो ।
२०३७ सालदेखि यो फाँटमा असारमा रोपेको धान मंसिरमा काटेपछि ६ महिना बाँझै रहन्थ्यो । सिमसार क्षेत्रमा रहेको यो फाँट वर्षको ६ महिना चरन क्षेत्रको रुपमा रहँदै आएको थियो । तर अहिले ४१ वर्षपछि यहाँ गहुँका बाला झुलेका छन् ।
पोखरा महानगरपालिकाको ५० प्रतिशत अनुदानमा बीउ र जग्गा तयार भएपछि किसानले गहुँ खेती शुरु गरे । ३ सय रोपनी क्षेत्रमा १ सय २० किसानले सामूहिक रुपमा गौतम जातको गहुँ छरेका हुन् । गौतम गहुँ पाकिसकेको छ ।
पोखरा महानगर र भावना सामुदायिक कृषि सहकारीका सदस्यहरुको साझेदारीमा गरिएको खेतीमा बाली उठाउँदा प्रतिकिसान एक मुरी गहुँ प्राप्त हुने अनुमान गरिएको छ ।
हिउँदे बाली अभियान शुरु गर्नुअघि कहाँको जमिनमा के उत्पादन हुन सक्छ भन्ने परीक्षण गरेर यहाँका किसानलाई गहुँ खेतीका लागि उत्प्रेरित गर्दै पोखरा महानगरले १० लाख रुपैयाँ अनुदान दिएको थियो ।
यो वर्ष मौसम पनि अनुकुल हुँदा बाली राम्रो भयो । महानगरले आगामी वर्ष पनि अन्य बाँझो जमिनमा खेतीका लागि किसानलाई प्रेरित गर्ने भएको छ ।
स्थानीय उत्पादनले आपुर्ति थेग्न नसक्दा पोखरामा बाहिरबाट ठूलो मात्रामा मैदा, आँटा, चोक्कर लगायतका गहुँजन्य पदार्थ आयात हुने गरेको छ । बाँझो रहेका फाँटहरुमा यसैगरी ठाउँ र मौसम सुहाउँदो खेतीबाली गर्ने हो भने खाद्यान्न आयात घटाउन सहयोग पुग्ने देखिन्छ ।
प्रतिक्रिया