Main News

आजबाट टाइफाइडविरुद्धको खोप अभियान शुरु हुँदै, देशभरका ७५ लाख बालिबालिकालाई खोप लगाइने

हिमालय टिभी
२०७८ चैत २५ गते ८:५७
आजबाट टाइफाइडविरुद्धको खोप अभियान शुरु हुँदै, देशभरका ७५ लाख बालिबालिकालाई खोप लगाइने

२५ चैत २०७८ काठमाडौं । आजबाट टाइफाइडविरुद्धको खोप अभियान शुरु हुँदैछ । सरकारले टाइफाइड रोगको जोखिमबाट जोगाउन १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको हो ।

सरकारले खोप अभियानमा देशभरका झन्डै ७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमका रूपमा लिइएको छ ।

नेपालमा अझै पनि टाइफाइड रोगको उच्च संक्रमण र जोखिम रहनुका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँच कारणभित्र यसलाई लिइएको छ । यो खोप शुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले बताउनुभयो ।

उहाँले खोप अभियानका लागि देशभर ५० हजार केन्द्र तोकिएको पनि बताउनुभयो । १८ वैशाखसम्म चल्ने अभियानमा बालबालिकालाई एकै चरणमा खोप दिने मन्त्रालयले जनाएको छ ।

आजबाट खोप अभियान शुरु भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले भने हिजै खोप अभियानको उद्घाटन गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *