पुलिस क्लबलाई २–० ले हराउँदै मनाङ आहा १ रारा गोल्डकपको सेमिफाइनल प्रवेश

९ माघ २०७८ पोखरा । आहा रारा गोल्डकपकै सर्वाधिक सफल दुई क्लबबीचको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबविरुद्ध २–० गोलको जित निकालेको छ ।
पोखरा रंगशालामा आज विभागीय टोली पुलिसलाई हराउँदै मनाङले सेमिफाइनलमा स्थान बनाएको हो । मनाङको जितमा रुपेश केसी र ओलावाले आफिजले गोल गरे ।
पहिलो हाफमा गोलका केहि अबसर बनाएपनि मनाङले दोस्रो हाफमा मात्र अग्रता लिन सफल भयो । ६४ औं मिनेटमा पुलिसका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै रुपेशले मनाङलाई अग्रता दिलाए ।
हेमन्त श्रेष्ठको ब्याक पासमा अजित भण्डारीलेले क्लियर गर्न नसकेको बलमा ओलावालेले दिएको पासलाई रुपेशले गोल गरे । खेलमा पुलिसले पनि खेलमा फर्किन पाएका केहि मौका गुमाए । तर ८८ औं मिनेटमा ओलावालेका गोलबाट मनाङले अग्रता दोब्बर बनायो ।
मैदानको बीचभागबाट एकल प्रयासमा बल अगाडी बढाउँदै गोलरकिपर अघि बढेको अवस्थामा ओलावालेले आकर्षक गोल गरे ।
अब सेमिफाइनलमा मनाङको भेट त्रिभुवन आर्मी फुटबल क्लब र थ्रीस्टार क्लबबीचको विजेतासँग हुनेछ । प्रतियोगितामा भोलि संकटा क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया