खेलकूद
विदा मनाएर नेपाल फर्किए फूटबल टोलीका मुख्य प्रशिक्षक
२०७८ पुष १३ गते १९:१२

१३ पुस २०७८ काठमाडौं । दोस्रो कार्यकालका लागि सम्झौता गरी छुट्टीमा गएका राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी नेपाल फर्किएका छन् ।
झण्डै दुई महिनापछि आज नेपाल आइपुगेका अलमुताइरीलाई आज राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय लगायतले स्वागत गरे ।
साफ च्याम्पियनसिपपछि माल्दिभ्सबाटै कतार गएका उनलाई गत कात्तिकमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्झौता थपेपछि विश्वकप र एसिया कप छनोट लक्षित कार्ययोजना सार्वजनिक गरेका थिए ।
आगामी शनिबारदेखि उनको नयाँ सम्झौता शुरु हुनेछ । यसैबीच पुरुष टोलीले अर्को महिना अफ्रिकी राष्ट्र मोरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । माघ १५ र १८ गते हुने खेल दशरथ रंगशालामा खेलाइने एन्फाले जानकारी दिएको छ ।
प्रतिक्रिया