ईपीएलको उपाधिका लागि भोलि चितवन र पोखरा भिड्दै, दुवै टोलीको जित्ने दाबी (भिडियो रिपोर्टसहित)

२२ असोज २०७८ काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल)को उपाधिका लागि भोलि चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे यी दुई टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । खेल अगाडी दुवै टोलीका कप्तानले उपाधिमा दाबेदारी प्रस्तुत गरे ।
जारी प्रतियोगितामा एक खेल मात्र हारेको चितवन उच्च लयमा छ । तैपनि प्रत्येक खेलमा नयाँ रणनीति र योजना अनुसारनै मैदानमा आउने चितवनका कप्तान सोमपाल कामीले बताए ।
पोखराका कप्तान विनोद भण्डारी भने यसपटक अघिल्ला खेलमा भोगेको हारको बदला लिने योजनामा छन् । ओपनिङ जोडीमा केही समस्या भए पनि समग्रमा टोली सन्तुलित रहेको भन्दै उपाधि जित्नेमा उनको विश्वास छ ।
पहिलो पटक फाइनल पुगेका यी दुई टोलीबीच जारी प्रतियोगितामा हुन लागेको यो तेस्रो खेल हो ।
यसअघि, लीग चरण र पहिलो क्वालिफायर्समा भएका दुवै भेटमा चितवन ९ विकेटले विजयी भएको थियो । फाइनलको विजेताले नगद ५० लाख पाउनेछ ।
प्रतिक्रिया