टोकियो ओलम्पिकमा पौडीबाज गौरिका सिंहद्वारा आफ्नै राष्ट्रिय कीर्तिमानमा सुधार

१३ साउन २०७८ काठमाडौं । टोकियो ओलम्पिकमा नेपाली पौडीबाज गौरिका सिंहले आफ्नो राष्ट्रिय कीर्तिमान सुधार गरेकी छन् ।
टोकियो अक्वाटिक्स सेन्टरमा आज भएको महिला एक सय मिटर फ्रिस्टाइलमा एक मिनेट शून्य दशमलव एक एक सेकेण्डमा पुरा गर्दै गौरिकाले कीर्तिमान बनाएकी हुन् । यसअघि गौरिकाले ५० मिटर लङ कोर्समा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा एक मिनेट शून्य दशमलव छ दुई सेकन्डको कीर्तिमान बनाएकी थिइन् ।
उनले नेपालमै भएको १३ औं सागमा ५८ दशमलव १३ सेकेण्डको समय निकालेकी थिइन् । तर त्यो स्पर्धा सर्ट कोर्समा भएको थियो । गौरिका हिटमा तेस्रो भइन् ।
यसअघि हिजो पौडीकै लेक्जेन्डर गाडेगार्ड शाह एलेक्सले पुरुष १ सय मिटर फ्रिस्टाइलमा आफ्नो कीर्तिमान सुधार गरेका थिए । सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी थिईन् ।
टोकियो ओलम्पिकमा अब नेपालका तर्फबाट एथलेटिक्सकी सरस्वती चौधरीको मात्र खेल बाँकी छ । सरस्वतीले महिला १ सय मिटर दौडमा शुक्रबार प्रतिस्पर्धा गर्नेछिन् ।
प्रतिक्रिया