कला/मनोरञ्जन

बलिउडको एउटा युगको अन्त्य : को हुन् चर्चित अभिनेता दिलीप कुमार ?

हिमालय टिभी
२०७८ असार २३ गते १८:२९
बलिउडको एउटा युगको अन्त्य : को हुन् चर्चित अभिनेता दिलीप कुमार ?

२३ असार २०७८ काठमाडौं । बलिउडमा ट्राजेडी किङ्गका रूपमा परिचित दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । दुःखद दृश्यमा उनले गर्ने मार्मिक अभिनयको आधारमा उनलाई ट्राजेडी किङ्ग भन्न थालिएको थियो । उनको निधनसँगै बलिउड फिल्मको एक युग अन्त्य भएको छ ।

लामो समयदेखि बिरामी रहेका दिलीप कुमारको उपचारका क्रममा भारतको मुम्बईस्थित खार हिन्दुजा अस्पतालमा निधन भएको हो । दिलीप कुमारको वास्तविक नाम भने मोहम्मद युसुफ खान हो । बलिउड प्रवेशपछि उनले आफ्नो नाम परिवर्तन गरेर दिलीप कुमार राखेका थिए । र उनी यसै नामबाट चर्चित बने ।

२२ वर्षको उमेरमा चलचित्रमा काम थालेका दिलीप कुमारले करिब पाँच दशकको करियरमा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरे । सन् १९४४ सालमा ज्वारभाटा नामक फिल्ममा मुख्य भूमिका निर्वाह गर्दै उनी बलिउड प्रवेश गरेका थिए । उनको पहिलो फिल्म खासै चर्चामा आएन । तर, उनको कामले भने प्रंशसा पायो । उनले बलिउडमा काम पाइरहे ।

उनले पहिलो फिल्ममा काम गर्दैगर्दा बलिउड फिल्म क्षेत्र भर्खर बामे सर्दै थियो । न धेरै कलाकार थिए, न फिल्म निर्देशक नै । त्यस समय फिल्ममा रूची राख्ने दर्शकको संख्या पनि त्यति धेरै थिएन ।

दिलीप कुमारको जन्म १९२२ डिसेम्बर ११ मा पाकिस्तानको पेसावरस्थित लाला गुलाममा भएको थियो । उनका १२ जना दाजुभाइ तथा दिदीबहिनी छन् । दिलीप कुमारका पिता फलफूल व्यापारी थिए । घर भाडामा लगाएर उनीहरूले जीवन गुजारा गर्थे । सन् १९३० मा दिलीपको पूरै परिवार भारतको मुम्बईमा बसाइ सर्‍यो ।

सन् १९४० मा बुबासँग मतभेद भएपछि दिलीप कुमारले घर छाडेर पुणे पुगे । जहाँ उनले क्यान्टिनका मालिक मोहम्मद शाहलाई भेटे । उनकै सहयोगमा दिलीप कुमारले आर्मी क्लबको अगाडि एक स्यान्डविचको स्टल सञ्चालन गरे । स्टल सञ्चालन गर्ने सम्झौता सकिएपछि आफूले कमाएको पाँच हजार बोकेर दिलीप घर मुम्बई फर्किए । मुम्बई फर्किएर दिलीपले घरखर्चका लागि बुबालाई सहयोग गर्न विभिन्न काम गरे ।

फिल्मी यात्रा
दिलीप कुमारले फिल्म क्षेत्रमा आउने मौका भाग्यले जुराएको हो । सन् १९४३ मा चर्चगेट स्टेसनमा उनको भेट डा. मसानीसँग भयो । जसले उनलाई बम्बई टाकिजमा काम गर्ने प्रस्ताव गरे । त्यसपछि, दिलीपको भेट बम्बई टाकिजकी मालिक देविका रानीसँग भयो । जोसँग उनले वार्षिक १२ सय ५० रूपैयाँ लिएर काम गर्ने सम्झौता गरे ।

त्यहीँ काम गर्दा दिलीपको अभिनेता अशोक कुमारसँग भेट भयो । दिलीपले आफूलाई पनि अभिनयमा रूची भएको भन्दै अशोकलाई अभिनय गरेर देखाए । दिलीपको अभिनय अशोकलाई ठिक लाग्यो ।

शुरुवाती दिनमा दिलीपले कथा तथा स्क्रिप्ट लेख्न सहयोग गर्थे । किनकी, दिलीपमा उर्दु र हिन्दी भाषाको राम्रो ज्ञान थियो । देविका रानीकै आग्रहमा दिलीपले आफ्नो नाम युसुफबाट दिलीप कुमार राखेका हुन् ।

देविका रानी र अशोक कुमारकै सहयोगमा दिलीपले सन् १९४४ मा पहिलो फिल्म ज्वारभाटामा काम गर्ने मौका पाए । फिल्म असफल भए पनि दिलीपले बलिउडमा नयाँ हिरोको परिचय बनाउन सफल भए ।

त्यसपछि दिलीपले जुगनु नामक फिल्ममा काम गरे । जुन फिल्म निकै सफल रह्यो । यस फिल्मपश्चात् दिलीप कुमार रातारात स्टार बने । उनको हातमा धेरै फिल्मको अफर आउन थाल्यो ।

सन् १९४९ मा दिलीपले राज कपुर र नर्गिससँग स्क्रिन शेयर गर्दै अन्दाज फिल्ममा काम गरे । जुन फिल्म त्यस समयमा सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो ।

सन् १९५० को दशक बलिउड फिल्मका लागि उपयोगी समय बन्यो । त्यस समयमा दिलीप कुमारले अभिनय गरेको अधिकांश फिल्म सफल भए । यही बीचमै दिलीपले ट्राजेडी किङ्गको उपमा पाएका हुन् । जोगन, दिदार, दाग जस्ता फिल्ममा काम गरेपछि दिलीपलाई उक्त उपमा दिइएको थियो ।

दाग फिल्मबाट उनले पहिलो पटक फिल्मफेअरमा उत्कृष्ट अभिनेताको अवार्ड हात पार्न सफल भएका थिए ।

दिलीप कुमारले देवदास जस्तो सफल फिल्ममा पनि काम गरे । जुन फिल्ममा बैजयतिमाला र सुचित्रा सेनको पनि मुख्य भूमिका थियो । यस फिल्ममा दिलीपले जँड्याहा प्रेमीको भूमिका न्यायपूर्ण तवरले निर्वाह गरेका थिए । यस फिल्मले झनै उनलाई ट्राजेडी किङ्गका रूपमा परिभाषित गरेको थियो ।

दिलीपले ट्राजेडीबाहेक अन्य हल्का शैलीका फिल्महरूमा पनि काम गरेका छन् । आन र आजादजस्ता फिल्ममा उनले कमेडी भूमिका पनि निर्वाह गरेका छन् ।

५० को दशकमा स्टारका रूपमा स्थापित भएका दिलीपले १९६० मा कोहिनूर फिल्मबाट फिल्मफेअर अवार्ड हात परेका थिए । ६० को दशकमा पनि उनले आफ्नो भाई नासिर खानसँग गंगा जमूना सरस्वती नामक फिल्ममा काम गरेका थिए ।

दुई दशक बलिउड फिल्म क्षेत्रमा राज गरेका दिलीपलाई फिल्मको अफर तब कम भयो, जब अमिताभ बच्चन, राजेश खन्नालगायतका कलाकारले बलिउडमा प्रवेश गरे । ७० को दशकमा भने दिलीपले थोरै फिल्ममा काम गरे । तर, ती फिल्म खासै सफल हुन सकेनन् ।

पाँच बर्ष विश्राम लिएर दिलीपले सन् १९८१ मा मल्टिस्टार फिल्म क्रान्तिमा काम गरे । उक्त फिल्मले दिलीपको धमकेदार कमब्याक गराएको थियो ।

दिलीपको पछिल्लो हिट फिल्म १९९१ मा रिलिज भएको सौदागर थियो । दिलीपले अभिनय गरेको अन्तिम फिल्म भने किला हो । यो फिल्म १९९८ मा रिलिज भएको थियो । त्यसपश्चात् उनले फिल्म क्षेत्रबाट सन्यास लिएका थिए ।

६ दशक लामो फिल्मी करिअरमा दिलीपले धेरै अवार्ड पाए । भारतीय सिनेमाको सबैभन्दा ठूलो सम्मान दादासाहेब पुरस्कारबाट उनी सम्मानित भएका थिए । यसका साथै उनले पद्म विभूषण, पद्म भूषणसमेत प्राप्त गरेका छन् । उनलाई पाकिस्तानको सर्वोच्च नागरिक सम्मानबाट समेत सम्मानित गरिएको थियो । उनी बेस्ट एक्टरको फिल्मफेयर पाउने पहिलो अभिनेता हुन् । उनले ९ फिल्मफेयर अवार्ड जितिसकेका छन् । दिलीप कुमार २००० देखि २००६ सम्म राज्यसभा सांसद पनि भएका थिए ।

एक गरिब परिवारबाट आएका दिलीपले यसबीचमा राम्रो कमाइ गरे र धेरै सम्पत्ति जोडे । त्योभन्दा धेरै उनले नाम कमाए । निरन्तरको मिहिनेत र लगनशीलताले उनलाई सफलता दिलायो । उनको जीवन प्रेरणादायी बन्न पुग्यो ।

उनको निधनसँगै बलिउड क्षेत्र शोकमा डुबेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित कलाकारले उनको निधनमा शोक ब्यक्त गरेका छन् । उनको आजै मुम्बइमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *