नयाँ सरकार गठन आव्हान संविधान फाल्ने षड्यन्त्र भएको विपक्षी दलको आरोप

७ जेठ २०७८ काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो साँझ प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएलगत्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताउनु भएको छ ।
सामाजिक सञ्जालमा वरिष्ठ नेता पौडेलले सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन भए पनि २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको उल्लेख गर्नु भएको छ ।
सम्पूर्ण राजनीतिक दलहरुलाई संविधान जोगाउने प्रयासमा लाग्न पनि पौडेलले अपिल गर्नु भएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नका लागि सुनियोजित रुपमा कदम चालेको प्रतिक्रिया दिनुभएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षडयन्त्र आपत्तिजनक भएको बताउनु भएको छ ।
प्रतिक्रिया