शपथ ग्रहणमा ‘त्यो पर्दैन’ विरुद्ध सर्वोच्चमा रिट निवेदन पेश, पुनः शपथ गराउन माग

२ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द छुटाएकाले फेरि शपथ गराउन अन्तरिम आदेशको माग गर्दै रिट निवेदन पेश भएका हुन् ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, सन्तोष भण्डारीलगायतले छुट्टछुट्टै तीनवटा रिट निवेदन पेश गर्नुभएको हो ।
सबै प्रशासनिक काम सकिए पनि आज समय अभावका कारण निवेदन दर्ता हुन नसकेको ज्ञवालीले जानकारी दिनुभयो । ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री भएका ओलीले प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण गर्न अस्वीकार गर्दै ‘त्यो पर्दैन’ भनेर राष्ट्रपतिलाई निर्देशन दिनुभएको थियो ।
शपथ ग्रहणको क्रममा राष्ट्रपतिलाई निर्देशन दिँदा देश, जनता र संविधानको अपमान भएको जिकिर निवेदकहरुको छ । ओलीले लिएको शपथ पूर्ण नभएकाले उनले पुनः शपथ ग्रहण नगरेसम्म प्रधानमन्त्रीको हैसियतमा कुनै पनि काम नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ।
निवेदकहरुले संघीय संसदको सदस्य नभएका सात जना मन्त्रीलाई पुनः नियुक्त गरिएकोप्रति पनि प्रश्न उठाएका छन्। धारा ७८ अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति अधिकतम ६ महिनासम्म मन्त्री हुन पाउने र त्यो अवधिमा संघीय संसदको सस्यता प्राप्त नगरेमा स्वत पदमुक्त हुने व्यवस्था छ।
तर माओवादीबाट एमाले छिरेका सात जनालाई प्रधानमन्त्री ओली फेरि सोही धाराअनुसार मन्त्री बनाएपछि संवैधानिक प्रश्न उठेको छ।
माओवादीबाट आएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी, दावा तामाङलगायतलाई ओलीले फेरि मन्त्री नियुक्त गरेका छन् । निवेदकहरुले संविधानको ठाडो उल्लंघन भएको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन्।
प्रतिक्रिया