महन्थमार्फत भारतले ओलीको सरकार जोगायो, धेरै टिक्न सक्छः पुरञ्जन आचार्य, विश्लेषक
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलपछि एमाले एक ठाउँमा जस्तै देखिएको छ । यो घटना अपेक्षित थियो कि अनपेक्षित ?
–एमाले एकठाउँमा आउन सक्ने सम्भावनाहरु धेरै थिए, मैले धेरैपटक भन्ने गरेको थिएँ, त्यहाँ एकताको विपक्षमा उभिएको, एक्लै हिँड्न खोज्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुनुहुन्थ्यो । उहाँले अहिलेको अवसरमा सबैलाई पन्छाएर एक्लै हिँड्छु भन्नुभयो । जति सजिलै उहाँले अहिलेको माओवादी केन्द्रलाई पन्छाउनुभयो, त्यति सजिलै उहाँले माधव नेपाल र झलनाथ खनाललाई पन्छाएर एक्लै हिँड्न सक्नु भएन ।
त्यो सेन्टिमेन्ट एमालेमा थिएन । पार्टी अध्यक्ष ओलीजी अलिकति लचिलो, अलिकति एकोमोडिटी हुने बित्तिकै एमाले एकै ठाउँमा आउँछ । एमाले पार्टीभित्र माओवादी नहट्नु स्वभाविकै थियो । तर, एमाले पार्टीभित्र माधव–भलनाथहरुलाई पनि किनारा लगाउनु, यो अस्वभाविक थियो । मैले धेरैपटक भन्दै आएको थिएँ, एमाले पार्टी भनेको एमालेकै हो । हिजोको मालेकै हो । हिजोको मालेको पृष्ठभूमिबाट आएकाहरुलाई पन्छाएर अगाडि बढ्नका लागि बहुत गाह्रो छ । त्यसको रुप त्यसरी बनेकै छैन । त्यसको डीएनए नै अर्कै हो ।
त्यसैले हिजो जे भयो, यो एउटा नेपालको कम्युनिष्ट आन्दोलन जुन अहिले कम्युनिष्ट नै छैन भनौं । र, रियलाइजेशन दुवै पक्षबाट त्यो चाहे प्रधानमन्त्रीको पक्षबाट होस् वा चाहे माधवजीहरुले लिएको केही सकारात्मक स्टेपहरु हुन् । उनीहरु एकठाउँमा आउँदा र यो सरकारले निरन्तरता पाउँदा, त्यो पनि संवैधानिक रुपमा संविधानलाई टेकेर अहिलेको अवस्थामा नेपालमा यसलाई खराब भन्न मिल्दैन । उही नै असल बाटो हो ।
हिजो चार बजेसम्मका लागि अन्तिम समय भनेर अल्टिमेटम दिइएको थियो, त्यसबीचमा प्रधानमन्त्री सहमत हुनुभयो र ओली प्रधानमन्त्री बन्नुभयो । यसमा माधवकुमार नेपाल समूहले उठाएका एजेण्डा त्यो एजेण्डामा जीत हासिल गरेर यो अवस्थामा आयो कि माधव पक्षलाई यो बाध्यता थियो ?
–माधवजीहरुलाई त्यहाँ पुग्नका लागि सबैभन्दा ठुलो सहयोग कांग्रेसले ग-यो । त्यसपछि जनता समाजवादी पार्टीले ग-यो र प्रचण्डजीको पार्टीले ग-यो ।
माधवजीहरुलाई केपी ओलीजीले पार्टीबाट फ्याँकेकै हो । माधवजीले एउटा बोल्ट स्टेप कर्णालीमा लिनुभयो । त्यहाँ फ्लोर क्रस गरेर सरकार टिकाइदिनुभयो । त्यो उदाहरण के थियो भने सबैभन्दा ठुलो झलझली आँखा अगाडि थियो कि प्रधानमन्त्रीको मेरो कुर्सी माधव नेपालसँग निहुँ खोज्दा जान्छ भन्ने कुरा ओलीजीलाई लाग्यो ।
साँच्चिकै फ्लोर क्रस गर्छन् भन्ने डर भइसकेपछि उहाँसँग विकल्पहरु थिएन । फ्लोर क्रस गरेर अगाडि बढ्नका लागि एउटा एलायन्स जस्तो निर्माण भएको थियो । कांग्रेससँग, यता माधव–झलनाथ गुटसँग, प्रचण्डजीसँग बनेको एलायन्सको दबाव प्रधानमन्त्रीलाई प-यो । प्रधानमन्त्री ओलीजी ब्याक हुनुभयो । माधवजी र झलनाथजीहरुलाई पनि के थियो भने अब राजनीति नै गर्दा एउटा ठुलो पार्टी, सिंगो पार्टी, भोलि केपी ओलीजीको रिटायरमेन्टपछि त्यो सिंगो पार्टी आफ्नो काखमा आउँदैछ भने किन बाहिर बसेर अर्को पार्टी निर्माण गर्ने ? माधवजीहरुलाई सहयोग गरिदियो केपी ओलीविरुद्धको एलायन्सले, केपी ओलीजीलाई बाध्य पारिदियो माधवजीहरुको फ्लोर क्रस । फ्लोर क्रस फेरि पनि हुँदा त उहाँको प्रधानमन्त्रीको पद मात्र जाँदैन थियो राजनीति नै समाप्त हुन्थ्यो । शायद उहाँका नजिकका मान्छेहरुले ‘कमरेड यस्तो काम चैं नगरौं, उनीहरु चार जनालाई फुकुवा गरौं, एमाले पार्टी पनि मिलाऔं, मिल्छ पनि । स्पेस उनीहरुलाई पनि दिऔं’ भन्ने सुझाव दिएको हुनुपर्छ । ओलीका राजनीतिक रुपले सोच्ने मान्छेहरुले परफेक्ट मूभ गरे । त्यो परफेक्ट मूभले हिजो काम ग-यो ।
चार बजेसम्मको एउटा समय दिइएको थियो । उता सरकार नयाँ बनाउन राष्ट्रपतिले दिएको समय ९ बजेसम्म थियो । यता कांग्रेसको शेरबहादुर देउवा पनि सरकार बनाउन खासै इच्छुक मानिस पनि होइन अहिले । यो सबै कुरा मिलिरहेका बेलामा स्वतः के थियो भने ओलीजी रनिङ प्रधानमन्त्री उहाँसँग विकल्पहरु थुप्रो हुन्छन् । जस्तो अहिले महन्थ ठाकुर उहाँसँगै गएर टाँसिनु भएको छ । सबैभन्दा घोर विरोधी, नेपालको डेढ दशकको विभिन्न मधेश आन्दोलन, संविधान निर्माणलगायतका सबैभन्दा ठुलो टक्कर परेको भनेकै एमालेभित्रको ओली समूह र मधेसवादी समूहबीच हो । महन्थजीलाई के थाहा छ भने मेरा राजनीतिक एजेण्डाहरु उहाँबाट लागू हुँदैन भन्ने । तै पनि उहाँ किन टाँसिनु भयो भने उहाँलाई पनि दबाव छ ।
हिजो एमाले स्थायी कमिटी बैठकले चार जना नेताको निलम्बन फुकुवा ग¥यो । देख्ने हिसावले माधवकुमार नेपालको यो एउटा एजेण्डा थियो, तर यति मात्र पनि थिएन, २०७५ साल जेठ २ गते जानुपर्छ भन्ने थियो, यो हिसावले माधव नेपाल पक्षको जीत हो कि के हो ? अथवा नेपाल समूहलाई जुन व्यवहार गरिएको थियो फेरि त्यही हुने सम्भावना कत्तिको छ ?
– त्यो सम्भावना छ । ओलीले हिजो गरेको कंक्रिट निर्णय भनेको चार जनालाई फुकुवा गर्नु हो । अरु कुरा बसेर आस्वाशनमा टुंगिएका छन् । साक्षी किनारामा केही मानिसहरु बसेका होलान् । जब ओलीजी कन्सुलेट गर्नुहुन्छ पावर, देखिएको छ त्यो, जब जब उहाँ कमजोर हुनुहुन्छ उहाँ जान्नुहुन्छ आफ्नो सत्ता जोगाउन, अध्यक्ष हुन, वामदेवजीको प्रयोग पनि बडो मज्जाले गर्नु भएको हो नि विगतमा ।
अब अहिले पक्कै पनि त्यहाँभित्र २०७५ साल जेठ २ गतेभन्दा अगाडि पुग्नका लागि कोठाभित्र कुनै न कुनै समझदारी भएको छ । त्यो समझदारी विस्तारै क्रमश अगाडि आउला । त्यसैकारणले माधवजीले बाहिर निस्केर भन्नुभएको छ – वार्ता सकारात्मक मोडमा छ । हामी पूर्व अवस्थामा फर्किन्छौ । त्यसका लागि एउटा राम्रो पहल भयो भनेर । उहाँले चार जनामाथि भएको कारबाही फुकुवामा टेक्नु भएको छ । तर अब त्यस्तो होला र भन्ने शंका त विगतमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीजीको जुन ढंगको कार्यशैली छ, त्यसमा त स्वयम माधवजी पनि विश्वस्त हुनुहुन्न होला ।
तपाईले भनेजस्तै कोठाभित्र भएको सहमति कत्तिको पालना होला भनेर कति विश्वास गर्न सकिन्छ । अहिले एमालेभित्रको विवाद टरेको हो कि सरेको हो ?
–यो सरेको हो । यो विवाद सरेको हो । विवाद टरेको होइन । यो कुरा माधवजीलाई पनि थाहा छ । उहाँसँग पनि विकल्पहरु कम हुँदै गएका थिए । किनभने यतातिर २७ जनाले राजीनामा दिएर अघि बढ्नका लागि पनि उनका पनि सल्लाकाहरुले रोकिराखेका थिए । त्यो पनि संवैधानिक रुपमा राजीनामा दिँदा त्यसको स्टाटस के हुन्छ वा त्यसबाट नयाँ सरकार बन्छ कि बन्दैन त्यो पनि स्पष्ट थिएन । त्यसमा पनि संविधानविदहरुको फरकफरक धारणा आइरहेका थिए । एउटा कुरा के हो भने माधवजी एमाले छोडेर छुट्टै धार बनाउन सक्ने हैसियतको मान्छे होइन ।
तर उहाँका केही नेताहरुले सकेसम्म ओलीसँगको सम्बन्ध विच्छेद नै गर्छौ । सकेसम्म त प्रधानमन्त्री र अध्यक्षबाट समेत हटाउने अभिव्यक्ति दिएका थिए । तर अहिले अब होलीलाई पाखा लगाउन सकिँदै भन्ने निष्कर्षमा पुगेकै हो त नेपाल समूह ?
– पुगेकै हो । कस्तो भयो भने संसद पुनर्स्थापनापछि जसरी अघि बढ्नु पथ्र्यो नेपालको राजनीति या ओलीविरुद्धको एलायन्स जुन ढंगले अघि बढ्नु पथ्र्यो । त्यसमा काँचो कचिलो कुरा भयो । प्रचण्ड र माधवजीहरु धेरै रिल्याक्स फिल भएर अघि बढे । लड्डु खाएर बसे । उनीहरुले जुन स्मार्ट मूभ भनिन्छ राजनीतिमा, जुन टाइममा निर्णय गर्नुपर्ने त्यो सबैमा उनीहरु रिल्याक्स देखिन्छन् । यिनीहरु जति नै रिल्याक्स भए प्रधानमन्त्री एवं केपी शर्मा ओलीजी त्यति नै आक्रमाक ढंगले आउनुभयो । केपीजी यसरी आक्रामक ढंगले आउनु भयो कि अहिले जतिसुकै र जेसुकै भने पनि कम्युनिष्ट पार्टीमा भने पनि देशमा भने पनि विजयभाव त केपी ओलीजकै भयो नि । एलायन्सले पनि हटाउन सकेन, उहाँ फेरि प्रधानमन्त्री हुनुभयो । पार्टी अध्यक्ष हुँदै हुनुहुन्छ । चार जनामाथिको कारबाही फुकुवा गरेको भन्ने कुरा त आम जनताका लागि कुनै सरोकारको विषय नै होइन । उनीहरु चार जनाको मात्र सरोकारको विषय हो ।
आम जनताले त के देखे भने सबै लाग्दा पनि केपी ओलीलाई हटाउन सकेन । त्यो हो पनि सबै लागेकै हो । जसपाको पनि उपेन्द्र र बाबुरामजी त लागेकै हो । माओवादी लागेको, कांगेस लागेकै हो । केपी ओलीजीको आगामी मूभहरु पनि पार्टीभित्र पनि र देशभित्र पनि अझै निरंकुश हुन सक्ने सम्भावना देखिन्छ ।
तपाईले जसरी यो विवाद टरेको होइन, सरेको हो भन्नुभयो । यो सरेको विवाद अब कहिलेसम्म कहाँ पुग्ला ?
–यो गनगन त अझै शुरु हुन्छ । केपी ओलीजी प्रधानमन्त्री बन्नुभयो । अब एक हप्तापछि नै यो शुरु भइहाल्ने छ । फेरि माधवजीको गनगन शुरु हुन्छ, माधवजीले धोका दियो भनेर प्रचण्डजी र नारायणकाजीजीले शुरु गर्नुहुन्छ । जुन एजेण्डा अघि बढेको थियो । आजभन्दा झण्डै एक वर्ष अगाडि केपी ओलीजीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पदबाट हटाउँछौ भन्ने थियो । अहिले त विद्यार्थी आन्दोलन जस्तो भयो । विद्यार्थी आन्दोलन गर्दा हामी कुनै जमानामा हाम्रा साथी छाडिदे भन्ने हुन्थ्यो । आन्दोलनको माग एउटा हुन्थ्यो अन्तिममा गएर हाम्रो साठी छाडिदे भनेजस्तै । अहिले आएर हाम्रो कारबाही फुकुवा गरिदे भन्ने मागमा गएर टुंगिएको छ । यसले माधवजीहरुले आधा आत्मसमर्पण गरेकै हो, उहाँले जेसुकै भने पनि ।
राजनीतिमा उहाँहरुले रिस्क लिन नसकेकै हो । अब त्यो कुरा सबैभन्दा धेरै कस्ले बुझिरहेको हुन्छ भने केपी ओलीजीले बुझिरहनु भएको हो ।
यो आत्मसपर्मण गरेकै हो भने अब यसले एमालेलाई कता लैजान्छ ?
– एमालेमा केही काललाई एकछत्र केपी ओलीकै शासन चल्छ । पार्टीभित्र पनि र सरकारमा पनि । अब नैतिक शक्ति माधवजी, झलनाथजी, भीम रावलजीहरुको समाप्त हुन्छ, पार्टीभित्र टाउको उठाएर कुरा गर्ने । उहाँहरुको हिजोअस्तिसम्म केही ओज थियो । जसरी उहाँहरुले प्रधानमन्त्रीलाई कारबाही फुकुवा गर्न बाध्य पार्नुभयो । उहाँहरु अब यसैमा मात्र सीमित हुनुभयो जस्तो लाग्छ । यो विद्यार्थी आन्दोलनजस्तो भयो मैले भनिसकेँ, त्योभन्दा माथि उठ्नै सकेन । फेरि यस्तो बेलामा कि महामारी छ कोरोनाको ।
त्यसकारण एमालेभित्र एकछत्र रुपमा अहिलेलाई, र यसको असर माओवादीमा पनि पर्छ । माओवादीमा अब प्रचण्डजीको पार्टीबाट पनि केही मानिसहरु केन्द्रबाट त विस्तारै होला, तर जिल्ला, गाउँ र सहरहरुबाट ओलीजीको क्याम्पमा विस्तारै सर्छन् । ओलीजी अझै एक वर्ष प्रधानमन्त्री हुनु भयो भने त्यो सिनारियो विस्तारै देखिनेछ । माधवजीका मानिसहरु पनि अब विस्तारै यता लाग्छन् । कमजोर र आफ्नो कारबाही फुकुवा गर्ने बित्तिकै यता गएर मिलिहाल्नेसँग हामी बस्दैनौं, बरु हाम्री पार्टीको नेता हो केपी ओलीतिरै किन नलाग्ने भन्ने भनोभाव एमाले पार्टीभित्र देशभर दौडिनेछ ।
अहिले त प्रधानमन्त्री उपधारा ३ अनुसार बन्नु भएको छ । र, उहाँले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । यस्तो अवस्थामा विश्वासको मत लिन सक्नु भएन भने फेरि मध्यवधिमा जानुपर्ने भो । यो अवधिमा विश्वासको मत लिएर अब दुई वर्ष सत्तामा रहने सम्भावना कत्तिको देख्नु हुन्छ ?
–मलाई लाग्छ अब जसपा एकढिक्का भएर ओलीजीकै समर्थनमा निस्केपछि उहाँहरुलाई पुगिहाल्छ । एमाले एक भइहाल्यो १२१ उहाँहरुसँगै छ । अब चाहिने १५–२० जना हो । त्यो जसपाबाट जसरी महन्थजी र राजेन्द्रजीले स्ट्यान्ड लिएका छन् त्यो सहज छ । त्यसैले सरकार फेरि धारा ७६ (३) बाट (२) तिर गइहाल्छ । यो अल्पमतको सरकार बहुमतको हुन एक महिना पनि कुर्नुपर्लाजस्तो मलाई लाग्दैन ।
भनेको महन्थजीहरुको समर्थन प्रधानमन्त्री केपी शर्मा ओलीलाई रहन्छ ?
–रहन्छ । त्यो पक्का छ ।
अब यो सरकार दुई वर्ष जाने देखिन्छ त्यसो भए ?
–अब एक वर्ष त स्वतः गइहाल्यो । संविधानमा भएको व्यवस्थाअनुसार एक वर्ष जान्छ । एक वर्षभित्र यो सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्दैन । त्यसै पनि अविश्वासको प्रस्ताव ल्याउने हैसियत सबैले गुमाइसकेका छन् । शेरबहादुर देउवाजीले आफ्नो हैसियत देखाइसक्नु भएको छ । पार्टीभित्र आन्तरिक लडाइँ लड्नेहरुले पनि आफ्नो हैसियत देखाइसकेका छन् । प्रचण्डजीले पनि आफ्नो हैसियत देखाइसकेका छन् ।
त्यसकारण अबको एक डेढ वर्ष त एकछत्र रुपमा अघि बढ्छ । मलाई लाग्छ केपी ओलीजीले यतिबेला राजनीति जित्नु भएको छ, देशभित्रको र पार्टीभित्रको पनि । अब बाँकी कार्यकाल उहाँको हुँदा अचम्म नमाने हुन्छ ।
जसपाको महन्थ ठाकुर समूह यसअघि तटस्थ बस्यो, अहिले पनि सरकार प्राथमिकता होइन भन्यो । अब सरकारलाई विश्वासको मत दिने र सरकारमा जानु कति नैतिक होला ?
–नैतिकता र राजनीतिकताको कुरा यतिबेला नगरौं । तर जसपा जुन अहिले छ त्यो एकढिक्का भएर बस्छ । त्यसमा केही व्यक्तिगत रुपमा बाबुराम र उपेन्द्रजीहरुले केही गर्नु होला, त्यो पनि खासै महत्व राख्दैन । एकढिक्का ओलीको पछि लाग्छ । जाने सत्तामा नै हो । त्यसमा कुनै शंका नै छैन । किनभने संविधान संशोधन गर्न दुई तिहाई चाहिन्छ, त्यसका लागि कांग्रेस र माओवादी तयार नै हुँदैनन् अहिले । महन्थजी यस्तो खेलाडी, त्यसमा पनि हिस्ट्रीको टिचरलाई मैले के सम्झाइरहनुपर्छ । उहाँलाई पनि थाहा छ, उहाँको माग जुन संविधान संशोधन गरेर सम्बोधन गर्नुपर्छ त्यो हुन सक्ने सम्भावना नै छैन । उहाँ जतिसुकै कराए पनि त्यो हुन सक्दैन । हिजो दुई तिहाई हुँदा त ओलीजीले नगरेको होइन र । बाहिर बसेर भए पनि भित्र बसेर भए पनि जसपाले समर्थन नै गरेको हो नि । उपेन्द्रजी उपप्रधानमन्त्री नै हुनुहुन्थ्यो । हिजोका दिनमा दुई तिहाइभन्दा बढी बढी हुँदा त ओलीजीले उहाँहरुलाई थाङ्नामा सुताएकै हो । अहिले त उहाँसँग त्यो शक्ति पनि छैन, त्यो सामथ्र्य पनि छैन ।
जसपाकै बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीजीलाई हटाउनैपर्छ भनिरहनु भएको थियो, त्यो अहिले हुन सकेन । यस्तो अवस्थामा अब सिंगो जसपाले ओलीलाई समर्थन गर्छ त्यसो भए ?
–गर्छ, त्यसमा शंका नगर्दा हुन्छ । मलाई लाग्दैन, व्यक्तिगत रुपमा अनुपस्थित हुने कुरा अलग्गै होला, असहमति पनि राख्न सक्नु हुन्छ उपेन्द्र र बाबुरामजीले । तर जसपाको जुन ३१ सिट छ त्यसमा २५–२६ जना सरकारको समर्थनमा जान्छन्, मन्त्रिमण्डलमा जान्छन् । थारु आन्दोलनमा जेलमा रहेकाहरु रिहा होलान् । मूलतः संविधान संशोधनको कुनै सम्भावना छैन ।
जसपा अध्यक्ष महन्थ ठाकुरलाई ओलीसँग टाँसिनैपर्ने बाध्यता कसरी आइलागेजस्तो लाग्छ ?
–महन्थजीलाई लाग्यो, अहिले कमजोर भइरहेका ओलीलाई दबाव दिएपछि हाम्रा एजेण्डाहरु, बन्दी रिहा गराउने कुरा सजिलै पूरा हुन्छ । ओलीजीलाई जब माओवादीले पनि छाड्यो, जब एमालेभित्र पनि फुट हुन लाग्यो, कांग्रेसले पनि समर्थन गर्दिनँ भन्यो । तब उहाँले एमाले एकढिक्का राख्छु र जसपाको समर्थनले सरकार टिकाउँछु भन्ने थियो । त्यो बाध्यकारी परिस्थितिमा महन्थजीसँगै थुप्रै दबाव दिन सक्ने क्षमता थियो र त्यो दबाव दिनुभयो ।
पहिलो कारण उहाँले आफ्नो स्वार्थ हेर्नुभयो । दोस्रो कम्युनिष्ट आन्दोलनलाई फुटाउनका लागि योबीचमा कोठाभित्र बसेर मात्र होइन, बाहिर बसेर पनि नेपालको भूराजनीति हेर्ने मानिसहरुले के बुझिराखेका छौं भने नेपालको कम्युनिष्ट पार्टी जुन फुट्यो त्यो भारतको पक्षमा लागेर ओलीजीले फुटाउनु भएको हो, त्यसमा शंका छैन ।
उहाँको राष्ट्रवादमा कहाँनिर आएर प्रश्नचिन्ह खडा हुन्छ , भारतले कम्युनिष्ट पार्टीलाई फुटाइसकेपछि कम्तीमा पनि म तिमीलाई केही कालका लागि संरक्षण गर्छु, तिम्रो सरकार ढल्न दिन्न भन्ने आश्वासन दिएको छ । त्यो आश्वासनको भरमा, त्यो आश्वासन कसरी पूरा गर्ने, कांग्रेस त भारतको गोटी हुन तयार भएन । प्रचण्डजी पनि त्यहाँबाट निस्कनुभयो । भनेपछि भारतसँग थुप्रै कुरा मिलिरहेको र भारतलाई हिजो उसले जुन एजेण्डा लिएर नेपालको संविधान बन्दा जुन त्यहाँको प्रधानमन्त्रीको सल्लाहकार नेपाल आएका थिए । जो अहिले त्यहाँका परराष्ट्रमन्त्री छन्, उनले आफू आएको औचित्य सावित गर्दैछन् । त्यसका लागि त्यही मानिस जो हिजो सबैभन्दा बढी भारतविरोधी थियो, त्यसैको काखमा लगेर भारतको पक्षधर भनिने महन्थ ठाकुर र राजेन्द्र महतो कम्पनीलाई लगेर काखमा राखिदिएका छन् ।
नेपालमा सरकार गठन वा विघटन हुँदा जसरी विदेशी चलखेल हुन्छ भनिन्छ त्यसमा पनि विशेषगरी भारतको भूमिका । अहिले पनि भारतले त्यो भूमिका खेलेकै हो ? त्यसकै लागि भारतले महन्थ ठाकुर र ओलीलाई एकसाथ उभ्याएको भन्न खोज्नु भएको हो ?
– त्यसमा त शंकै भएन नि । तपाई हेर्नुस् त पोलिटिकल न्यारोटिभ यसरी विकास भयो नि । कहाँ कहाँबाट विकास भयो भने कम्युनिष्ट पार्टीको एकतामा चीन खुलेरै लाग्यो । कम्युनिष्ट पार्टीको सरकार बनाउनका लागि चीन खुलेरै लाग्यो । यो पार्टी फुट्दा यहाँको राजदूत मात्र होइन, कोरोनाकालमा पनि चीनबाट उच्चस्तरीय टोली नै आयो । तर त्यो सबै प्रकरणमा कम्युनिष्ट पार्टी एक हुन सकेन । आफ्नो प्रयास असफल भएपछि चीन पुरै पछि हट्यो । चीन पछि हट्दाहट्दै प्रधानमन्त्रीलाई आफ्नो सत्ता टिकाउनका लागि अर्को छिमेकीको आवश्यकता प¥यो । त्यो भनेको भारत हो । भारतले नेपालजस्तो देश जहाँ उसको थुप्रै कुराहरु राजनीति, सामाजिक सांस्कृतिक सम्बन्ध छ, फेरि एकदम फ्रन्टलाइनमा बस्न पर्छ चीनसँगको । भारतले पनि के बुझ्छ भने स्वभाविक रुपमा चीनबाट छुट्टिएका ओलीजी यति ठुलो पार्टी जसको अध्यक्ष हुनुहुन्छ इन्गेज हुनुबाहेक के विकल्प हुन सक्छ ।
भारतले के ग-यो एक त कम्युनिष्ट पार्टी फुटिरहेकोमा भारतका लागि खुसीको कुरा भो, किनभने बलियो कम्युनिष्ट पार्टी चाहिँ चीनको नजरमा आवश्यकता हो । निर्माणमा उसैले सहयोग पनि गरेको हो । त्यो पार्टी फुट्ने संघारमा पुग्यो र फुट्यो । त्यो फुट्ने क्रममै भारतबाट त्यस्तो बेलामा पनि चार्टर्ड प्लेन लिएर सुटुक्क, ओपनली उच्च तहका गतिविधिहरु नेपालमा भए । अहिलेको प्रधानमन्त्रीसँग इन्गेज हुनुपर्ने अवस्था आयो ।
यसको मतलव नेपालमा भारतीय हस्तक्षेपका सामू चीनको हस्तक्षेप निरीह देखिएको हो ?
–चिनियाँहरुको नेपालमा माथिल्लो तहमा मात्रै सम्बन्ध थियो । पहिला राजाहरुसँगै सम्बन्ध सीमित थियो । उनीहरुले नेपालको विकासमा सहयोग गरेका छन् । उनीहरुले नेपाललाई माया गरेका छन् होला । तर उनीहरुले कहिले पनि नेपाली समाजमा घुलन भएका छैनन् । जस्तो भारतमा भएको छ । भारतको हरेक जसो प्रान्तसँग नेपालको आफ्नै खाले सम्बन्ध छ, जस्तै बिहार बंगाल, युपी । लाखौ नेपालीहरु भारतमा छन् । त्यो सबै सम्बन्धहरुको आयम नै अर्कै छ । चिनियाँहरुसँगले जुन ढंगको सम्बन्ध नेपालको राजतन्त्रसँग राख्न खोज्यो, त्यही सम्बन्ध कम्युनिष्ट पार्टीसँग गहिरो बनाउन खोजेको हो । तर त्यो कम्युनिष्ट पार्टीमा त्यो खाले चिनियाँभन्दा पनि बढी भारतीय रहेछन् ।
केपी शर्मा ओलीलाई जसरी राष्ट्रवादी छविको भनिन्थ्यो र भनिन्छ अहिले यसरी सिधै गठबन्धन गरियो भने त अब ओलीको राष्ट्रवादलाई कसरी बुझ्ने ?
उहाँको राष्ट्रवाद त नक्कली थियो नि । यहाँ राष्ट्रवादका नाममा कराएर नेपाली जनतालाई उल्लु बनाउने काम त नेताहरुले एकपटक होइन, पटकपटक गरेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनको भावधारा नै त्यही हो । राष्ट्रिय धारा नै के हो भने एउटा उग्र राष्ट्रवादको कुरा गर्ने अनि जस्को विरुद्ध कुरा ग¥यो त्यसैसँग गएर समर्पण गर्ने । हिजो पनि त्यही थियो अहिले पनि त्यही हो । अहिले पनि तपाई हामीले माने पनि नमाने पनि क्लियर कट के देखिन्छ भने भारतले ओलीजीको सरकार महन्थजीमार्फत जोगायो । यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन । त्यसको पछाडिका अरु कारण होला । भारतका पनि स्वार्थ होलान् । वैकल्पिक सरकारको नेतृत्व गर्ने मानिसहरु पनि क्रेडिबल भएनन् भन्ने होला । अथवा शेरबहादुरजी, प्रचण्डजी वा महन्थजीभन्दा केपी ओलीसँगै इन्गेज हुँदा भारतले आफ्नो हित देखेको छ । फेरि भारतले बल्लबल्ल एउटा मित्र पाएको छ, कम्युनिष्ट पार्टीभित्र सशक्त, हिजो महाकाली सन्धीदेखिको मित्रता हो यो । बीचमा पो अलिअलि गडबड भएको हो त ।
त्यसो भए ओलीले भारतको सत्तासँग नेपालको सत्ता डिल गरिरहनु भएको हो ?
–त्यसरी त म भन्दिनँ । नेपालको सत्तामा भारतको भूमिका प्रशस्तै हुन्छ । त्यसमा शंकै छैन । त्यसलाई नेपाल अनुकुल बनाउनका लागिपरेका छन् कि आफ्नो सत्ताका लागि मात्र अनुकुल बनाउन लागेका छन् मूल प्रश्न त्यो हो । हामीले जतिसुकै भारतलाई गाली गरे पनि भारतबाट भ्याक्सिन नआइकन हुँदैन, अक्सिजन सिलिण्डर त्यहीबाट चाहियो । यो नाकाबन्दी हुँदा भारतलाई गाली ग¥यौं । नाकाबन्दी खुल्ने बित्तिकै नेपालको सम्पूर्ण सामग्रीहरु वस्तु, सेवा ८०–८५ प्रतिशत भारतबाट नआई भएन । त्यो अवस्था त अहिले पनि छ ।
भारतसँग गाली गरेर सम्बन्ध बिगार्ने पनि होइन, भारतसँग समर्पण गरेर नेपालको अस्मितामाथि नै प्रश्नचिन्ह उठाउने होइन । ठुलो छिमेकी हो । त्यहाँ धेरै सम्भावनाहरु छ, त्यो सम्बन्ध राख्दै अघि बढ्ने हो । चीनसँग पनि त्यही हो । तर दुर्भाग्य नेपालको कम्युनिष्ट आन्दोलन नै भन्छु, कम्युनिष्ट आन्दोलनले भारतलाई गाली गरेर चीनलाई रिझाउने, चीनलाई गाली गरेर भारतलाई रिझाउने गरेको छ ।
प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत पाउनु भएन भने मध्यवधि निर्वाचनमा जाने सम्भावना कत्तिको छ ? र त्यो चुनावका लागि प्रधानमन्त्री कत्तिको तयारी अवस्थामा देखिनु हुन्छ ?
–महन्थजी र ओलीजीको एलायन्स लामो जान सक्ने सम्भावना छ । कोरोनाको संक्रमण केही कम भयो भने यी दुवैको इच्छा निर्वाचनमै जाने छ । ओलीजी अस्ति आफ्नो विघटनलाई सदर गर्नका लागि पनि फेरि पनि चुनावमै जान खोज्दै हुनुहुन्छ । त्यसैले चुनावी सम्भावना त्यत्तिकै छ । चुनावको सम्भावना सकिएको छैन । खाली चुनावलाई कोरोना महामारीले कुन ढंगको असर गर्छ । कोरोनाको प्रकोपमा चुनाव हुन सक्दैन । कोरोना महामारी कम भयो, भ्याक्सिनेटेड भयो भने चुनाव हुन सक्छ ।
अबको सात महिनाभित्र चुनाव हुन पनि सक्छ ?
–हुने त अब चुनाव नै हो । अलिकति मात्रै पनि कोरोना नियन्त्रण हुन सक्यो भने हुने त चुनाव नै हो । महन्थजी पनि ओली र भारत तीनै पक्ष चुनाव चाहन्छन् । अहिलेको यो सरल रेखामा तीन पक्ष छन् । भारतलाई पनि चुनाव नै चाहिएको छ । यो साइजको कम्युनिष्ट उसलाई स्वीकार्य छैन । कुनै बेला मिल्छन् कि भन्ने डर पनि छ । अहिले नेपाल र खनाल आएर मिल्नुभयो, प्रचण्डजी आउनु हुन्न भन्ने के ग्यारेन्टी छ र ?
अब यो सबै व्यवस्थापनको जिम्मा ओलीजीको हातमा मात्रै पनि रहेन । महन्थजीको त्यहाँ प्रवेशसँगै भोलि दिनहरुमा धेरै ठुला गेमहरु हुन्छन्, त्यो संसारभर चलिरहेकै छ ।
कांग्रेसले पनि सरकार बनाउन चाहेन भन्नुभयो, किन कांग्रेस सुस्त भयो कि उसको चाहना पनि चुनाव नै भएर हो ?
–कांग्रेस त संसद विघटन हुँदै चुनावमा गइसकेको थियो । कांग्रेसको संस्थापन पक्ष शेरबहादुर देउवाजी पक्षधर त चुनावमै जानुपर्छ भन्नेमा थियो । गाउँगाउँमा गएर कार्यक्रम गरेकै चुनावकै लागि हो । देउवाजीलाई लागेको छ आफ्नो गुमेको प्रतिष्ठा स्थापित गर्न फुटेको कम्युनिष्ट भएको बेलामा स्थापित गर्न ।
प्रधानमन्त्रीले संविधान मिचेको कुरा कहाँ गर्नु भयो र ? उहाँ त चुनावमै जान लाग्नुभयो नि । कांग्रेसको एउटा धारले निरन्तर दबाव दिएकाले त्यसको प्रभावमा त्यतिबेला चुनाव ट¥यो । अहिले फेरि चुनाव हुन्छ र जान्छु भन्दा त शेरबहादुरजीलाई त उहाँको आफ्नो परसेप्सन के छ भने फुटेको कम्युनिष्ट हुँदा लडेको चुनाव म मेरो नेतृत्वमा कांग्रेसलाई फेरि रिभाइब गराउछु भन्ने उहाँलाई लागेको छ ।
अन्तिममा अब प्रधानमन्त्री ओलीसामू देखिएका चुनौतिहरु के होलान् ?
–सबैभन्दा ठुलो चुनौति भनेको उहाँले जित्नुभयो सत्ता । उहाँले अहिले पनि नागरिकको मन जित्नु भएको छैन । नागरिक अहिले पनि सबैभन्दा धेरै सरकारसँग पुरै असन्तुष्ट छ । त्यसको पछाडिको मूल कारण यही कोरोना नै हो । कोरोनालाई जसरी उहाँले मिस ह्याण्डलिङ गर्नुभयो । अहिले संक्रमण र मृत्युदर संसारकै सबैभन्दा धेरै नेपालमै छ । त्यो ओलीजकै कार्यकालमा भएको छ । उहाँले सत्ताको अंक गणित पनि जित्नु भएको छ, अरु पार्टीलाई पनि थन्कोमा राख्नु भएको छ, तर जनताको मत जित्ने कुनै कुरा जित्नु भएको छैन ।
प्रतिक्रिया