आईपीएलमा राजस्थानको पहिलो जित, दिल्ली ३ विकेटले पराजित

३ वैशाख २०७८ नयाँ दिल्ली । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टीट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ ।
आईपीएल अन्तर्गत गएराति आफ्नो दोस्रो खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएको हो । १ सय ४८ रनको मध्यम लक्ष्य राजस्थानले खेल सकिन २ बल अगावै ७ विकेट गुमाएर भेट्टाएको थियो ।
उसका लागि डेविड मिलरले ६२ रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै क्रिस मोरिस ३६ रनमा अविजित रहँदा राहुल टिवेटियाले १९ रन बनाए । दिल्लीका अवेश खानले तीन तथा क्रिस ओक्स र काशिगो रबाडाले समान २–२ विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ४७ रन बनाएको थियो । दिल्लीका तर्फबाट कप्तान ऋषभ पन्तले सबैभन्दा धेरै ५१ रन बनाए ।
त्यस्तै टम करन २१ तथा ललित यादव २० रनमा पेभेलिएन फर्के । बलिङ्तर्फ राजस्थानका जयदेव उनधकटले ३ र मुस्तफिजुर रहमानले २ विकेट हात पारे ।
राजस्थान आफ्नो पहिलो खेलमा पञ्जाब किंग्ससँग ४ रनले पराजित भएको थियो भने दिल्लीले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ७ विकेटले स्तब्ध बनाएको थियो ।
प्रतियोगिता अन्तर्गत आज मुम्बईमा पञ्जाब किंग्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया