साझा यातायातद्वारा विद्युतीय बस खरिदका लागि टेन्डर आव्हान

१३ चैत २०७७ काठमाडौं । साझा यातायातले विद्युतीय बस किन्ने गरी टेन्डर आह्वान गरेको छ ।
आज बोलपत्र आह्वान गर्दै साझा यातायातले ४० वटा बस किन्न प्रक्रिया अघि बढाएको हो । साझाले यही टेन्डरबाट थप २० प्रतिशत रकम खर्चेर ४८ वटासम्म बस ल्याउन सक्नेछ ।
साझा यातायात सहकारीका अनुसार सरकारले दिएको न्युनतम् मापदण्डको आधारमा रहेर भौतिक पूर्वाधार मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, यातायात व्यवस्था विभागका प्रतिनिधि र विज्ञ सम्मिलित टोलीले स्पेसिफिकेसनलाई अन्तिम रुप दिएको थियो ।
साझाको सञ्चालक समितिले सो स्पेसिफिकसेन पास गरेपछि टेन्डर आह्वान भएको हो । सरकारले साझालाई फेरि विश्वास गरेर ३ अर्ब रकम फर्काएकाले विगतकै योजना अनुरुप स्वच्छ र पारदर्शी रुपमा विद्युतीय बस किन्न र सञ्चालन गर्न प्रक्रिया अघि बढेको साझा सहकारीले जनाएको छ ।
साझाले पहिलो चरणमा ९ मिटर लामो बस किन्ने गरी टेडर आह्वान गरेको हो । यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने तयारी गरिएको छ । यो टेन्डरमार्फत २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बस काठमाडौंमा आउनेछन् ।
यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि हुनेछन् । सरकारले ९ पुस ०७५ मा ३ सय वटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारकै बहुमत सेयर रहेको साझा यातायात सहकारीसँग अहिले ७१ वटा ठूला बस छन् ।
प्रतिक्रिया