समाज

के कारणले बढ्यो उपत्यकामा वायु प्रदुषण ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २२ गते १८:२०
के कारणले बढ्यो उपत्यकामा वायु प्रदुषण ? (भिडियोसहित)

२२ पुस, काठमाडौं ।  हिजो र अस्ति काठमाडौं उपत्यकामा अत्यधिक वायू प्रदुषण देखिएको छ । प्रदुषण बढेका कारण नागरिकको स्वास्थ्यमा असर गर्ने भन्दै सरकारले समेत सावधान रहन आग्रह गर्‍यो । उपत्यकामा वायु प्रदुषण किन बढ्यो त ?

काठमाडौं उपत्यकामा वायु प्रदुषणको मात्रा बढेसँगै नागरिकले आँखा पिरो भएको, सास फेर्न गाह्रो भएको अनुभव गरे । वायु प्रदुषणलाई नै मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालय लगायतका निकायले सावधानी अपनाउन अपिल गरे । बालबालिका, वृद्ध , वृद्धा, श्वास प्रश्वास, मुटुमा समस्या भएका व्यक्तिलाई यसले असर गर्ने भएकाले जोखिम समुहलाई घर बाहिर ननिस्कन अनुरोध समेत गरियो । वायु मण्डलमा मसिना धुलोका कणको मात्रा बढि भएसँगै यो अवस्था आयो । वर्षेनी चिसो मौसममा वायुमण्डल प्रदुषण हुने भए पनि सन् २०१६ यता सोमबार र मंगलबार हावामा देखिएको प्रदुषण अत्यधिक भयो ।

यसरी हावामा बदलाव आउनुको मूख्य कारण भने हाम्रै गतिविधि हो । हामीले जलाउने फोहोर, विभिन्न कलकारखाना र सवारी साधनबाट निस्किएको धुवाँ, हरियाली विनासले वायु प्रदुषण भएको हो । हावामा प्रदुषणको मात्रा बढ्दा वातावरणविद निक्कै चिन्तित छन ।

वायु प्रदुषणलाई ख्याल गर्दै काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर कार्ययोजना २०७६ समेत बन्यो । जसमा सवारी साधनबाट हुने उत्सर्जन १ वर्ष भित्र नियन्त्रण गर्ने, पैदल यात्रा र साइकल मैत्री सहर १ वर्ष भित्र बनाउने, अस्पताल जन्य फोहोर मैलाको व्यवस्थापन गर्ने, निजी घरहरुमा हरियाली प्रवद्धन कार्यक्रम सञ्चालन गर्ने लगायतका महत्वकांक्षी योजना छन् । तर योजना भने कार्यान्वयन भएका छैनन् ।

हावा विना बाच्न सकिन्न, तर हामीले लिने हावा दुषित र विषाक्त बन्दैछ। जस्ले हाम्रो स्वास्थ्यमा असर गरिरहेको छ । हावा स्वच्छ बनाउने क्रियाकलापमा हाम्रो सक्रियता नबढ्ने हो भने हावाले नै हाम्रो ज्यान लिने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्