लिगलिगे साइकल दौड फागुन ७ गते

१९ पुस २०७७ काठमाडौं । लिगलिगकोटको इतिहास तथा मौलिक संस्कृतिको जगेर्ना, वातावरणमैत्री साइकल संस्कारको विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रथम ‘लिगलिगे साइकल दौड’ प्रतियोगिताको आयोजना हुने भएको छ ।
लिगलिग भिलेज स्पोर्ट्सले गोरखाको पालुङटार नगरपालिका २ लिगलिगकोटमा प्रथम माउन्टेन बाइक क्रस कन्ट्री म्याराथन ‘लिगलिगे साइकल दौड’ प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
नेपाल साइक्लिङ संघको राष्ट्रिय नियम अनुसार उक्त प्रतियोगिता फागुन ७ गते संचालन गरिने आयोजक संस्थाका अध्यक्ष संजीव रानामगरले बताए ।
फागुन ७ गते संचालन हुने प्रतियोगितामा महिला र पुरुष दुबै विधा समावेश गरिनेछ । उक्त प्रतियोगिता लिगलिगकोटदेखि शुरु भई आँपपिपल, हर्मीभञ्ज्याङ, बयापानी, मुकुनडाडाँ, रिपगाउँ, आँपपिपल अस्पताल, पाथीभरा, मिर्दीखोला, भण्डारथोक, ओख्लेपुल, गरमबेशी, चेपे दोभान, हवाई ग्राउण्ड, तालपोखरी, कालामाटा राधाकृष्ण मन्दिर, नगरपालिकाको कार्यालय, बाह्रपिर्के, हात्तीगौडा, लुईटेल, बडडाडाँ, मैबल र खोल्लीगाउँ हुदै लिगलिगकोटमै पुगि सम्पन्न हुनेछ।
प्रतियोगिताको उपाधि विजेताले २५ हजार नगद प्राप्त गर्नेछन् । दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई २० हजार नगद पुरस्कार दिइनेछ । दशौं स्थानसम्मका खेलाडीलाई नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।
प्रतिक्रिया