नेकपा वाग्मती प्रदेश संसदीय दलबाट पौडेललाई हटाइयो, शाक्य नयाँ नेता चयन

१५ पुस २०७७ काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई संसदीय दलको नेताबाट हटाएको छ।
आज पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले पौडेललाई दलको नेताबाट हटाएर अष्टलक्ष्मी शाक्यलाई नयाँ नेता बनाएको छ ।
यसअघि संसदीय दलको यही पुस ९ गते बसेको बैठकले दलको नेताबाट पौडेललाई हटाइ शाक्यलाई नयाँ नेता सिफारिस गरेको थियो। यही निर्णय बमोजिम १० गते मुख्यमन्त्रीविरुद्ध नेकपाका ४५ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरी नयाँ मुख्यमन्त्रीमा शाक्यलाई अघि सारेका थिए ।
मंगलबार मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र प्रमुख सचेतक बुद्धिमान माझीलाई पदबाट हटाउनुभएको थियो । त्यसको अर्को दिन प्रचण्ड नेपाल समूहले शाक्यलाई नेता चयन गरेको हो ।
अब मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित गर्न एक ढिक्का भएर अगाडि बढ्ने प्रचण्ड नेपाल समूहले बताएको छ । त्यसका लागि अरु दलसँग पनि छलफल गर्ने प्रचण्ड नेपाल समूहको तयारी छ ।
प्रतिक्रिया