सुदूरपश्चिम प्रदेश सरकारको खर्च र आम्दानी बढ्यो

१० मंसिर, २०७७, सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारको खर्च र आम्दानी बढेको छ । प्रदेश सरकारले पोहोरको तुलनामा यो आर्थिक वर्षको पहिलो चौमासिकमा चालु तथा पूँजीगत दुवै खर्च बढेको जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकको खर्च तथा राजस्व संकलन विवरण सार्वजनिक गर्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले चालुतर्फ १ दशमलव २५ र पूँजीगततर्फ २ दशमलव ४१ प्रतिशतले खर्च बढी भएको बताउनुभयो ।
प्रदेश सरकारले पहिलो चौमासिकमा कुल बजेटको ६ दशमलव २९ प्रतिशत अर्थात् २ अर्व ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ ।
यस्तै राजस्वतर्फ पनि गत वर्ष भन्दा प्रगति भएको मन्त्री बोहोराले बताउनुभयो । चालु आर्थिक वर्षमा ७६ करोड ७० लाख ३० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा पहिलो चौमासिकमै ४५ दशमलव ९३ प्रतिशत अर्थात् ३१ करोड ९ लाख ६६ हजार राजस्व संकलन भएको छ ।
प्रदेश सरकारले गत आर्थिक वर्षको पहिलो चौमासिकमा ३२ दशमलव १२ प्रतिशत राजस्व संकलन गरेको थियो । तर यसवर्ष गत वर्षको पहिलो चौमासिकको तुलनामा ६४ दशमलव ४५ प्रतिशतले बढी राजस्व संकलन भएको छ ।
प्रतिक्रिया