बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमाथि १ करोड २८ लाख भ्रष्टाचारको मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डाक्टर राजकुमार रौनियारविरुद्ध १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
होस्टल र फार्मेसी भवन निर्माण गर्दा ठेकदारसँग पटक(पटक गरी १ करोड २८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
रौनियारले होस्टल र फार्मेसी भवन ठेक्कामा लिने श्यामसुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्र्याक्टर गिना कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन विलको भुक्तानी दिँदा पटक(पटक कमिसन बापत घुस लिएको अडियो तथा भिडियोसहित अख्तियारमा उजुरी परेको थियो ।
त्यस्तै, भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि ठेकदार कम्पनीका झालाई बोलाई ८ लाख रुपैयाँ घुस मागेको सूचना पाएपछि अख्तियार टोलीले रौनियार र प्रतिष्ठानमै कार्यरत उनका भतिज डाक्टर रामहरि रौनियारलाई घुससहित पक्राउ गरेको थियो ।
अख्तियारले रामहरिविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया