समाज

दाउरा र गुइठाको प्रयोग कम नहुँदा दीर्घ रोगका समस्या देखिने जोखिम (भिडियो रिपोर्टसहित)

२०७९ असार १९ गते १६:५६
दाउरा र गुइठाको प्रयोग कम नहुँदा दीर्घ रोगका समस्या देखिने जोखिम (भिडियो रिपोर्टसहित)

१९ असार २०७९ महोत्तरी । शहरी क्षेत्रमा खाना पकाउन ग्याँस, हिटर, इन्डक्सनको प्रयोग बढ्दोछ । तर, ग्रामीण भेगमा अझै पनि दाउरा र गुइठा प्रयोग गरी खाना पकाउने गरिन्छ ।

दाउरा र गुइठाको प्रयोग कम नहुँदा ग्रामीण क्षेत्रका महिला तथा बालबालिकामा दीर्घ रोगका समस्या देखिने जोखिम बढेको छ ।

महोत्तरीको लिला पासवानले गुइठा र दाउरामा खाना बनाउन थालेको वर्षौं भैसक्यो । खाना बनाउँदा घरभरी धुवाँ फैलन्छ जस्ले गर्दा उहाँलाई निशासिएको जस्तो हुन्छ । लीलालाई धुवाँकै कारण बेलाबेलामा खोकी लाग्ने, छाती दुख्ने समस्या छ ।

लिला मात्रै होइन, तराईका अधिकांश स्थानमा गोबरबाट बनेको गुइठा र दाउरा नै खाना बनाउन प्रयोग गरिन्छ । गुइठा र दाउराबाट निस्कने धुवाँमा स्वास्थ्यका लागि हानिकारक तत्व कार्वनमनोअक्साईड, नाइट्रोजन अक्साइड लगायतका ग्यास निस्कन्छन् । जुन ग्यासहरु क्यान्सर लगायत अन्य दीर्घ रोगको कारक हो । यसको प्रत्यक्ष असर महिला तथा बालबालिकामा देखिने चिकित्सकको भनाइछ ।

चिकित्सकका अनुसार जस्ले जति धेरै धुवाँमा बसेर खाना बनाउँछ, उस्लाई दीर्घ रोग लाग्ने सम्भावना उत्तिकै बढी हुन्छ । त्यसैले दाउरा, गुइठाको विकल्पमा ग्याँस चुलो, विद्युतीय सामग्री प्रयोग गरी खाना पकाउन चिकित्सकको सुझाव छ ।

आर्थिक अभावका कारण ग्याँस चुलो किन्ने, विद्युतीय सामग्री प्रयोग गरी खाना बनाउने अवस्था सबैको छैन । जस्ले गर्दा दाउरा र गुइठामा धुवाँमा खाना बनाउनु पर्ने बाध्यता छ । धुवाँले गर्ने असरको बारेमा जानकारी नपाउँदा पनि वर्षौदेखि गुइठा र दाउराको प्रयोग भैरहेको छ ।

यस कुरालाई मध्ये नजर गर्दै धुवाँले स्वास्थ्यमा पार्ने प्रभावको विषयमा जनचेतना फैलाउनु र दाउरा र गुइठाको विकल्पमा ग्याँस चुलो, इिन्डक्सन चुलो, हिटर लगायतको प्रयोगमा सहुलियत दिन सरकारले योजना सार्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *