Main News

मलेसिया रोजगारी ठगी : अनुसन्धानमा सरकार चयनमुखी भएको आरोप

हिमालय टिभी
२०८३ मंसिर १३ गते २०:०६
मलेसिया रोजगारी ठगी : अनुसन्धानमा सरकार चयनमुखी भएको आरोप

काठमाडौं : नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा अर्बौं असुलेर मलेसिया पठाउने खेलमा मन्त्रीदेखि सचिवसम्मकै संलग्नता देखिएको छ । २ पूर्वमन्त्री, पूर्वमुख्यसचिव सहितका उच्च अधिकारीहरू यतिबेला अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । यो अनुसन्धनमा सरकार चयनमुखी देखिएको भन्दै आलोचना हुन थालेको छ । यो प्रकरणमा मलेसिया रकम किन पठाइन्थ्यो र कुन मन्त्रीको पालामा कति पठाइयो ।

मलेसिया रोजगारी ठगी प्रकरणमा २ पूर्व श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर यादव अनि पूर्वमुख्य सचिव एवम् पूर्व श्रमसचिव एकनारायण अर्याल सहितका उच्च सरकारी अधिकारीहरु र यसको मुख्य नाइके मेडिकल व्यवसायी संघका अध्यक्ष कैलाश खड्का यतिबेला सिआइबीको हिरासतमा छन् । उनीहरु माथि आरोप छ– क्षेत्राधिकार नाघेर तथा सम्झौता र कानुनी प्रक्रियाको उल्लंघन गर्दै १ अर्ब ६९ करोड रुपैयाँ पैसा मलेसिया पठाएको । २०७२ असारमा ६ महिनाका लागि परीक्षण परियोजनाका रूपमा सुरु गरिएको यस प्रणालीबाट दुई लाख २२ हजारभन्दा बढी श्रमिकबाट २ अर्ब ३७ करोड रुपैयाँ संकलन गरियो । त्यो रकममध्ये एक अर्ब ६९ करोड रुपैयाँ मलेसिया पठाइयो ।

जबकी नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा भएको श्रम सम्झौता अनुसार श्रमिकलाई शून्य लागतमा लैजाने र स्वास्थ्य परीक्षणसमेतको खर्च रोजगारदाताले बेहोर्ने स्पष्ट उल्लेख छ।

मलेसिया पैसा कसरी पुग्यो ?

मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण (बायोमेट्रिक) र सुरक्षा जाँच (सेक्युरिटी स्क्रिनिङ) को विवरण मलेसियाको अध्यागमन र श्रम प्रणालीमा अनलाइन दर्ता गर्नुपर्थ्यो। यो अनलाइन प्रणाली र सफ्टवेयर मलेसियाको निजी कम्पनी बेस्टिनेटले बनाएको थियो। बेस्टिनेट यो सिन्डिकेटको मलेसियाको मुख्य कडी हो । त्यसका लागि काठमाडौंमा ३६ स्वास्थ्य संस्थाको सिन्डिकेट खडा गरी हरेक श्रमिकबाट सम्झौतामा उल्लेखै नभएको १०० रिङ्गिट अर्थात् ३१ सय ६४ रुपैयाँ ‘बायोमेडिकल’ शुल्क असुले । यसरी असुलेको रकम नेपालमा खड्काको कम्पनी म्याक्रोटेक कम्पनीको खातामा जम्मा गर्ने गरिन्थ्यो । उक्त रकम मध्ये २० प्रतिशत नेपालमा राख्ने र ८० प्रतिशत मलेसियाको बेस्टिन कम्पनीलाई पठाउने गरिन्थ्यो ।

तर यसरी रकम बाहिर पठाउन नेपाल राष्ट्र बैंकको स्वीकृति चाहिन्छ र राष्ट्र बैंकले सम्बन्धित मन्त्रालयले रकम वैध रहेको भनी सिफारिस गरेपछि मात्र स्वीकृति दिन्छ। यस मामिलामा हरेकपटक म्याक्रोटेकले निवेदन दिन्थ्यो। मलेसियाली दूतावासले पनि परीक्षण गरिएका श्रमिकको सङ्ख्या खुलाएर राष्ट्र बैंकलाई भुक्तानी ‘सहजीकरण’ गर्न पत्र लेख्थ्यो। श्रम मन्त्रालयले मन्त्रीस्तरीय निर्णयका आधारमा सिफारिस गर्थ्यो, राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले स्वीकृति दिन्थ्यो र लक्ष्मी सनराइज बैंकको खाताबाट मार्फत बेस्टिनेटको मलायन बैंकिङ बरहाडको खातामा रकम पुग्थ्यो।

यसरी श्रमिकबाट अनधिकृत उठाएको रकम मलेसिया पठाउन मन्त्रीहरू यादव र कुँवरले निर्णय नै गरेका थिए । तर यो बीचमा अरु मन्त्री हुँदा पनि रकम मलेसिया पुगेको पाइएको छ । कुन मन्त्रीको पालामा कति रकम मलेसिया पठाइयो ?

रामेश्वर राय यादव : ४ पटक मन्त्रीस्तरीय निर्णय गरेर २० करोड रुपैयाँ

शेरबहादुर कुँबर : ५ पटक मन्त्रीस्तरीय निर्णय गरेर ६० करोड ५ लाख रुपैयाँ

डोलप्रसाद अर्याल : (दुईपटक मन्त्री हुँदा) अघिल्लो निर्णयकै आधारमा ३ पटक गरेर २० करोड ९ लाख रुपैयाँ

यो बीचमा गौरीशङ्कर चौधरी, विमलप्रसाद श्रीवास्तव र कृष्णकुमार श्रेष्ठ पनि श्रममन्त्री बनेका थिए । तर उनीहरूको पालामा भने रकम विदेश गएको देखिँदैन। २०७९ फागुन १५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले श्रम मन्त्रालय सम्हालेका बेला पनि १७ लाख १ हजार ५८२ डलर बाहिरिएको विवरण छ ।

नेपाल राष्ट्र बैंकमार्फत् १७ पटक रकम मलेसिया पठाइएको अनुसन्धानमा देखिएको छ। तर, अहिले दुई जना मात्रै मन्त्री अनुसन्धानमाको दायरामा छन् । यसले सरकार चयनमुखी बनेको भन्दै आलोचना भइरहेको छ ।

उजुरी थपिँदै गएपछि श्रम मन्त्रालयले २०८२ माघ २३ गते सहसचिव लवराज जोशीको नेतृत्वमा प्रहरी अधिकृतसमेत रहेको अनुगमन टोली बनायो । टोलीले ३६ वटै संस्थाको फाइल हेरेर २०८२ फागुन ५ गते प्रतिवेदन बुझायो र कैलाश खड्कालगायतकाले कमिसनको रकम हुन्डीमार्फत् पनि मलेसिया पठाएको बुझिएको भन्दै सङ्गठित अपराध, ठगी, विदेशी मुद्रा अपराध र सम्पत्ति शुद्धीकरणमा केन्द्रीय अनुसन्धान ब्युरोमार्फत अनुसन्धान गर्न सिफारिस गर्‍यो। २०८३ भदौमा सीआईबीले राष्ट्र बैंकसँग रकमान्तरको विवरण मागेर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्