कांग्रेसकै नाम र झण्डामा महाधिवेशन गर्ने देउवा समूहको अडान, जसरी पनि रोक्ने सानेपाको रणनीति
काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गरेको छ । तर, देउवा समूहले सोही नाम र झण्डा लिएर महाधिवेशनको तयारी गरिरहेको छ । यस्तो अवस्थामा कांग्रेसले भने उही नाममा अर्को महाधिवेशन गर्न नदिन सबै रणनीति अख्तियार गरेको छ ।
गत असोजमा नेपाली कांग्रेसले गरेको १५ महाधिवेशनको जग अर्थात् क्रियाशील सदस्य र पूर्वसभापति शेरबहादुर देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म गर्ने भनेको महाधिवेशनको जग अर्थात् क्रियाशील सदस्यता एउटै हो । तर, एउटै पार्टीको एउटै क्रियाशील सदस्यताको आधारमा दुई महाधिवेशन गरिनु दलको विधान, लोकतान्त्रिक प्रणाली र निर्वाचन कानुनको मर्मविपरीत हुन्छ । क्रियाशील सदस्यता कुनै गुट वा समानान्तर संरचनाको निजी सम्पत्ति होइन, त्यो अद्यावधिक भएको आधिकारिक केन्द्रीय कार्यसमिति मातहत रहने सांगठनिक आधार हो । नियमित महाधिवेशन सम्पन्न भई निर्वाचन आयोगले अद्यावधिक गरिसकेको अवस्थामा अरु कुनै समूहले त्यही सदस्यता र संरचनाको नाममा गर्ने अधिवेशन वैधानिक देखिँदैन ।
त्यस्तै, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ ले दर्ता भएको दलको नाम, झन्डा र चुनाव चिह्नको संरक्षण गर्ने व्यवस्था गरेकाले निर्वाचन आयोगमा अद्यावधिक भएको आधिकारिक पक्षबाहेक अरूले त्यही नाम, चारतारे झन्डा र रुख चिह्न प्रयोग गरेर छुट्टै महाधिवेशन गर्न पाउँदैनन् । सर्वोच्च अदालतमा अघिल्लो विवादको पुनरावलोकन विचाराधीन रहेको बहानामा छुट्टै महाधिवेशनको तयारी गरिए पनि कानुनी रूपमा आयोगको अद्यावधिक निर्णय कायम रहेसम्म यस्तो कार्यलाई अनधिकृत मानिन्छ । तर, कांग्रेसको देउवा समूहले भने यी सबै प्रावधानलाई बेवास्ता गर्दै सर्वोच्च अदालतले दिएको निस्सालाई आधार मानेर आफ्नो महाधिवेशनको गतिविधि अघि बढाइरहेको छ र उसले भनेको छ- सर्वोच्च अदालतबाट अन्तिम फैसला नआउन्जेलसम्म यही नाम, झन्डा र चुनाव चिह्नमा नै १५औं महाधिवेशन गर्छौँ ।
तर, सानेपा भने अब आक्रामकरूपमा अगाडि बढ्ने देखिन्छ । कांग्रेसबाट निर्वाचित प्रतिनिधिहरूलाई देउवा समूहका गतिविधिमा सामेल भए कारबाहीको चेतावनी दिएको र त्यसको तयारीसमेत गरिरहेको कांग्रेसले अब पार्टीको नाम, झन्डा र चुनाव चिह्नको दुरुपयोग गरेको भन्दै कानुनी उपचार पनि खोज्ने तयारी गरेको छ । आयोगमा अद्यावधिक भइसकेको दलको नाम, झन्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न र समानान्तर अधिवेशनको मान्यता अस्वीकार गर्न आयोगलाई लिखित रूपमा दबाब र उजुरी दिनेसम्म उसले तयारी गरेको छ । साथै दोस्रो हतियारका रूपमा सार्वजनिक स्थल वा पार्टीको पहिचान दुरुपयोग गरी हुने अनधिकृत गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायमार्फत कानुनी प्रक्रिया अघि बढाउनेसम्मको तयारी छ ।
उता देउवा समूहले यदि निर्वाचन आयोग र कानुनी रूपमा कांग्रेसको नाम, झन्डा र चुनाव चिह्नमा समानान्तर महाधिवेशन गर्न रोक लगाएमा सर्वोच्च अदालतमा जारी रहेको कानुनी लडाइँको सहारा लिने तयारी गरेको छ । उसले निर्वाचन आयोगको निर्णविरुद्ध यसअघि नै अदालतमा गएकाले आयोगको निर्णयले आफ्ना गतिविधिलाई नरोक्ने दाबी गरेको छ । सर्वोच्च अदालतबाट समेत आफूअनुकूल निर्णय नआएमा भने आफ्नै छुट्टै दल दर्ता वा नयाँ नाम र चुनाव चिह्नसहित फरक सांगठनिक यात्रा तय गर्नेसम्मको तयारी छ ।
निर्वाचनमा व्यहोरेको धक्कापछि कांग्रेसभित्र देखिएको यो टकराव केवल नेतृत्वको होइन, पार्टीको वैधानिक स्वामित्व र भविष्यको दिशाको लडाइँ हो। कानुनको पालना, अदालतको सम्भावित फैसला र राजनीतिक यथार्थबीच सन्तुलन मिलाउन नसके कांग्रेसको यो द्वन्द्वले संगठनलाई अझ कमजोर र विभाजित बनाउने जोखिम प्रस्ट छ।

प्रतिक्रिया