जेनजी आन्दोलनका पीडित अझै न्यायको प्रतीक्षामा, दोषीमाथि कारबाही गर्न सरकार असफल
काठमाडौं : जेनजी आन्दोलनका घटनामा दोषीमाथि कारबाही र पीडितलाई न्याय दिन नसकेको सरकारले फेरि अर्को आयोग गठन गर्दैछ । यसअघि बनेका तीनवटा आयोग तथा समितिका प्रतिवेदन कार्यान्वयन नगरी नयाँ आयोग बनाउनुपर्ने आवश्यकता किन पर्यो ? के यो पीडितलाई न्याय दिने प्रयास हो वा दोषीलाई उन्मुक्ति दिने नयाँ बाटो ? ।
आन्दोलनका नाममा भएका अपराधको छानबिन र पीडितलाई न्याय दिन राज्यले कति आयोग बनाउनुपर्छ ? एउटा आयोगले प्रतिवेदन बुझाइसकेको छ, अर्को संवैधानिक आयोगले पनि अनुसन्धान गरेर सरकारलाई सिफारिस गरिसकेको छ । सुरक्षाकर्मीको भूमिकाबारे अध्ययन गर्न बनेको समितिले समेत प्रतिवेदन बुझाइसकेको छ । तर, ती प्रतिवेदनको पूर्ण कार्यान्वयन नहुँदै सरकारले फेरि अर्को आयोग बनाउँदैछ । यो नयाँ आयोग न्याय दिनका लागि हो कि पुराना प्रतिवेदनबाट उम्किनका लागि ? यतिबेला यही प्रश्न तपाईंको मनमा पनि उठेको होला ?
सरकारले गत मंसिर ४ गते मन्त्रिपरिषद्बाट निर्णय गराएर जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग गठनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । अहिले राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशमा तीन सदस्यीय आयोग गठन गर्ने र तीन महिनाभित्र काम सम्पन्न गर्ने प्रस्ताव छ । तर, यो आयोगको कार्यक्षेत्र क्षतिपूर्तिमा मात्र सीमित छैन । गम्भीर अपराधबाहेकका मुद्दामा मेलमिलाप गराएर प्रतिवादीलाई उन्मुक्तिसम्म दिन सक्ने अधिकार प्रस्ताव गरिएको छ ।
अर्थात्, जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन, पीडितलाई क्षतिपूर्ति र आन्दोलनसँग सम्बन्धित मुद्दाको निरूपण एउटै आयोगमार्फत गर्ने सरकारको तयारी छ । तर, यसअघि नै गठन भएका तीनवटा संयन्त्रका प्रतिवेदनको अवस्था के छ ? तिनले के सिफारिस गरेका थिए ? सरकारले के गर्यो र के गरेन र किन फेरि नयाँ आयोग बनाउनु पर्ने अवस्था बन्यो ? आउनुस् आज यसबारे चर्चा गरौँ ।
गौरीबहादुर कार्की आयोग
२०८२ भदौ २३ र २४ गतेको आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले असोज ५ गते विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । असोज ९ गतेदेखि औपचारिक काम थालेको आयोगले करिब साढे पाँच महिनाको अनुसन्धानपछि २०८२ फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझायो ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, गृहसचिव गोकर्णमणि दुवाडीलगायत जिम्मेवार अधिकारीमाथि थप अनुसन्धान र कानुनी कारबाहीको सिफारिस गरेको थियो ।
आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको र सार्वजनिक तथा निजी सम्पत्तिमा झन्डै ८५ अर्ब रुपैयाँ बराबरको क्षति भएको विवरण पनि प्रतिवेदनमा समेटिएको थियो । प्रतिवेदनले भदौ २३ गतेको गोलीकाण्डमा राजनीतिक तथा प्रशासनिक नेतृत्वको जिम्मेवारी औँल्याएको थियो । तर, भदौ २४ गते भएको आगजनी, तोडफोड र हिंसाका घटनाको विश्लेषण तथा त्यसमा संलग्न व्यक्तिको पहिचानका विषयमा भने प्रतिवेदनमाथि प्रश्न पनि उठे ।
सरकारले प्रतिवेदन बुझ्नेबित्तिकै सार्वजनिक नगरे पनि त्यसका विवरण सञ्चारमाध्यमबाट बाहिरिए । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्ने बताउनु भएको थियो । त्यसपछि २०८३ चैत १३ गते बसेको बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले राजनीतिक नेतृत्वका हकमा सिफारिस कार्यान्वयन तत्काल अघि बढाउने र सुरक्षा निकायका हकमा थप अध्ययन गर्ने निर्णय गर्यो ।
त्यसपछि प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीसमक्ष पठाइएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको विवरण पनि सार्वजनिक भयो । त्यसो त नयाँ सरकार बनेकै भोलिपल्ट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पनि परे । उनीहरूको पक्राउ एक किसिमले औपचारिकतामा सीमित बन्यो भने बाँकी कारबाही प्रक्रिया खास रुपमा अघि बढ्न सकेनन् । समग्रमा भन्ने हो भने कार्की आयोगले सिफारिस गरेका सबै व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रिया अघि बढ्नै सकेन । बढेको हो भने पनि सरकारले पारदर्शी रुपमा काम गरेको देखिँदैन ।
सुरक्षाकर्मीको भूमिकाबारे अर्को अध्ययन
गौरीबहादुर कार्की आयोगले सुरक्षा निकायका सम्बन्धमा गरेका सिफारिस कार्यान्वयन गर्नुअघि थप अध्ययन आवश्यक ठानेर सरकारले २०८३ वैशाखमा उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गर्यो । समितिमा सशस्त्र प्रहरीका पूर्वएआईजी सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वएआईजी टेकप्रसाद राई सदस्य थिए ।
यस समितिको मुख्य जिम्मेवारी सुरक्षा निकायका सम्बन्धमा भएका सिफारिसको कार्यान्वयन अवस्था र प्रक्रियाबारे अध्ययन गर्नु थियो । समितिले प्रतिवेदन बुझाइसकेको भए पनि त्यसको पूर्ण विवरण सार्वजनिक भएको छैन ।
छिटफुट रुपमा सार्वजनिक भएका विवरणअनुसार समितिले आन्दोलनका क्रममा सुरक्षाकर्मीले पर्याप्त तयारी र समन्वयबिना काम गरेको, प्रदर्शनकारीको सङ्ख्या तीव्र रूपमा बढ्दा सुरक्षा अवस्था नियन्त्रणबाहिर गएको र सुरक्षाकर्मी आत्तिएर गोली चलाएको निष्कर्ष निकालेको छ । गोली चलाउने आदेश र प्रयोग गरिएको हतियारबीच पनि प्रश्न उठाइएको छ ।
तर, सुरक्षा निकायको मनोबल कमजोर हुन नदिनुपर्ने र कारबाही गर्दा प्राकृतिक न्यायको सिद्धान्त पालना गर्नुपर्नेमा पनि समितिले जोड दिएको बताइएको छ । यसरी पहिलो आयोगको सिफारिस कार्यान्वयनका लागि बनेको दोस्रो अध्ययन समितिको प्रतिवेदन पनि सार्वजनिक बहस र पूर्ण कार्यान्वयनको दायरामा आएको छैन ।
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन
राष्ट्रिय मानव अधिकार आयोगले पनि आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनबारे छुट्टै अनुसन्धान गरेको थियो । आयोगकी सदस्य लिली थापाको नेतृत्वमा गठित विशेष छानबिन टोलीले २०८२ चैतमा प्रतिवेदन बुझाएको थियो । आयोगले त्यसलाई अध्ययन र निर्णय प्रक्रियापछि २०८३ जेठ १२ गते सरकारलाई सिफारिससहित पठाएको थियो ।
यो प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक, सञ्चारमन्त्री गुरुङसहित उच्च सुरक्षा अधिकारीमाथि कारबाहीको सिफारिस गरेको थियो । यसका साथै आन्दोलनका क्रममा भएका गतिविधि र नख्खु कारागारबाट कैदीबन्दी बाहिरिएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक व्यक्ति तथा आन्दोलनसँग जोडिएका व्यक्तिमाथि थप अनुसन्धान गर्नुपर्ने औँल्याएको थियो ।
अझ तत्कालीन प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र गौरीबहादुर कार्कीमाथि समेत अनुसन्धानको सिफारिस गरिएको विवरण सार्वजनिक भएको थियो । अर्थात्, यो प्रतिवेदनले आन्दोलनका क्रममा राज्य पक्षबाट भएका भनिएका मानव अधिकार उल्लङ्घन मात्र होइन, आन्दोलनसँग सम्बन्धित अन्य घटनामा संलग्नताको प्रश्नसमेत उठाएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगले २०८३ जेठ २७ गते आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै सरकारलाई सिफारिस कार्यान्वयनका लागि पत्राचार गरेको थियो । तर, यसको सिफारिसअनुसार सरकारले के कस्ता कारबाही अघि बढायो भन्ने प्रश्न अझै बाँकी छ ।
फेरि अर्को आयोग किन ?
२०८२ मंसिर २४ गते तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको १० बुँदे सम्झौतामा पीडित परिवारलाई राहत, क्षतिपूर्ति, उपचार, मनोसामाजिक परामर्श र पुनःस्थापनाको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको थियो । आन्दोलनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिलाउने विषय पनि सम्झौतामा समेटिएको थियो ।
सरकारले यही सम्झौता कार्यान्वयन गर्न र आन्दोलनसँग सम्बन्धित मुद्दाको निरूपण गर्न नयाँ आयोग आवश्यक परेको तर्क गरेको छ । प्रस्तावित आयोगले अदालतमा विचाराधीन मुद्दा र प्रहरी अनुसन्धानमा रहेका उजुरीसमेत संकलन गर्नेछ । पीडित र प्रतिवादीबीच मेलमिलाप गराउने, क्षतिपूर्ति तथा परिपूरण उपलब्ध गराउने र निश्चित प्रकृतिका मुद्दा टुंग्याउने अधिकार पनि प्रस्ताव गरिएको छ ।
तर, अध्यादेशको सबैभन्दा विवादास्पद पक्ष यही हो । प्रस्तावअनुसार कर्तव्य ज्यान र योजनाबद्ध रूपमा हातहतियार प्रयोग गरी गरिएको चोरीजस्ता कसुरलाई गम्भीर अपराध मानिएको छ । यीबाहेकका मुद्दामा आयोगले मेलमिलाप गराएर वा क्षतिपूर्ति तथा परिपूरण उपलब्ध गराएर प्रतिवादीलाई क्षमादान दिन सक्ने व्यवस्था छ । अझ क्षति पुगेको पक्षको सहमतिमा क्षतिपूर्ति नै नदिई मुद्दा टुंग्याउन सक्ने प्रावधानसमेत प्रस्ताव गरिएको छ ।
यसले आन्दोलनका क्रममा भएका सबै गैरजघन्य अपराधलाई क्षतिपूर्ति वा मेलमिलापबाट टुंग्याउन मिल्छ ? भन्ने गम्भीर प्रश्न पनि उठाएको छ । सार्वजनिक सम्पत्ति जलाउने, तोडफोड गर्ने, लुटपाट गर्ने र निजी सम्पत्तिमा क्षति पुर्याउने घटनामा राज्यको पनि त सरोकार हुन्छ । त्यस्ता अपराधमा पीडितको सहमति मात्र पर्याप्त हुन्छ कि हुँदैन ? अझ मानव अधिकार उल्लङ्घन र फौजदारी जवाफदेहिताको प्रश्नलाई क्षतिपूर्तिमा सीमित गर्न मिल्छ ?
न्यायको विकल्प आयोग मात्रै कि कार्यान्वयन पनि ?
सरकारले नयाँ आयोग गठन गर्न लाग्यो भन्ने समाचार बाहिरिएपछि धेरैको मनमा उठेको प्रश्न हो, नयाँ आयोग गठन गर्दै जाने कि सुरुका आयोगले दिएका सुझाव कार्यान्वयन पनि गर्ने ? नयाँ आयोग गठन मात्रै गरेर पुराना प्रतिवेदनलाई ओझेलमा पार्नु न्याय होइन ।
अर्कोतर्फ, आन्दोलनका क्रममा मुद्दा खेपिरहेका व्यक्तिहरूको मुद्दा छिटो निरूपण गर्नुपर्ने र वास्तविक पीडितलाई क्षतिपूर्ति दिनुपर्ने आवश्यकता पनि अस्वीकार गर्न सकिँदैन ।
तर, यी दुई विषय एकअर्काका विकल्प होइनन् । आन्दोलनमा सहभागी भएकै आधारमा निर्दोषलाई मुद्दा लगाइएको छ भने त्यसको निष्पक्ष छानबिन हुनुपर्छ । त्यस्तै, आन्दोलनको आवरणमा आपराधिक गतिविधि गर्नेहरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ । राज्य पक्षबाट भएको मानव अधिकार उल्लङ्घनमा संलग्न व्यक्तिले पनि कानुनअनुसार जवाफदेही हुनुपर्छ ।
वरिष्ठ अधिवक्ता यदुनाथ खनालका अनुसार आयोग गठन र प्रतिवेदन बुझाउने तर कार्यान्वयन नगर्ने प्रवृत्ति नेपालमा पुरानै हो । संक्रमणकालीन न्यायदेखि विभिन्न आन्दोलनमा गठित आयोगका प्रतिवेदनसमेत कार्यान्वयन नहुँदा राज्यको जवाफदेहिता कमजोर भएको छ ।
जेनजी आन्दोलनको जगमा बनेको सरकारसँग नागरिकको अपेक्षा पुरानो शासनशैली अन्त्य गर्ने थियो । सुशासन, पारदर्शिता र जवाफदेहिताको नारा दिएको सरकारले पनि अघिल्ला प्रतिवेदनका सिफारिस कार्यान्वयनमा स्पष्ट प्रगति देखाउन सकेको छैन । त्यसैले अर्को आयोग गठन गर्नु आफैँमा उपलब्धि होइन ।
त्यसैले, प्रश्न आयोग कति बने ? भन्ने होइन, ती आयोगका प्रतिवेदनले औँल्याएका दोषीमाथि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही भयो कि भएन भन्ने हो । पीडित परिवारले न्याय पाए कि पाएनन्, घाइतेले उपचार र परिपूरण पाए कि पाएनन्, राज्यले आफ्नो गल्ती स्वीकार गरेर जवाफदेहिता वहन गर्यो कि गरेन भन्ने हो । आन्दोलनमा ज्यान गुमाएका ७६ जनाको न्याय र राज्य तथा निजी सम्पत्तिमा भएको अर्बौँको क्षतिको जवाफदेहिता नयाँ आयोगको अर्को प्रतिवेदनले मात्र पूरा गर्दैन । जबसम्म पुराना प्रतिवेदन कार्यान्वयन हुँदैनन्, पीडितले न्याय पाउँदैनन् र दोषीले कानुनी जवाफदेहिता वहन गर्दैनन्, तबसम्म आयोगमाथि आयोग थपिँदै जानेछन्, तर न्याय भने जहाँको त्यहीँ रहनेछ ।

प्रतिक्रिया