खेलकूद

सुदूरपश्चिम रोयल्समा यी हुन् मुख्य खेलाडी

हिमालय टिभी
२०८३ कार्तिक ९ गते २०:००
सुदूरपश्चिम रोयल्समा यी हुन् मुख्य खेलाडी

काठमाडौं : एनपीएलको उद्घाटन खेलमा गत संस्करणको फाइनलको हारको बदला लिने लक्ष्यमा छ, सुदूरपश्चिम रोयल्स । अघिल्ला दुवै संस्करणमा फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको अभागी ट्याग मेटाउँदै यसपटक ट्रफी उचाल्ने लक्ष्यमा रहेको सुदूरपश्चिमका लागि लुम्बिनीविरुद्धको पहिलो खेल महत्त्वपूर्ण छ । यो खेलमा सुदूरपश्चिमका ४ प्रभावशाली खेलाडीको बारेमा छोटो जानकारी हेरौँ ।

दीपेन्द्रसिंह ऐरी

कप्तान तथा मार्की खेलाडी दीपेन्द्र टोलीका प्रमुख अलराउन्डर हुन् । आफ्नो कसिलो स्पिन बलिङ, विस्फोटक ब्याटिङ र विश्वस्तरीय फिल्डिङका कारण उनी टोलीका सबैभन्दा ठूला म्याच विनर मानिन्छन् । एनपीएलका अघिल्ला दुवै संस्करणमा दीपेन्द्रले सुदूरपश्चिमको इनिङ्सलाई सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । पहिलो संस्करणमा उनले आफ्नो अलराउन्ड प्रदर्शनको दममा म्यान अफ द सिरिज बन्दै कार पुरस्कार जितेका थिए । त्यसैगरी, दोस्रो संस्करणमा पनि ब्याट र बल दुवैबाट निरन्तर योगदान दिएका उनले टोलीलाई फाइनलसम्म पुर्याउन अग्रपंक्तिमा रहेर नेतृत्व गरे । लुम्बिनीविरुद्धको खेलमा उनको प्रदर्शन नै सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बन्नेछ । हालसम्मका २ संस्करणमा उनले ३८९ रन र १८ विकेट लिइसकेका छन् ।

अविनाश बोहरा

नेपाली क्रिकेटका अनुभवी तथा डेथ ओभरका भरपर्दा मानिने अविनाश तीव्र गतिका बलर हुन् । दबाबको समयमा सटीक योर्कर फाल्ने उनको विशेष क्षमता छ । एनपीएलको दोस्रो संस्करणमा अविनाशले सनसनीपूर्ण बलिङ गर्दै विपक्षी ब्याटरलाई दबाबमा राखे । उनले गत सिजन उत्कृष्ट बलिङ गर्दै प्रतियोगिताभर कुल १७ विकेट लिँदै सर्वाधिक विकेट लिनेको सूचीमा संयुक्त रूपमा शीर्ष स्थान कायम गरेका थिए । लुम्बिनी लायन्सको बलियो ब्याटिङ लाइनअपलाई रोक्न डेथ ओभरमा अविनाशको बलिङ सुदूरपश्चिमका लागि अत्यन्तै निर्णायक हुनेछ । हालसम्मका २ संस्करणमा गरि उनले २४ विकेट लिएका छन् ।

स्कट कुगेलेइन

न्युजिल्यान्डका तीव्र गतिका बलर तथा अलराउन्डर स्कट कुगेलेइन आफ्ना धारिलो बलिङ र तल्लो क्रममा विस्फोटक ब्याटिङका लागि विश्व क्रिकेटमा परिचित छन् । उनी सुदूरपश्चिम रोयल्सका भरपर्दा र टोलीमा निरन्तरता पाइरहेका विदेशी खेलाडी हुन् । एनपीएलको इतिहासमा उत्कृष्ट प्रदर्शन गरिरहेका कुगेलेइन प्रतियोगिताकै सर्वाधिक सफल बलरमध्ये एक हुन् । पहिलो संस्करण १७ विकेट सहित संयुक्त रुपमा शीर्ष स्थानमा रहेका उनले दोस्रो संस्रकण १० विकेट लिएका थिए । हालसम्म १७ खेलबाट २७ विकेट लिएका उनी एनपीएल इतिहासकै सर्वाधिक विकेट लिने बलर हुन् । औसत ६ दशमलव ४७ को इकोनोमी रेट राखेका उनले विपक्षी ब्याटरलाई सधैं दबाबमा राख्ने गरेका छन् ।

शेरफन रदरफोर्ड

वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डको आगमनले सुदूरपश्चिम अझ बलियो बनेको छ । २८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर रदरफोर्ड छोटो फरम्याटका आक्रामक खेलाडीका रूपमा परिचित छन् । उनी मध्यक्रममा ब्याटिङ गर्दै तीव्र गतिमा रन बनाउन सक्ने क्षमता राख्छन् । रदरफोर्डले वेस्ट इन्डिजका लागि ६१ टी २० अन्तर्राष्ट्रिय खेल खेल्दा १ हजार १२३ रन जोडेका छन् । सबैखाले टी २० क्रिकेटमा रदरफोर्डले २८३ खेलमा ५ हजार ९० रन बनाएका छन् । सीपीएल, आईपीएल, पीएसएल, बीपीएल, एलपीएल जस्ता चर्चित लिगको अनुभव संगालेका उनी सन् २०२२ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले सीपीएल उपाधि जित्दा टोलीमा थिए भने कराँची किङ्सबाट पीएसएल उपाधि समेत जितिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *