स्कटल्यान्डमा बेय लिफ ग्रुपलाई एसियन रेस्टुरेन्ट अवार्ड, सागर भण्डारी बने उत्कृष्ट म्यानेजर
काठमाडौं : स्कटल्यान्डमा नेपाली व्यवसायीद्वारा सञ्चालित ‘बेय लिफ ग्रुप’ले ‘एसियन रेस्टुरेन्ट अवार्ड्स’ मा फेरि उत्कृष्टता हासिल गरेको छ।
एडिनबरामा आयोजित कार्यक्रममा बेय लिफ ग्रुपले एकै रात तीनवटा महत्वपूर्ण विधामा अवार्ड जितेको हो। लिभिङस्टनमा बेय लिफद्वारा संचालित रेस्टुरेन्टले ‘बेस्ट इन्डियन रेस्टुरेन्ट इन वेस्ट लोथियन’ को अवार्ड जितेको छ। यस्तै बाथगेटको रेस्टुरेन्टले ‘बेस्ट फाइन डाइनिङ रेस्टुरेन्ट अफ द इयर’को उपाधि पाएको छ।

बेय लिफका संचालक सागर भण्डारी ‘म्यानेजर अफ द इयर’ घोषित भएका छन्। रेस्टुरेन्ट व्यवस्थापन र उत्कृष्ट आतिथ्यको सेवा दिएबापत भण्डारीलाई व्यक्तिगत विधातर्फको उच्च सम्मान दिइएको हो।
एक दशक लामो निरन्तरता र मेहनतको परिणाम
हस्पिटालिटी क्षेत्रमा लामो अनुभव सँगालेका टिका खरेल र सागर भण्डारीले सन् २०१३ मा ‘बेय लिफ’ को सुरुवात गरेका थिए। खानाको स्वाद, गुणस्तर र उत्कृष्ट ग्राहक सेवालाई प्राथमिकता दिँदै आएको यस समूहले छोटो समयमै वेस्ट लोथियन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफलता पाएको छ सञ्चालक भण्डारीले बताए। यस समूहले हरेक वर्षजसो अन्तर्राष्ट्रिय अवार्ड हात पार्दै आएको छ। गत वर्ष पनि समूहका सञ्चालक टिका खरेलले “बेस्ट म्यानेजर अफ द इयर” र बलराम कँडेलले “बेस्ट सेफ अफ द इयर” को अवार्ड जितेका थिए।

उपलब्धिबारे खुसी व्यक्त गर्दै सञ्चालक टिका खरेलले यो सफलताको श्रेय सम्पूर्ण बेयलिफ टोली र ग्राहकको मेहनतबाट सम्भव भएको बताए। “हामीले सुरुवातदेखि नै स्वाद, सेवा र ग्राहकको विश्वासलाई सर्वोपरि मान्यौँ। हरेक वर्ष पाइने यस्ता सम्मानले हामीलाई अझ जिम्मेवार र उत्कृष्ट बन्न प्रेरणा दिन्छ । यो सफलता हाम्रा कर्मचारीको अहोरात्र मेहनत र ग्राहक वर्गको अगाध मायाको प्रतिफल हो,” उनले भने।

प्रतिक्रिया