Main News

संसद् र पार्टीलाई प्रधानमन्त्रीको बेवास्ता, कार्यशैलीमाथि उठ्यो प्रश्न

२०८३ भदौ ५ गते १८:३५
संसद् र पार्टीलाई प्रधानमन्त्रीको बेवास्ता, कार्यशैलीमाथि उठ्यो प्रश्न

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह मनमौजी हुनुहुन्छ । उहाँ आफूलाई लागेको काम गर्ने तर, अरुले दिएको सल्लाह, सुझाव र प्रतिक्रियामा खास विश्वास नगर्ने नेतामध्ये पर्नुहुन्छ ।

बैठक, गोष्ठी तथा भेलालाई ‘समयको बर्बादी’का रूपमा अर्थ्याउने प्रधानमन्त्री शाहले पार्टीका बैठक, संसदीय दल, संसददेखि संसदीय समितिहरु समेत छल्दै आउनुभएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेतासमेत रहनुभएका प्रधानमन्त्री शाह शुक्रबार पार्टी केन्द्रीय समिति बैठक छल्दै मुस्ताङतर्फ लागेपछि यो विषयले थप चर्चा पाएको छ ।

बागदरबारबाट सिधै सिंहदरबार प्रवेश गर्नुभएका प्रधानमन्त्री वालेन्द्र शाहलाई अरुले अह्राएको भन्दा आफ्नै मनले अह्राएको मन पर्छ । यति भएपछि स्वाभाविक हो-उहाँ अरुले दिएको सल्लाह त्यति मान्नुहुन्न । प्रधानमन्त्री बनेको पौने पाँच महिनामा उहाँले यो कुरा पुष्टिसमेत गर्नुभएको छ ।

पार्टी बैठक छाडेर मुस्ताङ यात्रा

उहाँले पार्टीका बैठक, संसद् बैठक तथा संसदीय समितिका बैठक छल्दै आउनुभएको छ । यही क्रममा पछिल्लो पटक शाहले पार्टी केन्द्रीय समितिको बैठकलाई बेवास्ता गरेका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक बस्यो । तर, पार्टीको विरष्ठ नेता समेत रहनुभएका शाह मुस्ताङको यात्रामा निस्किनुभयो । सुरक्षाकर्मी बिना गाडी चढेर काठमाडौंबाट निस्किनुभएका प्रधानमन्त्री शाह मुस्ताङसम्म पुग्ने भनिएको छ, तर उहाँ त्यहाँसम्म किन पुग्दै हुनुहुन्छ, आधिकारिक जानकारी भने छैन । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री शाह मुस्ताङको खम्पा गुम्बाको दर्शनका लागि त्यहाँ जान लागेको दाबी गर्नुभएको छ । कार्यक्रम जेसुकै होस, प्रधानमन्त्री शाहले पार्टीका बैठकहरूलाई पटक पटक बेवास्ता गर्दै आउनुभएको छ । शाह यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि अनुपस्थित हुनुहुन्थ्यो ।

संसदीय दलको पनि बेवास्ता

प्रधानमन्त्री शाहले पार्टीको संसदीय दलको बैठकसमेत छल्ने गर्नुभएको छ । पार्टीको ससदीय दलको नेताकै हैसियतमा प्रधानमन्त्री बन्नुभएका उहाँ पछिल्लो दुईवटा संसदीय दलको बैठकमा अनुपस्थित हुनुभयो । पछिल्लो पटक बुधबार सभापति रवि लामिछाने सिंहदरबारमा संसदीय दलको बैठक बोलाउनुभएको थियो । बैठकमा मन्त्री र सांसदहरु सहभागी भए तर प्रधानमन्त्री शाह जानुभएन । यसैकारण पार्टी सभापति रवि लामिछानेले ती बैठकहरूलाई अनौपचारिक वा छलफल मात्रै भन्ने गर्नुभएको छ ।

संसद र संसदीय समितिको उपेक्षा

प्रधानमन्त्री शाहले पार्टीका बैठक मात्रै होइन, संसद् र विषयगत समितिका बैठक पनि छल्ने गर्नुभएको छ । प्रधानमन्त्री शाह संसदीय समितिको पदेन सदस्य भए पनि अहिलेसम्म कुनै समिति बैठकमा उपस्थित हुनुभएको छैन । यसैकारण बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिमा कतिपय सदस्यले प्रधानमन्त्री शाहलाई छलफलका लागि बोलाउन माग गरेका छन् ।

त्यसो त प्रधानमन्त्री शाहको संसद्‌को उपस्थिति पनि निकै कमजोर छ । नयाँ सरकार बनेपछि प्रतिनिधि सभाका ४६ वटा बैठक बसेको छ । यसमा १० भन्दा कम पटक मात्रै उहाँ संसद्‌मा उपस्थित हुनुभएको संसद् सचिवालयले जनाएको छ। यसैकारण पनि प्रतिपक्ष दलहरूले प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको भन्दै आलोचना गर्ने गरेका छन् । विपक्षीले लगातार विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई सदनमा उपस्थित भएर प्रश्नको जवाफ दिन रूलिङ गर्नुभएको छ ।

पार्टी, संसदीय दल, संसद् तथा संसदीय समिति छल्दै आउनुभएका प्रधानमन्त्री शाहले बैठक, गोष्ठी तथा यस्ता भेलालाई काम होइन गफ गर्ने मेलोको रुपमा अर्थ्याउने गर्नुभएको छ । उहाँ आफूले भने सधैं काम नै गरिरहेको बताउने गर्नुहुन्छ । त्यसो त सुशासन र डेलिभरी दिने नाममा सरकारले कतिपय प्रक्रिया मिच्ने गरेको छ, यसका कारण पनि प्रधानमन्त्री शाहमाथिको आलोचना बढ्दो छ । तसर्थ मनमौजी शैलीका प्रधानमन्त्री शाहले लोकतन्त्रमा सल्लाह, सुझाव र प्रक्रिया पनि महत्त्वपूर्ण हुन्छन् भनेर बुझ्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्