चार पटकको विश्वविजेता जर्मनीलाई नवप्रवेशी कुरासाओको चुनौती
काठमाडौं : उत्तरी अमेरिकामा जारी विश्वकप २०२६ अन्तर्गत आज राति समूह ई का जर्मनी र कुरासाओबीच प्रतिस्पर्धा हुँदैछ । एनआरजी स्टेडियम, ह्युस्टनमा नेपाली समयअनुसार आज राति पौने ११ बजे खेल सुरु हुनेछ । ४ पटकको विश्व विजेता जर्मनीविरुद्ध खेल्दै कुरासाओले विश्वकपमा डेब्यु गर्दा यहि समूहको अर्को खेलमा आइभरी कोस्ट र इक्वेडर आमनेसामने हुनेछन् । लिंकन फाइनान्सियल फिल्ड फिलाडेल्फियामा खेल भोली बिहान पौने ५ बजे सुरु हुनेछ ।
समूह ईमा उपाधि दाबेदार जर्मनीले पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओकोसँग प्रतिस्पर्धा गर्दैछ भने अर्कोतर्फ दुई महादेशीय पावरहाउस आइभरी कोस्ट र इक्वेडरबीच कडा टक्कर हुँदैछ।
जर्मनी भर्सेस कुरासाओ
बाइबलमा एउटा कथा छ, डेभिड भर्सेस गोलियाथ । जहाँ एक कमजोर व्यक्ति र एक विशाल शक्तिशाली प्रतिद्वन्द्वीबीच भिडन्त हुन्छ । ठिक यस्तै अवस्था छ, समूह ई को पहिलो खेलमा । जहाँ चार पटकको विश्वकप विजेता जर्मनी र क्यारिबियन क्षेत्रको सानो टापु राष्ट्र कुरासाओ आमनेसामने हुनेछन् । बाइबलको कथामा जस्तो डेभिडको जित यो खेलमा होला नहोला, तर फुटबल इतिहासमा कुरासाओले डेब्यु गरेरनै इतिहास रचिसकेको छ ।
जर्मनी
विश्व फुटबलको पावरहाउस जर्मनी यस पटक आफ्नो गुमेको साख फर्काउन चाहन्छ । ४ पटकको विश्व विजेता जर्मनी ४ पटकनै उपविजेता समेत बनेको छ । विश्वकप इतिहासमा सर्वाधिक धेरै पटक फाइनल पुग्ने टोली हो जर्मनी । उसले पछिल्लो पटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप जितेको थियो । तर त्यसयता सन् २०१८ र २०२२ मा उन लगातार दुई विश्वकपको समूह चरणबाटै बाहिरियो । पछिल्लो २ संस्करणमा गरेको फितलो प्रदर्शनपछि युवा खेलाडीको आगमनसँगै टोलीले आक्रामक लय समातेको छ ।
रणनीतिक रूपमा जर्मनी यो खेलमा पूर्ण रूपमा हाबी हुने अनुमान गरिएको छ। विङ्गरहरू र आक्रामक मिडफिल्डरको बलियो सेट भएको जर्मनीले खेलको सुरुवातमै गोल गरेर कुरासाओमाथि दबाब बनाउन चाहन्छ। जर्मनीको गहिरो स्क्वाड डेप्थर हाईप्रेसिङ फुटबल शैली कुरासाओका लागि निकै भारी पर्न सक्छ ।
कुरासाओ
जनसंख्या र क्षेत्रफल दुवैको हिसाबले विश्वकपमा छनोट हुने सबैभन्दा सानो राष्ट्र हो कुरासाओ । फिफा वरियता, स्तरिय खेलाडी र ठूला खेल अनुभवका आधारमा कुराकासो समूहका बाँकी प्रतिद्धन्दी भन्दा कमजोर देखिन्छ ।
तर छनोटमा निडर र प्राविधिक खेल देखाएको कुराकासो अपराजित रहँदै विश्वकपमा डेब्यु गर्दै गर्दा उससँग गुमाउनु केहि छैन । डच फुटबल शैलीको प्रभाव रहेको यो टोलीलाई खुलेर खेल्ने स्वतन्त्रता रहन्छ । टोलीको मुख्य लक्ष्य जर्मनीलाई सजिलै गोल गर्न नदिने र पाएको अवसरमा लामो पासमार्फत काउन्टर अट्याक गर्ने हुनेछ। कुरासाओका लागि जर्मनीलाई बराबरीमा रोक्नु वा कम गोल खानु नै ठुलो उपलब्धि मानिनेछ ।
हेड टु हेड
फुटबल इतिहासमा जर्मनी र कुरासाओ पहिलो पटक आमनेसामने हुँदैछन् । )
प्लेयर टु वाच
जर्मनी
जमाल मुसियालाः बायर्न म्युनिखका यी युवा मिडफिल्डर जर्मनीको आक्रमणका मुख्य सुत्रधार हुन् । उनको जादुमयी ड्रिब्लिङ र साँघुरो ठाउँबाट पनि डिफेन्स चिर्ने क्षमता कुरासाओका डिफेन्डरहरूका लागि मुख्य चुनौती बन्नेछ ।
कुरासाओ
गेर्भेन कास्टानेरः कुरासाओसँग युरोपेली लिग खेलेका केही अनुभवी खेलाडी छन् । टोली मुख्यतया काउन्टर अट्याकमा निर्भर रहने हुनाले अग्रपंक्तिका खेलाडीको प्रदर्शन र गोलरक्षकको भूमिका बढी हेर्नलायक हुनेछ । )
आइभरी कोस्ट भर्सेस इक्वेडर
यो खेल समूह ईबाट नकआउटमा पुग्ने टोलीको भाग्य तय गर्न निकै निर्णायक मानिएको छ । दुवै टोली शारीरिक रूपमा बलिया र तीव्र गतिका लागि चिनिन्छन्।
आइभरी कोस्ट
आइभरी कोस्ट हालैका खेलमा उच्च लयमा देखिएको छ । उनीहरूको खेल शैली निकै आक्रामक, शारीरिक र विङ्ग्सबाट तीव्र गतिमा क्रस फ्याँक्ने रणनीतिमा केन्द्रित छ । टोलीसँग युरोपका शीर्ष क्लबहरूमा खेल्ने अनुभवी खेलाडीको मिश्रण छ,
जसले खेलको गतिलाई आफ्नो अनुकूल बनाउन सक्छ ।
इक्वेडर
अर्कोतर्फ, इक्वेडर प्राविधिक रूपमा निकै अनुशासित टोली हो । युवा तथा विश्वस्तरीय खेलाडीले भरिएको इक्वेडर रक्षात्मक रूपमा निकै मजबुत छ ।
इक्वेडरले आइभरी कोस्टको शारीरिक दबाबलाई रोक्दै आफ्नो तीव्र गतिको पासिङ गेममार्फत खेल नियन्त्रणमा लिने प्रयास गर्नेछ । यो खेल मिडफिल्डको लडाइँमा जसले जित्छ, उसैको पोल्टामा जाने निश्चित छ ।
विश्वकपको मञ्चमा यी दुई देश पहिलो पटक भिड्दै छन् ।
प्लेयर टु वाच
आइभरी कोस्ट
अमाड डियालोः २३ वर्षीय म्यानचेस्टर युनाइटेड विंगर आइभरी कोस्टको प्रमुख रचनात्मक स्पार्कको रूपमा देखा परेका छन् । आफ्नो उच्च गति र सटीक बायाँ खुट्टाले प्रहार गर्ने प्रहारका लागि परिचित, उनी विश्वकप छनोट र २०२५ अफ्रिका कप अफ नेसन्समा उत्कृष्ट प्रदर्शनकर्ता थिए ।
इक्वेडर
मोइसेस काइसेडोः चेल्सीका यी स्टार मिडफिल्डर इक्वेडरका मुख्य खम्बा हुन् । रक्षापङ्क्ति र आक्रमणबिच सन्तुलन मिलाउने र आइभरी कोस्टको बलियो मिडफिल्डलाई रोक्ने मुख्य जिम्मेवारी काइसेडोको काँधमा छ ।)

प्रतिक्रिया