एसियाली पावर हाउस जापानको पहिलो खेल नेदरल्याण्ड्ससँग
काठमाडौं : फिफा विश्वकप २०२६ को चौथो दिन समूह एफका २ खेल हुँदैछ । समूहको पहिलो खेलमा नेदरल्याण्ड्स र जापानबीच प्रतिस्पर्धा हुनेछ । टेक्सासको एटी एण्ड टी स्टेडियममा नेपाली समयअनुसार आज राति पौने २ बजे खेल सुरु हुनेछ । समूहको अर्को खेलमा स्विडेन र ट्युनिसिया आमनेसामने हुनेछन् । मेक्सिकोमा यो खेल नेपाली समय अनुसार भोलि बिहान पौने ८ बजे सुरु हुनेछ ।
नेदरल्याण्ड्स भर्सेस जापान
नेदरल्याण्ड्स
विश्वकपको बलियो दाबेदार युरोपेली टोली नेदरल्याण्ड्स र एसियाली पावरहाउस जापानबीच डालासमा पहिलो खेल हुँदैछ ।
डच टोली सन् १९९८ देखि विश्वकपको समूह चरणमा अपराजित रहेको ऐतिहासिक रेकर्ड कायम राख्न मैदान उत्रनेछ । रोनाल्ड कोम्यानको प्रशिक्षणमा रहेको नेदरल्याण्ड्स सामान्यतया ४-२-३-१ को फर्मेसनमा मैदान उत्रने छ । टोलीमा भर्जिल भ्यान डाइकको नेतृत्वमा रक्षापंक्ति बलियो छ । डच टोली खेलमा बल पोजेसन आफ्नो नियन्त्रणमा राखेर दबाब बनाउन चाहन्छ । युरोपका शीर्ष डिभिजन खेलिरहेका खेलाडी हुनु यसको सबल पक्ष हो । उत्कृष्ट मिडफिल्ड, रचनात्मक आक्रमण र सेटपिसमा बलियो देखिए पनि डिफेन्समा अस्थिरता हुनु कमजोर पक्ष हो ।
जापान
विश्व फुटबलमा सबैभन्दा खतरनाक र तीव्र सुधार भइरहेको टोली हो जापान । तीव्र गति, उच्च दबाब र खेल अवस्था अनुसार रणनीतिक लचिलोपन जापानको विशेषता हो । एसियाको सबैभन्दा पूर्ण र सन्तुलित टोली मानिने जापानले कतार विश्वकपमा पूर्व विजेता जर्मनी, स्पेनलाई हराउँदा नकआउटमा क्रोएसियासँग कडा प्रतिस्पर्धा गरेको थियो । यस पटक युरोपका शीर्ष लिगमा खेल्ने खेलाडीको अनुभवले टोलीलाई अझ परिपक्व बनाएको छ । हाजिमे मोरियासुको प्रशिक्षणमा रहेको जापान समान्यतया ३-४-२-१ को फर्मेसनमा खेल्नेछ । जापान पछिल्ला ५ खेलमा लगातार क्लिन सिट राख्दै उच्च लयमा छ । यो खेलमा बल पोजेसन भर्सेस हाइ एनर्जी ट्रान्जिसन फुटबलबीचको कडा टक्कर हुनेछ ।
हेड टु हेड
सिनियर अन्तर्राष्ट्रिय फुटबलमा यी दुई टोलीबीच अहिलेसम्म कुल ३ पटक भेट भएको छ । जसमा नेदरल्याण्ड्सको स्पष्ट वर्चस्व देखिन्छ । ३ मध्ये २ खेल डच टोलीले जित्दा १ खेल बराबरी भएको छ । यसबीचमा नेदरल्याण्ड्सले ६ गोल गर्दा जापानले २ गोल मात्र फर्काएको छ । पछिल्लो पटक सन् २०१३ को मैत्रीपूर्ण खेल २-२ को बराबरीमा सकिएको थियो ।
प्लेयर टु वाच
नेदरल्याण्ड्स
कोडी गाक्पोः लिभरपुलका स्ट्राइकर डच आक्रमणका मुख्य हतियार हुन् । उनको गति, उत्कृष्ट फिनिसिङ र पेनाल्टी बक्स भित्रको मुभमेन्ट जापानको बलियो रक्षापंक्तिका लागि सबैभन्दा ठूलो चुनौती बन्नेछ ।
जापान
ताकेफुसा कुबोः दबाबमा पनि उत्कृष्ट बल ड्रिबल गर्ने र काउन्टर अट्याक गर्ने उनको क्षमता खेलको टर्निङ पोइन्ट हुन सक्छ । केहि अनुभवी खेलाडी चोटका कारण बाहिरिँदा कुबोको काँधमा ठूलो जिम्मेवारी छ । )
स्विडेन भर्सेस ट्युनिसिया
अनुशासित र रणनीतिक सुधारका साथ व्यवस्थित टोलीका रूपमा स्विडेन एक संस्करण पछि पुनः विश्वकपमा फर्किएको छ । स्विडेन यस पटक नाटकीय रूपमा विश्वकपमा छनोट भएको हो र चेल्सीका पूर्व म्यानेजर ग्राहम पोटरको आगमनले टोलीमा नयाँ रणनीतिक उर्जा थपेको छ । स्विडेन मुख्यतया अलेक्जेन्डर इसाक र ग्योकेरेसको आक्रामक जोडीमा बढी निर्भर रहनेछ । टोलीको डिफेन्स र मिडफिल्डको सन्तुलन मिलाउन पोटरले केही नयाँ प्रयोग गर्न सक्छन् ।
ट्युनिसिया
ट्युनिसिया विश्वकप इतिहासमा खेल जित्ने पहिलो अफ्रिकी राष्ट्र हो र पछिल्लो विश्वकपमा फ्रान्सलाई हराएको गौरवशाली इतिहास उसँग छ । ट्युनिसियाको खेल शारीरिक रूपमा निकै आक्रामक र रक्षात्मक रूपमा अनुशासित हुनेगर्छ । अनुशासित र रक्षात्मक रूपमा संगठित ट्युनिसिया स्पष्ट रणनीति र बलियो डिफेन्स लाइनमा आधारित छ । उसका विगतका खेल हेर्ने हो भने कठिन अवस्थाबाट पनि राम्रो पुनरागमन गर्न सक्ने प्रतिस्पर्धीका रुपमा देखिन्छ । यो खेल युरोपेली प्राविधिक फुटबल र अफ्रिकी शारीरिक तथा जुझारु फुटबल शैलीको रोचक मिश्रण हुने अनुमान गरिएको छ ।
हेड टु हेड
फुटबल इतिहासमा यी दुई टोलीबीच ४ पटक प्रतिस्पर्धा भएको छ । जहाँ स्विडेनले २ खेल जित्दा १ खेल ट्युनिसियाको पक्षमा गएको छ । यि दुईबीचको पहिलो खेल भने बराबरी भएको थियो । विश्वकपमा भने यि दुई पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।
प्लेयर टु वाच
स्विडेन
भिक्टर ग्योकेरेसः आर्सनलका लागि सानदार प्रदर्शन गरेका ग्योकेरेस स्विडेनका मुख्य स्ट्राइकर हुन् । उनको शारीरिक शक्ति, गति र गोल गर्ने क्लिनिकल क्षमता ट्युनिसियाका डिफेन्डरका लागि टाउको दुखाइ बन्न सक्छ

प्रतिक्रिया