मेस्सी–रोनाल्डो युगपछिका ‘बादशाह’: यी हुन् विश्वकप २०२६ का युवा स्टार
काठमाडौं : विश्व फुटबलको महाकुम्भ नजिकिँदै गर्दा, यसपटक मैदानमा केही यस्ता युवा प्रतिभा देखिनेछन्, जसले मेस्सी र रोनाल्डो युगपछि विश्व फुटबलका बादशाह बन्ने क्षमता राख्छ।
यसपटक विश्वकपमा १२४८ खेलाडी विभिन्न टोलीबाट आउँदै गर्दा १९ जना खेलाडीको उमेर १९ वर्ष कटेको छैन । जसले सानो उमेरमै असाधारण क्षमता प्रदर्शन गरेर विश्वको ध्यान तानिसकेका छन्। तिमध्ये केही खेलाडीको बारेमा जानौँ ।
आसन्न विश्वकपमा मैदानमा देखिने सबैभन्दा कम उमेरका खेलाडी हुन्, मेक्सिकोका मिडफिल्डर गिल्बर्टो मोरा । उनी सहित यो विश्वकपमा २० वर्षमुनिका २२ खेलाडी खेल्ने तयारीमा छन्। आज हामी यहाँ तीमध्ये केही खेलाडीको चर्चा गर्नेछौं, जसलाई विश्व फुटबलको भविष्यका रुपमा हेरिएको छ।
लामिन यामाल, स्पेन
स्पेन तथा बार्सिलोनाका १८ वर्षीय विङ्गर यामाल वर्तमान फुटबलका सबैभन्दा प्रतिक्षित युवा स्टार हुन् । युरो २०२४ मा सनसनीपूर्ण प्रदर्शन गरेका यामालसँग अद्भूत गति, उत्कृष्ट ड्रिब्लिङ र गोल गर्ने गज्जबको क्षमता छ । यस विश्वकपमा उनी स्पेनलाई विश्वविजेता बनाउने मुख्य हतियारको रूपमा मैदान उत्रिनेछन् ।
गिल्बर्टो मोरा, मेक्सिको
(१७ वर्षका मोरा यस विश्वकपमा खेल्ने सबैभन्दा कान्छा खेलाडी हुन् । मेक्सिकोका यी विङ्गर तथा आक्रामक मिडफिल्डरमाथि घरेलु समर्थकको ठूलो आशा छ । सानो उमेरमै परिपक्व खेल प्रदर्शन गर्ने मोरा घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै विश्वमञ्चमा आफ्नो नाम स्थापित गर्ने राम्रो अवसर छ । )
लुका भुस्कोविक, क्रोएसिया
१९ वर्षीय अग्ला कदका सेन्टरब्याक भुस्कोविक क्रोएसियाली रक्षापंक्तिका खम्बा हुन् । इंग्लिस क्लब टोटनह्याम हट्सपरसँग अनुबन्धित उनी जर्मनीमा लोनमा खेल्दै उच्च प्रदर्शन गरिरहेका छन् । बलियो शारीरिक बनावट, एयर बलमा नियन्त्रण र रक्षात्मक रणनीतिमा निपुण भुस्कोविक यस विश्वकपका उत्कृष्ट युवा डिफेन्डर साबित हुन सक्छन् ।
इब्राहिम म्बाये, सेनेगल
१८ वर्षका इब्राहिम पेरिस सेन्ट जर्मेन पिएसजीका विङ्गर हुन् । उनलाई सेनेगलका महान् खेलाडी साडियो मानेको उत्तराधिकारीको रूपमा हेरिएको छ । वान अन वानको अवस्थामा डिफेन्डरलाई सजिलै छक्याउन सक्ने र गोलका लागि उत्कृष्ट पास निकाल्ने कलामा उनी माहिर मानिन्छन् ।
आयौब बुआदी, मोरक्को
१८ वर्षीय डिफेन्सिभ मिडफिल्डर आयौब बुआदी फ्रान्सेली क्लब लिलबाट व्यावसायिक फुटबल खेल्छन् । उनी आफ्नो पुस्ताकै सबैभन्दा प्रतिभाशाली मिडफिल्डर मानिन्छन् । मोरक्कोको टोलीमा रक्षापंक्तिलाई बलियो बनाउने र काउन्टर अट्याकको सुरुवात गर्ने जिम्मेवारी बुआदीको काँधमा रहनेछ । उनको खेल शैली निकै शान्त र रणनीतिक छ ।)
यान डियोमान्डे, आइभोरी कोस्ट
१९ वर्षीय विङ्गर यान डियोमान्डे जर्मन क्लब आरबी लाइपजिगमा आबद्ध छन् । आइभोरी कोस्टका यी युवा खेलाडी आफ्नो तीव्र गति र मैदानमा खाली ठाउँ बनाएर बल अघि बढाउने क्षमताका लागि चिनिन्छन् । बुन्डेसलिगामा बलियो छाप छोडेका डियोमान्डे यस विश्वकपमा अफ्रिकी महादेशका प्रमुख आकर्षण हुनेछन् ।
यी युवा खेलाडीहरूको उर्जा, जोश र कौशलले विश्वकप २०२६ लाई अझ बढी रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउने छ। विश्वभरका फुटबल प्रेमीहरू यी वन्डर किड्सको जादु हेर्न आतुर छन् ।

प्रतिक्रिया