Main News

रास्वपा प्रवृत्ति : पुराना दलको कार्बन कपी !

हिमालय टिभी
२०८३ जेठ २६ गते २०:०१
रास्वपा प्रवृत्ति : पुराना दलको कार्बन कपी !

काठमाडौं : वैकल्पिक राजनीतिको नारा दिएर उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्लो समय पुराना राजनीतिक दलकै जस्तो प्रवृत्ति देखिन थालेको छ । पार्टीको देशव्यापी जिल्ला अधिवेशनका क्रममा भएका झडप, बढ्दो गुटबन्दी र अवसरवादी चरित्रले रास्वपा पनि अन्ततः पुराना दलकै बाटोमा हिँडिरहेको त छैन भन्ने गम्भीर प्रश्न उब्जाएको छ ।

आफूलाई नयाँ सिर्जना र फरक राजनीतिक संस्कारको संवाहक दाबी गर्ने रास्वपा यतिबेला महाधिवेशनको चटारोमा छ । स्थापनाको छोटो समयमा नै संसद्को प्रमुख शक्तिका रूपमा उदाएको रास्वपाले आफूलाई फरक र सुसंस्कृत राजनीतिक दलका रूपमा स्थापित गर्न खोजे पनि जिल्ला अधिवेशनहरूमा भने त्यस्तो दृश्य देखिएन ।

नेतृत्व चयनको विषयलाई लिएर एकले अर्कोलाई रोक्ने बहानामा विभिन्न जिल्लामा कार्यकर्ताहरूबीच हातहालहाल र झडपको स्थिति सिर्जना भयो । जसरी पुराना दलहरूमा पद र प्रतिष्ठाका लागि कुटाकुट हुने गर्थ्यो, रास्वपामा पनि ठ्याक्कै त्यही दृश्य दोहोरिन थालेको छ । फरक विचारलाई सम्मान गर्ने भनिए पनि जिल्ला तहमा नेतृत्व हत्याउनका लागि अस्वस्थ प्रतिस्पर्धा र कुर्सी हानाहान हुनुले पार्टीको आन्तरिक लोकतन्त्रमाथि नै प्रश्न उठाएको छ । तर, रास्वपा नेतृत्व भने यसलाई सामान्य रूपमा लिन्छ र नेपाली राजनीतिक चरित्रकै रूपमा व्याख्या गर्छ ।

रास्वपाको संगठन विस्तारसँगै अन्य परम्परागत पार्टीहरू नेपाली कांग्रेस, एमाले र माओवादी परित्याग गरी आउने नेता तथा कार्यकर्ताहरूको संख्या ठूलो छ । तर, ती पार्टीहरूबाट आएका व्यक्तिहरूले आफ्नो पुरानो राजनीतिक संस्कार र गुटगत मानसिकता पनि साथमै लिएर आएका छन् । पार्टी स्थापनाको चरणमा दुःख गरेका इमानदार कार्यकर्तालाई पाखा लगाउँदै, विभिन्न पार्टीबाट आएका नवप्रवेशीहरूले आ-आफ्नो गुट खडा गर्न थालेका छन् । त्यसको असर पार्टीका अधिवेशनहरूमा समेत देखिन थालेको छ । मधेशमा जिल्ला अधिवेशन र प्रतिनिधि छनोटका विषयमा झडप हुन थालेपछि रास्वपाले प्रदेश अधिवेशन नै स्थगित गरेको छ ।

नेपाली जनताले पुराना दलहरूको नातावाद, कृपावाद, भ्रष्टाचार र आन्तरिक कलहबाट दिक्क भएर रास्वपालाई वैकल्पिक शक्तिका रूपमा मतदान गरेका थिए । तर, संगठन विस्तारको नाममा जोसुकैलाई भित्र्याउने र आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसक्ने नेतृत्वको कमजोरीका कारण रास्वपा पनि तिनै पुराना दलहरूको कार्बन कपी बन्दै गएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।

जिल्ला-जिल्लामा देखिएको यो अराजकता र अवसरवादलाई केन्द्रले बेलैमा नियन्त्रण गर्न नसके, यसले पार्टीको साख सखाप पार्ने निश्चित छ । रास्वपाका लागि यो जिल्ला अधिवेशन पार्टी सुदृढीकरण गर्ने अवसर हुनुपर्नेमा उल्टै गुटबन्दी र विवादको अखडा बनेको छ । अवसरवादीहरूको बढ्दो प्रभाव र पुराना दलकै शैलीको सिकोले रास्वपाको वैकल्पिक राजनीतिको नारा केवल चुनावी नारामा मात्र सीमित हुने खतरा बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *