खिसिट्युरी गर्ने बालेनको पोष्ट, सामान्यीकरण गर्ने मन्त्रीदेखि सांसदको होड
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह बालेनको एउटा फेसबुक स्टाटस अहिले विवादमा परेको छ । शनिबार राति उहाँले आफ्नो एउटा फेसबुक पेजबाट आफूलाई पनि राजदूत बन्न मन लागेको र कसैसँग छ भने प्रधानमन्त्रीको नम्बर दिन आग्रह गरिएको भावको स्टाटस लेख्नुभयो ।
केही दिनअघि आफूलाई राजदूत बनाउन आग्रह गर्दै प्रधानमन्त्रीलाई एसएमएस गरेपछि नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसै सन्दर्भसँग जोडिने गरी प्रधानमन्त्रीले स्टाटस लेख्नुको अर्थ के होला त ?
भारतका प्रसिद्ध कवि गोरख पाण्डेको एउटा कविताको अंश छ,
राजा बोला रात है, रानी बोली रात है,
मन्त्री बोला रात है, सन्तरी बोला रात है
सब बोले रात है, यह सुबह सुबह की बात है ।
प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार राति एउटा स्टाटस लेख्नुभयो, मलाई पनि एम्बास्डर बन्न मन छ, पीएमको नम्बर छ भने एस्सो दिनुस न।
अनि शिक्षा मन्त्री सस्मित पोखरेलको कमेन्ट आयो, मेसेज गर्दिम ?, सांसद रञ्जु दर्शनाको मेसेज आयो, पीएम पनि एम्बास्डर पनि बन्न पाइँदैन, एउटा चुज गर्नुस् पहिला, अर्की सांसद ज्वाला संग्रौलाको कमेन्ट आयो म संग छ तर दिन्नँ ।
यहाँ प्रधानमन्त्रीको स्टाटसदेखि मन्त्री र सांसदहरुको कमेन्ट रमाइलोमा केन्द्रित देखिन्छन् । त्यसैले लाखौँ फलोअर भएका प्रधानमन्त्री र त्यस्तै ठूलो संख्यामा फलोअर भएका मन्त्री र सांसदका स्टाटस र कमेन्टमा हाहा रियाक्टको ओइरो छ ।
हेर्दा बडो रमाइलो छ,
तर, प्रधानमन्त्रीको स्टाटस केमा लक्षित छ, त्यो लगभग सबैलाई थाहा छ, तीन दिनअघि नेपाल सरकारका सचिव कुष्णहरि पुस्करले आफूलाई राजदूत बनाइदिन आग्रह गर्दै प्रधानमन्त्री शाहको नम्बरमा एसएमस गरेको आरोपमा ७ घण्टासम्म प्रहरी नियन्त्रणमा पुग्नुभएको थियो । उहाँलाई घण्टौँसम्म केरकार गरेको प्रहरीले शिष्टता पढाएर पठाएको थियो ।
प्रधानमन्त्री जस्तो पदमा भएको व्यक्तिलाई सिधै मेसेज गरेर शिष्टता वा मर्यादा उल्लंघन गरेका सचिव कृष्णहरि पुस्करमाथि ह्यारेसमेन्ट गर्ने गरी गएराति स्टाटस आयो । समर्थकहरुले हाहा गरे, मध्यमार्गीहरुले प्रधानमन्त्रीले यस्तो स्टाटस लेख्नै सक्दैनन् भन्दै फेक भएको आंकलन गरे, आलोचकहरु प्रधानमन्त्रीले कथित नसा सेवन गरेको जस्ता आरोप लगाएर विरोध गर्न थाले ।
तर, जब मन्त्री र सांसदहरु यो स्टाटसमा कमेन्ट गर्न आइपुगे त्यसले प्रधानमन्त्री शाहले यस्ता निम्छरा टिप्पणी किन गरेका होलान् भन्ने मतलाई सामान्यीकरण गर्ने प्रयास सुरु भयो । अर्थात्, प्रधानमन्त्रीले रमाइलो र ठट्टा गर्नु स्वभाविक हो भन्ने भाष्य बनाउने प्रयास गरियो । तर प्रधानमन्त्रीले लेखेको स्टाटस र त्यसमा आएका कमेन्टहरुले एकातिर यही कार्य गरेबापत सात घण्टासम्म प्रहरीको केरकारमा परेर दण्डित भइसकेका सचिव कृष्णहरि पुस्करमाथि थप मानसिक आघात पुर्याउने काम गरियो भने अर्कोतिर, मर्यादा र शिष्टता सिकाउने आफ्नै कदमलाई खण्डित गरिदियो ।
यदि कुनै विषय राज्यका लागि गम्भीर छ भने सबैका लागि गम्भीर हुनुपर्छ । यदि त्यो मजाकको विषय हो भने पनि सबैका लागि समान हुनुपर्छ ।
अर्कोकुरा, साधारण नागरिकले व्यंग्यात्मक स्टाटस लेख्नु एउटा कुरा हो । प्रधानमन्त्रीले लेख्नु अर्को कुरा हो । प्रधानमन्त्रीका प्रत्येक अभिव्यक्ति व्यक्तिगत मात्र हुँदैनन्, त्यसलाई राज्यको नीति वा घोषणाका रूपमा पनि हेरिन्छ । के यो प्रधानमन्त्रीको राजनीतिक संकेत हो, के यो कुनै घोषणा हो ?
जब मन्त्री, सांसद र सत्तारुढ दलका प्रभावशाली व्यक्तिहरू कमेन्टमा गएर रमाइलो गर्छन्, त्यसले मूल विवादबाट ध्यान हटाएर घटनालाई हल्का बनाउने प्रयास गर्छ । यो मुलत सरकारको गैरजवाफदेहिताको पराकाष्ठा हो । जिम्मेवार व्यक्तिहरु संगठित भएर कुनै पनि विषयलाई हल्काफुल्का गराउनु सत्ता सञ्चालनको शैली होइन, जनताबाट चुनिएकाहरु जनतासँग जिम्मेवार हुनुपर्दछ ।
र, यदि यो विषय गम्भीर होइन भने सचिव कृष्णहरि पुस्करलाई प्रहरीले किन पक्राउ गर्यो त्यो न्यायोचित थियो त ? यो प्रश्न बाँकी नै छ ।

प्रतिक्रिया