रास्वपा : पार्टी हो कि अराजकहरूको झुण्ड ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेमाथि अदालतहरुमा विचाराधीन मुद्दालाई हुलदंगा गरेरै प्रभावित पार्ने प्रयासलाई निरन्तरता दिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परी सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधमा अनुसन्धानका क्रममा रहेका लामिछानेको मुद्दा प्रभावित पार्ने कार्यलाई रास्वपाले काठमाडौंदेखि पोखरा र पोखरादेखि चितवनसम्मै निरन्तरता दिएको हो ।
साहरा चितवन सहकारीको रकम ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनमा उपस्थित गराउनुअघि कार्यकर्ताले सडक प्रदर्शन गरे । कुनै सार्वजनिक अभिनन्दन कार्यक्रम गरे जसरी प्रदर्शनकारीले एक आरोपीको पक्षमा प्रदर्शन गरे । जुन कार्य विचाराधीन मुद्दालाई प्रभावित पार्ने नियतबाट गरिएको गैरकानूनी कार्य हो ।
बुधबार थुनछेक बहस नसकिएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने न्यायाधीशको आदेशविरुद्ध कार्यकर्ताले प्रदर्शन गरे । जहाँ अरु कुनै अमुक व्यक्तिलाई लाञ्छित गरेर नाराबाजी गरियो ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई पोखरा लगिएसँगै रास्वपाले लगातारजसो प्रदर्शन गरिरहेको छ । र यी सबै प्रदर्शन न्यायिक प्रक्रिया अवरोध पु¥याउने मनसायबाट भएका छन् । सुरुवाती चरणमा पोखरामा लामिछानेको समर्थनमा प्रदर्शन गरेका रास्वपा कार्यकर्ताले आफ्नै कार्यकर्ता कुट्नेदेखि सञ्चारमाध्यमहरुलाई तर्साउने गतिविधि गरे ।
रास्वपा यत्तिमै रोकिएको छैन । कहिले आफ्नै कार्यकर्ता कहिले पीडितको तर्फबाट बहसमा सहभागी अधिवक्ता नै कुटेर कानूनलाई प्रभावित पार्ने प्रयासमा रास्वपा जुटेको छ । रास्वपा कार्यकर्ताले लामिछानेको बहस जारी रहँदा विभिन्न जिल्लामा प्रदर्शन त गरिरहेका छन् नै मानिसमाथि कुटपिट लगायतका अराजक व्यवहार प्रदर्शन गरिरहेका छन् ।
घुसपैठ भएको भन्दै युवामाथि कुटपिट
कात्तिक ४ गते रास्वपाका कार्यकर्ताले पोखरामा एक व्यक्तिमाथि निर्घात कुटपिट गरे । उनीहरुले रास्वपाको आन्दोलनमा घुसपैठ गरेर भड्काउन आएको भन्दै कुटपिट गरेका व्यक्ति रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेल रहेको कुरा खुल्यो ।
प्रहरीमाथि कुटपिट
कत्तिक २० गते पोखरामा रवि लामिछाने समर्थकहरुले नै सादा पोसाकका एक प्रहरीमाथि हातपात गरे । जसको प्रहरीले नै उद्धार गरेर ज्यान बचायो । रास्वपाले आफ्ना कार्यकर्ता संलग्न भएको पाइए कारबाही गर्ने भन्यो, कारबाही गरेन ।
सञ्चारकर्मीमाथि कुटपिट
मंसिर १९ गते चितवनमा रास्वपा कार्यकर्ताले सञ्चारकर्मी सन्तोष देउजामाथि कुटपिट गरे । सहारा चितवन सहकारीको ठगीसम्बन्धी मुद्दामा लामिछानेलाई बयानका लागि लगिएका बेला कार्यकर्ताले देउजामाथि कुटपिट गरेका थिए ।
अधिवक्तामाथि कुटपिट
माघ २ गते रास्वपा समर्थकले काठमाडौं जिल्ला अदालतअगाडि सहकारी पीडितको पक्षमा वकालत गरिरहेका कानून व्यवसायी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरे । यो घटनामा पनि रास्वपाले आफ्ना कार्यकर्ता संलग्न भए कारबाही गर्ने जिकिर ग¥यो । तर कारबाही गरेन । बरु कुटपिटमा संलग्न भएको भन्दै प्रहरीले तीनजनाविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।
यी घटनाले रास्वपा नेता कार्यकर्ता विधिको शासनभन्दा पनि अराजकता बढाउने र हिंस्रक व्यवहारबाट राज्यविरुद्ध बदला लिने दाउमा लागेको देखाउँछन् । सभापति लामिछानेविरुद्धका मुद्दा विचाराधीन रहँदा मुद्दालाई छिटो किनारा लगाउन सहयोग गर्नुपर्नेमा कार्यकर्ता परिचालन गरी प्रक्रिया नै प्रभावित पार्ने रास्वपाको कार्यले उनीहरु कस्तो प्रणालीमा विश्वास गर्छन् भन्न प्रश्न उब्जिएको छ ।
प्रतिक्रिया