राजनीति

हिरासतको तस्बिर सहानुभूतिको राजनीति !

हिमालय टिभी
२०८१ पुष ४ गते १८:१६
हिरासतको तस्बिर सहानुभूतिको राजनीति !


काठमाडौं :
कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको एक तस्बिरले सामाजिक सञ्जाल विभाजित बनेको छ । यो तस्बिरलाई लिएर कतिपयले हिरासतमा रहेका व्यक्तिको निजत्वबारे सवाल उठाएका छन् भने कतिपयले उक्त तस्बिरको सकारात्मक व्याख्या गर्दै लामिछानेले उच्चकोटीको सुविधा पाइरहेको बताएका छन् । तर तस्बिरमाथि भइरहेको चर्चा र त्योसँग जोडिएको राजनीति के हो त ?

बिहीबार बिहानै सामाजिक सञ्जालहरुमा एउटा तस्बिर सार्वजनिक भयो । जुन तस्बिरमा एक व्यक्ति सुतिरहेका देखिन्छन् । उनका अगाडि एउटा टेबुल, त्यसमा केही अपरिचित लाग्ने पुस्तक, आडैमा चियाको बट्टा लगायत देखिन्छन् । यो तस्बिर सार्वजनिक भएपछि केहीले कास्की हिरासतमा राखिएका रवि लामिछानेको भनेर दाबी गर्दै विभिन्न सवालहरु गरे । कतिपयले टेबुलमा रहेका पुस्तकहरु नेपाली र अंग्रेजी भाषाको जस्तो नदेखिने बरु अरबी पुस्तक रहेकाले ती सुतिरहेका व्यक्ति लामिछाने नभएको टिप्पणी गरे । तीनैमध्ये केहीले भारतीय जेलमा रहेका लस्कर ए तोइबाका कमाण्डर रहेकोसम्म दाबी गरे । अन्ततः कास्की प्रहरीले उक्त तस्बिर हिरासतमा रहेका रवि लामिछानेकै भएको पुष्टि गर्यो ।

तस्बिरमा राजनीति

यो तस्बिर बुधबार राति रास्वपाका सह–कोषाध्यक्ष दीपक बोहोराले आफ्नो फेसबुकमा सार्वजनिक गर्दै रवि दाइमाथि चरम अन्याय भएको आरोप लगाउनुभयो । प्रहरीले स्क्रिनसट गरेर पठाएको भन्दै उहाँले यसको उद्देश्यमाथि प्रश्न गर्नुभयो । बोहोराले उक्त तस्बिर सार्वजनिक गर्दै यसको मूल्य कति हो ? भनेर प्रहरीलाई सोध्नुभएको छ र सँगै मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिनुभएको छ । रास्वपाकै केन्द्रीय सदस्य ज्वाला संग्रौलालगायत अरु नेता कार्यकर्ता र समर्थकहरुले उक्त तस्बिरलाई लिएर प्रहरीमाथि, सरकारमाथि र सरकारमा रहेका दलहरुको नियतमाथि गम्भीर रुपमा प्रश्न उठाइरहे ।

कसले गर्यो् तस्बिर सार्वजनिक ?

लामिछानेको उक्त तस्बिर रास्वपाकै एक समर्थक तथा आफूलाई अभियन्ता बताउने डा. निकोलस भुसालले खिचेर सार्वजनिक गरेको तथ्यसमेत लगभग सँगसँगै बाहिरियो । निकोलस भुसालले रविको मानव अधिकार रक्षाका लागि चितवनमा उत्रिन आह्वान गर्दै यो तस्बिर सुरुमा सार्वजनिक गरेका थिए । पछि तस्बिर सेयर हुन थालेपछि उनले फेसबुक स्टाटस इडिट गरे । तर पक्ष र विपक्षमा टिकाटिप्पणी बढ्दै गएपछि उनी आफैले उक्त तस्बिर खिचेको भन्दै माफीसमेत मागे । बिहीबार बिहान पौने १० बजेतिर फेसबुक स्टाटस लेख्दै भुसालले उक्त तस्बिर सार्वजनिक गरेकोमा माफी माग्दै आफूले गल्ती गरेको प्रष्टीकरण दिएका छन् ।

तस्बिरमा के छ ?

भाइरहल भएको उक्त तस्बिरमा एउटा सिंगो कोठामा एकजना व्यक्ति पुस्तक, चियालगायतका सुविधासहित सुतेका छन् । त्यसपछि उक्त तस्बिरलाई पुष्टि गर्न रास्वपाकै नेता कार्यकर्ताले सार्वजनिक गरेको फुलफ्रेम तस्बिरमा एउटा सिंगो कोठामा रास्वपा सभापति सुतिरहेको देखिन्छ । हिरासतमा रहेका लामिछानेलाई अट्याच बाथरुमसहितको सुविधा दिइएको छ । तातो हुने गरी कपडाको व्यवस्थासमेत गरेको देखिन्छ । जसले कास्की हिरासतमा लामिछानेमाथि मानव अधिकारको प्रश्न गर्नेहरुलाई यो तस्बिरले पक्कै झस्काएको छ ।

नेपालका हिरासत र जेलहरुमा कैदीबन्दीहरु कोचाकोच गरेर बस्नुपर्ने बिडम्बनापूर्ण अवस्था छ । सुत्न होइन, बस्नसमेत नपाउने अवस्थाले कैदीहरु बिरामी पर्ने गरेका समाचार आइरहन्छन् । पटकपटक मानवअधिकारको प्रसंग पनि चल्ने गरेको छ । कतिपय हिरासतमा ४ गुण बढी थुनुवा, जेलहरुमा तीनगुणा बढीसम्म कैदी हुने गरेको तथ्य सार्वजनिक भइरहन्छ । तर लामिछानेको बसाई हेर्दा उनी सहजरुपमा हिरासतमा छन् ।

सहानुभूति खोज्ने प्रयास

रास्वपाका नेता कार्यकर्ताले उनको तस्बिर सार्वजनिक गरेर सहानुभूति खोज्ने प्रयास गरेको अनुमान गर्न गाह्रो छैन । लामिछाने पक्राउ परेदेखि रास्वपाले पोखरा, बुटवल, काठमाडौं लगायतका ठाउँमा विरोध प्रदर्शन गर्दै आएको छ । चितवनको सहारा चितवन सहकारीको मुद्दामा बयान सकेपछि लामिछानेलाई प्रहरीले रातिकै समयमा पोखरा लैजाँदा मानव अधिकारको मुद्दा निकालेर रास्वपाले विरोध गरेको थियो । अहिले यही प्रयोजनका लागि रास्वपाकै समर्थक र आफूलाई अभियन्ता भन्ने निकोलस भुसालले तस्बिर सार्वजनिक गरेका थिए । तर राजनीतिमा आशुको विनिमय गर्ने रास्वपाको यो कार्य असफल भएको छ । यतिमात्र होइन प्रहरीले सुरक्षाका लागि राखेको सीसीटीभी क्यामेरामा पहुँच पुर्याएर तस्बिर सार्वजनिक गर्नेमाथि समेत प्रहरीले अनुसन्धान गर्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *