खेलकूद

एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर

हिमालय टिभी
२०८१ मंसिर २७ गते १६:४४
एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर

काठमाडौं : जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग एनपीएल को प्लेअफमा स्थान सुरक्षित गरेको छ।

काठमाडौंले दिएको १०२ रनको साधारण लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै जनकपुरले ६ खेलबाट १० अंक जोड्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो। साथै, सुदूरपश्चिम रोयल्सलाई उछिन्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आफ्नो अन्तिम खेलमा विजय हासिल गर्न सके, जनकपुरले पहिलो क्वालिफायरमा स्थान बनाउनेछ।

दुई खेल बाँकी रहेको काठमाडौंका लागि स्थिति जटिल बनेको छ। प्लेअफमा पुग्न, अब काठमाडौंले बाँकी दुवै खेल जित्नुपर्नेछ र पोखरा, चितवन तथा कर्णालीको नतिजामा पनि निर्भर रहनुपर्नेछ।

आज बिहान सम्पन्न अर्को रोमाञ्चक खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा १३ रनले हराउँदै प्लेअफको सम्भावनालाई जिवितै राखेको छ। टस जितेर ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ३९ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको पोखरा २० ओभरमा ६ विकेट गुमाउँदै पनि १ सय ३९ रनमै सीमित भयो, जसका कारण खेल सुपर ओभरमा धकेलियो। सुपर ओभरमा पोखराले पहिलो ब्याटिङ गर्दै रेमन रिफर र आन्द्रेश गौसको जोडीमार्फत स्पिनर सन्दीप लामिछानेका बलमा १७ रन जोड्यो।

जवाफी ब्याटिङमा विराटनगरका मार्टिन गप्टिल र निकोलस किर्टोनले रिफरको बलमा मात्र पाँच रन बनाउन सके। यो जितसँगै पाँच खेलबाट पोखराले दोस्रो जित हासिल गरेको छ। बाँकी दुई खेलमा राम्रो रनरेटमा विजय हासिल गरे पोखराले प्लेअफमा स्थान बनाउने सम्भावना छ। विराटनगरका लागि भने यो चौथो हार हो, जसले उनीहरूको प्लेअफ सम्भावना कठिन बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *